सामन्तको शोषण विरुद्ध विद्रोह भावबाट जन्मेको समाजसेवा–उत्तम पिखा


सामन्तको शोषण विरुद्ध विद्रोह भावबाट जन्मेको समाजसेवा–उत्तम लाल पिखा श्रेष्ठ/श्रीमती कृष्णा पिखा श्रेष्ठ


२०७८ माघ ७ गते
लावण्य/साँखु । मैले आफ्नो ७७ औँ वर्षको जन्म दिन ७ महिना ७ घण्टा ७ मिनेट ७ घडी ७ पला अर्थात् हाम्रो नेवाः संस्कार संस्कृति अनुसार “भिं ज्या–जंक्व” गर्ने दिनमा जन्मभूमि शंखरापुर –साँखु) को साल्खा टोलमा पुगेर त्यहाँका असहाय, अशक्त, गरीव साथै एकल ज्येष्ठ नागरिकहरुलाई प्रति व्यक्ति रु. १५ सय नगद बाँडेर सहयोग प्रदान गरेँ । यसो गर्ने मेरो अन्तस्करणको ईच्छा तथा आकांक्षा थियो । वास्तवमा यसो मैले स्वतःस्फूर्त रुपमा गरेको थिएँ ।


सो कार्य गर्दागर्दै स्थानीय “लावण्य सन्देश” साप्ताहिक पत्रिकाका सम्पादक श्री पवन लाल श्रेष्ठज्यूले भिडियो खिच्नुभएको रहेछ । त्यसलाई उहाँले पछि आफ्नै फेसबूकमार्फत् शेयर गरिदिनु भएछ। त्यसैगरी त्यसपछि “लावण्य सन्देश” साप्ताहिक पत्रिकामा समाचारका रुपमा पनि छापियो । त्यसको विभिन्न प्रकारबाट प्रतिक्रियाहरु आए । त्यसबाट मलाई झनै उत्साहित बनायो ।
सोही फेसबूक सन्देश हेरेपछि “उज्यालो रेडियो नेटवर्क” ९० मेगाहर्जबाट दैनिक रुपमा बिहान १० बजेदेखि ११ बजेसम्म नेपालभाषामा प्रशारण हुने गरेको “लहना” कार्यक्रमका सञ्चालक श्री कुमार रञ्जितले सोही कार्यक्रममा मेरो टेलिफोनबाट प्रत्यक्ष रेडियो अन्तर्वार्ता प्रशारण गर्नुभयो । त्यस अन्तर्वार्तामार्फत् मैले समाजसेवाप्रति आफ्ना केही धारणा स्पष्ट रुपमा राख्न पाएँ । यहाँ सोही अन्तर्वार्ताको सारसंक्षेपलाई नेपाली भाषामा अनुवाद गरेर प्रस्तुत गरेको छु । आशा छ, यहाँहरुले पढेर यसमा थप प्रतिक्रिया सहित मलाई थप हौसला प्रदान गर्नु हुनेछ ।
मैले सानै उमेरदेखि आफ्नो जन्मभूमि साँखुमा असहाय, अशक्त तथा गरीबहरुलाई सहयोग गर्दै कुरीति, कुप्रथा र कुसंस्कार विरुद्ध आवाज उठाउँदै आएको छु । मेरो जीवन नै समाजप्रति समर्पित छ । म धर्ममा विश्वास गर्दछु । भगवानमा मेरो आस्था छ। तर देवतालाई नगद दक्षिणा चढाएर खुशी पार्नुपर्छ भन्ने पक्षमा म छैन । मैले दैनिक बाटामा हिँड्दा पनि गरीब, दीनदुःखी र असहाय र अशक्तहरु देख्दा सक्दो सहयोग गर्दै आएको छु ।
मेरो साँखुस्थित घरको पछाडि एउटा पोखरी थियो । त्यसको छेवैमा एकजना सामन्त थिए । एकदिन उसले स्थानीय एकजना दुःखीलाई कुटेर पोखरीमा डुबाउँदै यातना दिइरहेका थिए । ती कुटाई खाने स्थानीय पोडे जातिका दुःखी र गरीब व्यक्ति थिए । उसले ती सामन्ती साहुबाट अलि–अलि गर्दै ३ सय रुपियाँ सापटी लिएका रहेछन् । त्यसको साँवा ब्याज सहित ५ सय रुपियाँ पुगेको रहेछ । त्यही पैसा नदिएकाले ती सामन्त साहुले एक गरीबलाई कुटेर पानीमा डुबाउँदै यातना दिएका रहेछन् । त्यस घटनाले मेरो मस्तिष्कमा गहिरो छाप पा¥यो । तिनै सामन्तले साँखुमै अर्का एकजना विधवालाई फकाइ फुलाएर तिनको सम्पत्ति हडपेका छन् । यस्ता घटनाले गर्दा ती सामन्तप्रति ममा विद्रोहको भावना जन्म लियो । तत्काल मैले ती सामन्तको विरुद्ध स्थानीय युवाहरु भेला गरेर चर्को विरोध गरेँ । मेरो विद्रोही काममा स्थानीय सबैले साथ दिए । पछि त्यस सामन्तले मलाई मार्नेसम्मको धम्की दिए । तैपनि म डराइनँ । त्यसको केही वर्षपछि नै तिनै सामन्तका श्रीमती सिकिस्त विरामी भएर आपतकालीन अवस्था ल्याएको मैले काठमाडौँको वीर अस्पतालमा भेटेँ । त्यस्तो अवस्थामा मेलै उनलाई मावनीय भावना अनुरुप सहयोग प्रदान गरेँ । त्यतिबेला ममा उनीप्रति कुनै पूर्वाग्रही भावना रहेन । रगत चढाउनु पर्ने र उपचार गर्न पैसा छैन भनेपछि मसित भएको र साथीहरुसित समेत मागेर उनकी श्रीमतीको जीवन बचाउन मद्दत गरेँ ।

