शंखरापुर नपा यथावत कायम भएको सम्झनामा कार्यक्रम



लावण्य/साँखु । तीन वर्ष अगाडि स्थानीय तह निर्धारण आयोगको सिफारिशमा शंखरापुर नगरपालिका अन्य नगरपालिकासँग जोडिने खबर प्राप्त भएपछि शंखरापुरवासी आन्दोलनमा उत्रिएका थिए । त्यो आन्दोलनको फलस्वरुप शंखरापुर नगरपालिका यथावत कायम भएको सम्झनामा यही फाल्गुण २२ गते साँखुको चलाखु टोलमा दिपावली गर्दै अभियन्ताहरुले खुशियाली मनाएका छन् ।

त्यसैगरी सोही दिनको सम्झनामा सक्व सभाहलमा पूर्व सांसद दीपकप्रसाद कुइँकेलको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी समयवजी कार्यक्रमको आयोजना गरिएको छ ।

सो कार्यक्रमको लागि अभियन्ता एवं तत्कालीन आमरण अनसनकर्ता ई. राजदास श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत् सबै शंखरापुरबासीलाई सक्व सभाहलमा उपस्थित भई दिनुहुन अनुरोध गर्नुभएको थियो ।

औपचारिक कार्यक्रमको आयोजना भने कला संस्कृति सम्पदा र गुठी संरक्षण समिति शंखरापुरको आयोजनामा सञ्चालन गरियो ।

सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पूर्व सांसद कुइँकेलले भन्नुभयो– त्यत्तिबेला पनि आफूले शंखरापुर नगरपालिका यथावत हुनुपर्ने बताएको र अहिले पनि हिजो शंखरापुर नगरपालिकालाई अन्य नगरपालिकासँग गाभिन खोजेजस्तै अहिले पनि शंखरापुर नगरपालिकालाई अन्य नगरपालिकासँग गाभेर उप महानगरपालिका बनाउने कुरा आईरहेको खुलासा गर्नुभयो ।

त्यत्तिखेर पनि काठमाडौँ जिल्लालाई उपमहानगर र महानगरपालिकामा मात्रै सीमित गर्ने कुरा आउँदा आफूले हुन्न भनेको कुरा बताउनुभएको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै शंखरापुर नगरपालिका यथावत कायम गर्न बनेको नागरिक समाजका संयोजक रुपेशलाल श्रेष्ठले शंखरापुरका जनताको त्याग र वलिदान एवं अथक प्रयासले मात्रै शंखरापुर नगरपालिका यथावत कायम भएको बताउँदै उक्त दिन फाल्गुण २२ लाई दिवसका रुपमा मनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा (नेकपा)का महेन्द्रलाल श्रेष्ठले अहिलेको परिस्थिति र त्यत्तिखेरको परिस्थिति फरक भएपनि आफूहरु सदैव शंखरापुर नगरपालिका यथावत हुनुपर्ने पक्षमा रहेको बताउँदै त्यत्तिखेर रत्नपार्कमा अनसन सुरु गरिँदा आफू काम विशेषले सिन्धुपाल्चोकको विकट गाउँबाट तत्काल काठमाडौँ आई अनसन स्थलमा पुगेको स्मरण गर्नुभयो ।

त्यसैगरी संघीय समाजवादीका सूर्जनारायण श्रेष्ठले तत्कालिन अवस्थामा संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठले आफ्नो अथक प्रयासका कारण शंखरापुर नगरपालिका यथावत राख्न सहयोग पुगेको स्मरण गर्नुभयो ।

कार्यक्रममा राप्रपाका गोविन्दप्रसाद श्रेष्ठले आफूले सबैभन्दा पहिले वडा कार्यालयमा ताला लगाउन गएको स्मरण गर्दै शंखरापुर नगरपालिका यथावत कायम राख्ने आन्दोलनमा राप्रपाको भूमिका एवं शंखरापुरवासीको योगदानको चर्चा गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै अभियन्ता एवं कला संस्कृति सम्पदा र गुठी संरक्षण समिति शंखरापुरका संयोजक ई. राजदास श्रेष्ठले आफू विश्वको जहाँसुकै जाँदा पनि शंखरापुर र सक्व दे को मात्रै सम्झनामा डुब्ने बताउँदै अहिले शंखरापुरका डाँडाकाँडाहरु उजाडिएकोमा दुःख व्यक्त गर्दै केही कुराहरु बिग्रिँदा पनि राम्रो हुने भएकोले रामै्र होला भन्ने आशा गरेको बताउनुभयो ।

उहाँले आफू आमरण अनसन बस्दाको क्षण सम्झँदै भन्नुभयो– त्यत्तिबेला करिब ३२ घण्टा आफू आमरण अनसन बस्दा खेरि कहाँबाट शक्ति आयो भन्ने कुरा आफूले बताउन नसकेको जनाउँदै आफू ७ पटकसम्म कालको मुखबाट जोगिएको बताउनुभयो ।

कार्यक्रममा स्वागत गानको रुपमा “जय जुईमा” गीत गाइएको थियो । कार्यक्रमको सञ्चालन कला संस्कृति सम्पदा र गुठी संरक्षण समिति शंखरापुरका सचिव दिलिपकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

लावण्य सन्देश वर्ष ९ अंक ३७ को समाचार

Post a Comment

0 Comments