ई. राजदास श्रेष्ठ
“माटोको भर ढुङ्गालाई
ढुङ्गाको भर माटोलाई”
रोमनहरुले चुन र ज्वालामुखी पहाडबाट निस्केको खरानीजन्य पदार्थ जस्लाई लाभा (ीब्ख्ब्) भनिन्छ, को मिश्रणबाट उत्पादन गरेको प्रोज्वलाना सिमेन्ट नै आजको पोर्टलैण्ड सिमेन्टको जननी हो भन्नुमा अत्युक्ति हुँदैन । किनकी यस प्रकारको प्रोज्वलाना सिमेन्ट सुख्खा ठाउँको साथ साथै पानीभित्रम पनि जम्न सक्थे र यो भन्दा पहिले यसरी पानीभित्र जम्न सक्ने कुनै सिमेन्ट पदार्थ निस्केको थिएन ।
प्रोज्वलाना सिमेन्टलाई पछि रोमन सिमेन्ट र पार्कर सिमेन्ट पनि भनियो । रोमन सिमेन्ट अथवा पार्कर सिमेन्ट एक प्रोज्वलाना सिमेन्टको विकसित रुप हो ।
जेम्स पार्कर भन्ने एक ब्रिटिस क्लर्जीम्यान (पादरी) ले सन् १७८० मा अठारौँ शताव्दीको अन्त्यतिर एक प्रोज्वलाना सिमेन्टको एक विकसित रुपमा चुनढुंगा र माटोलाई मध्य तापक्रम (९०० डिग्री सेन्टिगे्रड) मा पोलेर नयाँ प्रकारको सिमेन्ट उत्पादन गरे । आधुनिक पोर्टलैण्ड सिमेन्ट १३००–१४०० डिग्रीको उच्च तापक्रममा पोलेर क्लिन्कर बनाउँछ र त्यसलाई बलमील भन्ने मेशीनमा मसिनु धुलो गरी पेलेर उत्पादन गरिन्छ । यसरी क्लिन्कर मेशीनमा पेल्दा ५ प्रतिशत जति काँचो जिप्सम पनि मिसाईन्छ पानीमा घोल्ने बित्तिकै सिमेन्ट नजमोस् भनेर ।
सन् १७८० मा पार्करले उत्पादन गरेको रोमन सिमेन्टको पेटेन्ट अधिकार सुरक्षित पनि गरेको थियो सन् १७९६ मा ।
जेम्स पार्करले सन् १७९८ मा बेलायतको केन्ट राज्यको नर्थफ्लीटमा एउटा सिमेन्ट उत्पादन गर्ने कारखाना स्थापना गरेर ‘रोमन’ सिमेन्टको नाममा आफ्नो पार्कर सिमेन्टको औद्योगीक उत्पादन सुरु गरे ।
पार्करले उत्पादन गरेको यो रोमन सिमेन्ट बेलायतको अति प्रख्यात ‘बेल रक लाईट हाऊस’ बनाउनमा प्रयोग गरिएको थियो ।
केही समयपछि जेम्स पार्करले आफ्नो व्यवसाय र पेटेन्ट सामुयल वाट भन्ने व्यक्तिलाई विक्री गरी आफु अमेरिकामा निर्वासित भए र उनको त्यहीँ मृत्यु भयो केही वर्षमै ।
सामुयल वाटले आफ्नो भतिजो चाल्र्सवाटसँग मिलेर “पार्कर वाट” नामको रोमन सिमेन्ट व्यावसायिक रुपमा उत्पादन गर्न थाले ।
सन् १७९८ मा सुरु भएको पार्कर रोमन सिमेन्टको ईतिहासि ४८ वर्ष पछि सन् १८४६ मा आएर सकियो, र उक्त नर्थफ्लीट कम्पनी विलियम अप्सदीन कम्पनीलाई बेचिदियो । अप्सदीनले उक्त कारखानाबाट पछि पोर्टलैण्ड सिमेन्ट उत्पादन गर्न थाले र सन् १९०१ मा उक्त उत्पादन कमपनी पनि बन्द भयो ।
पोर्टलैण्ड सिमेन्टको जन्म कहाँ र कसरी भयो ?