मैले आफ्नो बुद्धि र क्षमताले सक्दो सहयोग गर्दै आएको हुँ । यसमा मेरो कुनै स्वार्थ छैन । नेपालमा दुःखी गरीबलाई ऋण दिएर चक्रवर्ती ब्याज लिएर शोषण गर्ने कार्य तत्काल रोकिनु पर्दछ। यसले गरीबहरुलाई अन्यायमाथि अन्याय बढिरहेको छ। मेरा यी काम कुरालाई स्थानीयले मन पराइदिए । समर्थन जनाई दिए । यसबाट मलाई सन्तोष प्राप्त भएको छ ।
म आफैँ पनि गरीब मध्यमवर्गीय परिवारमा जन्मेको र हुर्केको हुँ । मैले साँखुमा मिडिल स्कूलसम्म पढेँ भने काठमाडौँमा आएर दुःख गरेर दरवार स्कूलमा पढेँ। मैले काठमाडौँमा आएर दुःखका साथ पढेको हुँ । पछि म साँखुमा फर्किएर भाग्योदय माविमा पैसा नलिइकन पढाएँ । काठमाडौँको दूर्गम मानिएको नांग्लेभारेसम्म पुगेर पनि पढाएँ । त्यहाँका वासीन्दाले मलाई माया दिएकोमा म आफू सम्मानित भएको महसूस गरेको छु ।
हाम्रो जस्तो गरीब देशमा राजनीतिमा लागेका नेता र प्रशासकहरुले सन्तोषजनक काम गर्न सकिरहेका छैनन् । यो कुरा जनताले राम्रो बुझेका छन् । मैले समाजमा सामन्ती व्यवस्था विरुद्ध चेतना बढाउन साँखुमा चेतनामूलक नाटक पनि देखाएँ । त्यहाँ जनताले मैले बनाएको नाटक रुचाए । काठमाडौँबाट भारतीय, रुसी र चीनियाँ दूतावासबाट पुस्तकहरु ल्याएर साँखुकै साल्खा टोलमा “उग्र पुस्तकालय” खोलेँ । कविकेशरी चित्तधर “हृदय” बाट प्रभावित भएर नेपालभाषाका महाकवि गिरिजा प्रसाद जोशी र रमेश मान जोशी समेतका गीत राखेर नाटक पनि लेखेँ । समाजमा रहेका कुरीति, कुप्रथा विरुद्ध जागरण ल्याउने प्रयास गरेँ । त्यस्ता चेतना फैलाउने पुस्तकहरु प्रकाशन गर्न सहयोग गर्न चाहेको छु र तयारी पनि गरेको छु ।
साँखुको शाली नदीमा प्रत्येक वर्ष माघ महिनामा स्वस्थानी ब्रत बस्ने मेलामा आउने ब्रतालुलाई सेवा पु¥याउन पहिले पटक मैले नै पहल गरेँ । भक्तजनबाट एक–एक सुका जम्मा गरेर स्वयंसेवा गर्नेलाई चिया खान दिने व्यवस्था गरेँ । त्यहाँ अहिले व्यवस्थापन समितिले राम्रो निर्माण साथै सेवा पनि प्रदान गरिरहेको छ । त्यसले गर्दा धेरैलाई भक्तजनलाई सुविधा भएको छ । धेरै संरचनाहरु निर्माण भएका छन् । बल्ल अब साँखुको सालीनदी क्षेत्र वास्तवमै तीर्थस्थल जस्तो देखिएको छ । त्यहाँ पुग्ने भक्तजनहरुबाट पनि विभिन्न निर्माणका लागि धेरै सहयोग प्राप्त हुने गरेको छ ।
अन्त्यमा, मेरो एउटा योजना अनुसार साँखुमा रिसोर्ट बनाउने कार्यको थालनी गरेको छु । साँखुमा पर्यटकीय विकास गर्न रिसोर्टको अवधारणामा सहयोग गर्न मैले अन्तर्राष्ट्रिय दाताहरु समक्ष सहयोगका लागि आह्वान गरेको छु । मित्रराष्ट्र फ्रान्सको एउटा टोली त्यसलाई हेरेर गइसकेको पनि छ । आशा छ, त्यसमा पनि सबैको सहयोग प्राप्त हुने नै छ । यो योजना मेरा लागि नभई साँखुमा पर्यटन प्रवद्र्धन गर्नका लागि हो । साँखुमा पोखराको फेवातालमा जस्तै पर्यटनलाई आकर्षित गर्नै सकिन्छ। जसले गर्दा कैयौँ युवाहरुले रोजगारी पाउनेछन् । शंखरापुर भौगोलिक, प्राकृतिक साथै ऐतिहासिक रुपमा पनि सम्पन्न छ । त्यसतर्फ सरकारको पनि ध्यान जानु जरुरी छ ।

Post a Comment

0 Comments