राष्ट्रिय सहमतिको लागि राष्ट्रपति सक्रिय, प्रधानमन्त्री पूर्ण बजेटको तयारीमा


साँखु÷प्रधानमन्त्री बाबुराम भट्टराईले दलीय सहमतिको लागि सिन्को पनि नभाँचेपछि दशैँ अगाडि र दशैँ लगत्तै प्रमुख तीन दल र मधेशी मोर्चाका नेताहरुलाई राष्ट्रपति कार्यालयमा बोलाएर राष्ट्रपति रामवरण यादवले प्रष्ट शव्दमा भनेका छन्– दलहरुले किन ६ महिनाको समय व्यर्थै बर्बाद गरेको भन्दै उनले आगामी कार्तिक मसान्तसम्म दलीय सहमती गर्न र मंसिरको पहिलो सातामै सर्वदलीय सहमतीय सरकारको गठन गरि बैशाखमा निर्वाचन हुने गरि काम गर्न निर्देशन दिएका छन् ।
साथै सो अवसरमा राष्ट्रपति रामवरण यादवले दलहरुलाई लिखित सम्बोधन गर्नुका साथै आफूले सहमतिको लागि के–कस्तो पहल लिनुपर्ने समेत सुझाउन भनेका छन् । उनले प्रष्ट शव्दमा भनेका छन्– आफूले कुनै अधिकार लिन चाहेको नभई राजनीतिक दलहरुलाई सही लाईनमा मात्र ल्याउन चाहेको उल्लेख गरेका थिए । जनतालाई कुनै पनि हालतमा संविधान दिनु छ र यो लोकतान्त्रिक एवं विधिसम्मत उपायद्वारा दिईनुपर्ने उल्लेख गर्दै संविधानसभाको पुनस्र्थापनाको लागि हैन नयाँ निर्वाचनको लागि तयार गर्न समेत उहाँले दलहरुलाई आग्रह गरेका छन् । यसको अर्थ जे–जस्तो अवस्थामा पनि नयाँ निर्वाचन हुने पक्कापक्की भएको छ ।
यसैबीच प्रमुख तीन दल र मधेशी मोर्चाको संयुक्त बैठकले समेत नयाँ निर्वाचनको लागि जाने निर्णय गरेका छन् । तर नि दलहरुले संविधानसभाको निर्वाचनमा जाने हो वा संसद्को भनेर निर्णय गर्न सकेका छैनन् । साथै दलहरुले सहमतीय सरकारको नेतृत्व बाबुराम भट्टराईले नै गर्ने हो वा अन्य कसैले गर्ने यस विषयमा समेत निर्णय गर्न सकेका छैनन् । नेकपा एमाओवादीले बाबुराम नेतृत्वकै सरकारबाट चुनाव गराउन चाहेको संकेत दिएका छन् । तर यसमा प्रचण्डको सत्ता स्वार्थ रहेको विश्लेषण राजनैतिक विश्लेषकहरुले लगाएका छन् ।
बाबुराम नेतृत्वको सरकारले एमाले र काँगे्रसलाई साथमा लिएर चुनाव गर्न नसक्ने भएपछि बाबुरामको इज्जत आमद सबै स्वाहा हुनेछ र अन्ततः नेकपा एमाओवादी पार्टीको सम्पूर्ण लगाम अध्यक्ष प्रचण्डको हातमा आउनेछ । त्यसपछि सकभर् प्रचण्डले आफ्नै नेतृत्वमा सरकार गठन गर्नको लागि प्रधानमन्त्री बाबुराम भट्टराईलाई राजिनामा दिन निर्देशन दिनेछन् । यस्तो अवस्था नआएमा भने उनले काँगे्रस वा एमालेमध्ये कसैलाई नेतृत्व दिएर आफूसँग राजनैतिक लगाम राखेर चुनावमा जाने सोच राखेको उनी निकटका एमाओवादीकै नेताहरु बताउँछन् । उनीहरुको ठहर छ जत्तिबेरसम्म बाबुराम भट्टराईलाई सत्तामा राखिरहन सक्यो उत्ति नै बाबुराम थोत्रिने र मक्किने छ । त्यसपछि पार्टीमा प्रचण्डको टक्कर कसैले लिन नसक्ने ठहर समेत उनीहरुको रहेको छ ।
अर्कोतिर वर्तमान सरकारले आगामी मंसिरको पहिलो साता पूर्ण बजेट ल्याउने तयारी गरेको छ । पूर्ण बजेट ल्याउनको लागि पनि उनले निक्कै प्रयास गरिरहेको छ । विपक्षी नेपाली काँगे्रस र एमालेलाई साथमा लिएरै भएपनि पूर्ण बजेट ल्याउने तयारीका साथ अर्थमन्त्री मार्फत् एक एक जना प्रतिनिधि पठाएर सहयोग गर्न नेपाली काँगे्रस र नेकपा एमालेलाई सरकारको तर्फबाट आग्रह समेत गरिसकिएको छ । तर नेपाली काँगे्रस कुनै पनि हालतमा वर्तमान सरकारको वहिर्गमन नभईकन पूर्ण बजेट र चुनावको तिथि घोषणा गर्न दिने पक्षमा छैनन् । यसले गर्दा सम्भवतः आगामी दिनमा समेत राष्ट्रपतिले दलहरुलाई दबाव दिईरहुनुपर्ने आवश्यकता हुने अनुमान आम विश्लेषकहरुको रहेको छ ।

Post a Comment

0 Comments