सन् १८२४ मा ब्रिटिस नागरिक जोसेफ अप्सदीनले पोर्टलैण्ड सिमेन्टको पेटेन्ट(स्व–अधिकार) दर्ता गराए र उनले चुन ढुंगा र माटोको स–मिश्रणलाई रोमन सिमेन्टको भन्दा उच्च तापक्रममा पोलेर नयाँ उच्च गुणस्तरको सिमेन्ट पदार्थ उत्पादन गरे, र यसको नाम “पोर्टलैण्ड” सिमेन्ट राखियो ।
वेलायतको डोर्सेटमा पोर्टलैण्ड प्रायद्वीपबाट निर्माण कार्यको लागि त्यसबेला थुपै्र ढुंगाहरु निकाल्थे । उक्त पोर्टलैण्ड भन्ने प्रायद्वीपमा पाईने उक्त ढुंगाको रंग एप्सदीनले निकालेको सिमेन्ट पदार्थको रंग उस्तै उस्तै खैरो खरानी रंग भएको हुनाले जोसेफ अप्सदीनले आफुले उत्पादन गरेको सिमेन्टको नाम “पोर्टलैण्ड सिमेन्ट” राखेको हो र आजसम्म विश्वमा उक्त सिमेन्टलाई पोर्टलैण्ड सिमेन्ट नै भन्ने गरेको छ यद्यपी वैज्ञानिक अनुसन्धानले गर्दा आज उक्त पोर्टलैण्ड सिमेन्टको गुणस्तर धेरै बढी सकेको छ ।
सुरु सुरुमा अप्सदीनले उत्पादन गरेो पोर्टलैण्ड सिमेन्टको भारवहन क्षमता १५० किलोग्राम प्रति वर्ग सेन्टिमिटर थियो भने अहिले ५००–६०० किलोग्राम भारवहन क्षमता भएको सिमेन्ट पनि निस्किसकेको छ भने साधारणतया हाम्रो बजारमा पाईने साधारण पोर्टलैण्ड सिमेन्टको भारवहन क्षमता ४००–देखि ४५० किलोग्राम प्रति वर्ग सेन्टिमिटरको हुन्छ ।
भारवहन क्षमतामा वृद्धि हुनुको साथै छिटो छरितो
जम्ने सिमेन्ट, अलि ढीलोगरी जम्ने सिमेन्ट र साधारण समयमा जम्ने सिमेन्ट गरी थरिथरिका सिमेन्ट पनि पाईन्छ । यसबाहेक खैरो खरानी रंगको सिमेन्ट बाहेक सेता सिमेन्ट रंगीन सिमेन्टको पनि आविश्कार भएको छ । सेतो सिमेन्ट (ह्वाईट सिमेन्ट) यथेष्ट मात्रामा बजारमा उपलब्ध भएपनि रंगीन सिमेन्ट भने उति प्रचलनमा आएको छैन । रंगीन सिमेन्ट उत्पादन गर्न धेरै मिहिनेत पर्नुको साथै धेरै महँगो पर्न जान्छ । त्यसकारण रंगीन सिमेन्ट उत्पादन गर्नुभन्दा सेता सिमेन्टमा विभिन्न प्रकारको रासायनिक रंगहरु मिसाएर सजिलै सँग आफुलाई मनपर्ने रंगीन सिमेन्ट बनाउन सकिन्छ । त्यसकारण रंगीन सिमेन्टको उत्पादन व्यावहारिकरुपमा त्यत्तिको फस्टाएको छैन ।
सन् १८२४ मा बेलायतमा जोसेफ अप्सदीनले पोर्टलैण्ड सिमेन्टको पेटेन्ट दर्ता गराएका थिए भने एक वर्ष पनि सन् १८२५ मा रुसका एफ जी हेलिएभले “सिमेन्ट तथा कन्क्रिटको उत्पादन” भन्ने पुस्तक प्रकाशन गरेका थिए । हेलिएभ रुसका एक प्रख्यात आर्टिटेक्ट थिए ।
सन् १८२५ मा हेलिएभको सिमेन्ट र कन्क्रिटको विषयमा पुस्तक प्रकाशित भएको भएपनि यो भन्दा पहिले सन् १८१२ मा मास्को सहरमा भिषण आगलागी पछि उक्त सहरको पुनर्निर्माणमा घरहरु र ठूल ठूला संरचनाहरु बनाउँदा जग निर्माणमा र घरका भित्ताहरुको इँट्टा जोडाईमा सिमेन्ट र कन्क्रिट प्रयोग गरेका थिए हेलायभले ।
