जथाभावी बालुवा निकाल्दा इन्द्रायणी मन्दिर जोखिममा

साँखु÷केही समयअघि देखि साँखु वरिपरि गडगडे खोला, मनमत्ता खोला, सुके खोला, भुल्बु जाने बाटोमा डाँडाको छेउमा जथाभावी स्क्याभेटरको सहायताले धमाधम बालुवा निकाल्न थालिएको छ । यसरी जथाभावीरुपमा बालुवा निकाल्न थालेपछि इन्द्रायणी मन्दिर, चाँगुनारायण मन्दिर, भुल्बु जाने बाटो, पहिरोको खतरामा परेको छ । यसका साथै यसरी जथाभावी प्राकृतिक स्रोतको दोहन गर्दा प्राकृतिक प्रकोप, बाढी पहिरो, लगायतका समस्या हुनुका साथै यसबाट सरकार वा सम्बन्धित निकायले पाउने राजस्व एवं सर्वसाधारण जनताले पाउने सुविधा समेत खोसिने भएको छ । अहिले कतिपय ठाउँमा नीजि जग्गामा बालुवा निकालिएको नाउँमा लालपूर्जा भएको १ रोपनी जग्गा देखाई त्यसको चारैतिर सार्वजनिक जग्गामा समेत बालुवा निकालिएको गुनासो व्यक्त गर्छन् तत्कालीन इन्द्रायणी गाविसका पूर्व अध्यक्ष जयराम पुडासैनी । उहाँ यस कार्य विरुद्ध निरन्तर लागिरहने बताउनुहुन्छ । उहाँका अनुसार केही समय अगाडि करिब १५ दिन रोकिए पनि अहिले पनि दैनिक करिब ५ सय ट्रीपर बालुवा निकासी भईरहेको जानकारी दिएका छन् । उहाँले यसै साता सो कार्य विरुद्ध मुद्दा दायर गर्ने जानकारी समेत दिएका छन् । कानुन अनुसार पनि निकाल्न नमिल्ने गरि अवैध ढंगले जथाभावी बालुवा निकाल्न थाल्दा समस्या हुने भएकोले रोक्न खोजिएको उहाँको दावी रहेको छ । अहिले साँखुबाट थली सम्म पुग्ने बाटोको ठाउँ ठाउँमा बालुवा वासिङ गर्ने मेशिनहरु राखिएका छन् । जसले गर्दा बाटो समेत हिलाम्मे हुने गरेकोछ । यतातर्फ सम्बन्धित निकायले बालुवाको वासिङ मेशिन हाल्नेलाई स्वीकृति दिँदा नै ध्यान नपु¥याएको देखिन्छ । पुडासैनीका अनुसार बालुवा निकाल्ने र बेच्ने कार्यको लागि प्राविधिक जाँच गरेर जे जति निकाल्न मिल्ने हो निकाल्ने गरिनुपर्दछ । प्राविधिक जाँच र वरिपरिको वातावरणीय प्रभावको मूल्यांकन नगरि यसरी जथाभावीरुपमा बालुवा खोला र खानीबाट निकाल्दा पछि स्थानीयलाई समस्या हुने, प्राकृतिक प्रकोप, बाढी पहिरोको डर हुने बाली नाली समेत गर्न नसकिने ऐतिहासिक सम्पदाहरु नासिने खतरा बढेको हुँदा यसरी प्राकृतिक सम्पत्तिको जथाभावीरुपमा भइरहेको दोहनलाई रोक्नुपर्दछ । यसको उचित ढंगले विधिपूर्वक अनुगमन हुनु जरुरी छ ।

Post a Comment

0 Comments