र अर्को कुरा अठारौँ शताव्दीको सुरु मै (सन् १७२८–१७२९) लेनिनग्राद (सेन्ट पिटर्सवर्ग) को लाडोगा च्यानल (जलमार्ग) निर्माणमा सिमेन्ट प्रयोग भएको थियो भन्ने प्रमाण पनि भेट्टीएको छ । उक्त च्यानल बनाउन कनोस्र्कि सिमेन्ट उद्योग स्थापना गरिएको भन्ने पढ्न पाईन्छ ।
उक्त लाडोगा च्यानल बनाउन प्रयोग भएको सिमेन्ट पनि रोमन पार्कर सिमेन्ट जस्तो चुनढुंगा र माटोको समिश्रणलाई मध्य तापक्रम (९०० डिग्री सेन्टीगे्रड)मा पोलेर बनाईएको थियो, पोर्टलैण्ड सिमेन्ट थिएन ।
रुसमा पोर्टलैण्ड सिमेन्टको व्यावहारिक उत्पादन १९ औँ शताव्दीको आधा आधीमा भएको थियो ।
सन् १८५६ मा सर्वप्रथम रुसमा ग्रोज्देभ भन्ने ठाउँमा पोर्टलैण्ड सिमेन्ट उत्पादन भएको थियो र सन् १८६६ मा लात्भीयाको राजधानी रीगामा अर्को सिमेन्ट उद्योग स्थापना भएको थियो ।
नेपालमा नेपाल औद्योगीक विकास कर्पोरेशन (एनआईडीसी) र जर्मन प्राविधिक सहयोगमा किर्तिपुरको चोभारमा सन् १९७२ मा वार्षिक एकलाख बीस हजार टन पोर्टलैण्ड सिमेन्ट उत्पादन गर्ने लक्ष सहित दुई करोड रुपैयाँको लागतमा पहिलो सिमेन्ट कारखाना स्थापना भएको थियो ।
उक्त सिमेन्ट कारखाना संचालन गर्न चोभार डाँडास्थित चुनढुंगा खानीको उच्च गुणस्तरको चुन ढुंगा र पाँचखालबाट उच्च फलामयुक्त रातोमाटो प्रयो गरिएको थियो ।
जर्मन प्राविधिक सहयोगमा निर्मित उक्त सिमेन्ट कारखानामा पुरानो प्रविधि अनुसारको ठाडो भट्टामा क्लिन्कर पोलेर सिमेन्ट उत्पादन गरिन्थ्यो भने सिमेन्टको गुणस्तर धेरै राम्रो थियो भने उक्त कारखाना कार्यरुप प्राविधिक इञ्जिनियर मेरा साथी दाजुहरु चक्रदास श्रेष्ठ, अनुपम तुलाधर, अशोक बानियाँहरु धेरै ईमान्दार, मिहिनेती, कर्मठ परिश्रमी थिए भने इञ्जिनियर चक्रदास श्रेष्ठ र अनुपम तुलाधरजीको असमयमै निधन भएको थियो ।
नेपालमा सिमेन्ट विकासको कुरा गर्दा जहिले नि म उहाँहरुलाई झल्झली सम्झन्छु र उहाँहरुको असामयिक निधनमा धेरै दुःख व्यक्त गर्दछु ।
इञ्जिनियर सिमेन्ट विशेषज्ञ अनुपम तुलाधर केही समय म सँगै हामी सोभियत संघमा पढेका थियौँ भने चक्रदास श्रेष्ठ गणतन्त्र चीनमा अध्ययन गरी आउनु भएको थियो ।
म आज यो मेरो “सिमेन्टजन्य पदार्थको एक छोटो ईतिहास” उहाँहरु दुईजना मेरा सहयोगी मित्रहरुमा समर्पण गर्न चाहन्छु ।
भवतु ।
(लेखक सिमेन्ट सम्बन्धी विशेषज्ञ हुनुहुन्छ । उहाँले नेपालमा चुनढुंगाबाट बन्ने RANDEX सिमेन्ट पेण्ट उत्पादन गर्नुभएको थियो ।)
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)
0 Comments
Thanks for your concerns