मेरो अमेरिका यात्रा –२१, अमेरिकाबाट फर्केपछि –१


ई. राजदास श्रेष्ठ

कुनैबेला झण्डी तीस वर्ष अगाडि संयुक्त राज्य अमेरिकामा हेडक्वार्टर रहेको संयुक्त राष्ट्र संघको औद्योगिक विकास संस्थामा एक चीफ इञ्जिनियर भएर प्रति महिना पाँच हजार डलर नेट स्यालरी लिएर राष्ट्रसंघको लासेपासे (डिप्लोम्याटिक) पासपोर्ट सरहको आईडी कार्ड परिचय पत्र बोकेर विश्वको कुनै पनि देशमा बिना भिसा छिर्न सक्ने क्षमता भएको मानिस आज एक सय डलर खल्तीमा बोकेर सामानको नाममा आफ्नै नामको एक साधारण नेपाली पासपोर्ट भिरेर अमेरिकाबाट आफ्नो देश नेपाल फर्कनु परेको अवस्थालाई नियाल्दा जो कोहीले भन्न सक्छ कहाँबाट कहाँ पुग्दो रहेछ मान्छे ।
तर मलाई हिनताबोध भएन त्यो दिन, जब म रित्तो हात स्वदेश फर्केँ संयुक्त राज्य अमेरिकाबाट ठीक ५ वर्ष बसेर । बरु मलाई एक असीम आनन्द र सुखको अनुभूति भैरहेको थियो त्यो दिन जब म कुनै सामानको बोझ बिना एक खुला हृदय लिएर पाँच वर्षको कठोर जीवन विताएर आफ्नो देश फर्कन पाएँ बिना कुनै शारीरिक र मानसिक हानी नोक्सानी बिना । हो मेरो केही व्यक्तिगत सरसामानहरु छुटे अमेरिकामा, केही हजार डलर छुटे, म बस्ने कोठामा र म काम गर्ने ठाउँमा र मेरा सारा शैक्षिक प्रमाणपत्रहरुको पनि छुटे त्यहीँ अमेरिकाको रोचेस्टर सहरको एक कोठाभित्र रहेको मेरो सुटकेशमा । शैक्षिक प्रमाणपत्रहरु छुटेकोमा केही अपशोच त लाग्यो, तर पनि खास चिन्ता मैले लिईन किनभने अब यो ५० वर्ष नाघेको उमेरमा मलाई आफ्ना प्रमाणपत्रहरु पेश गरेर कहीँ कतै जागिर खानु थिएन र कहीँ काम गर्नु थिएन । काम गर्नु पर्ने भएपनि म आफ्नै मातहतमा रहेर आफ्नै केही व्यवसाय गर्न सक्ने सोचमा थिएँ जस्को लागि कुनै शैक्षिक प्रमाणपत्रको दरकार पर्दैन । त्यसकारण त्यो मेरो ठूलो स्वतन्त्रताको दिन थियो जब म दुई दिनको हवाई यात्रा (अमेरिकाबाट दक्षिण कोरिया हुँदै) गरेर आफ्नो मातृभूमीमा पदार्पण गर्न पुगेँ र एक ट्याक्सीमा कोटेश्वर हुँदै बालाजु पुगेँ ।
३० वर्ष अगाडि अफ्रिकाको बोत्स्वाना बाट त्यही त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदा मेरो साथमा ३००० (तीन हजार) किलोको सामान थियो । ३ (तीन) लाख रुपैयाँको सुनका गरगहना थिए । आफ्नाको लागि कोसेली भनेर बोकेर ल्याएको, ३० हजार रुपैयाँको विदेशी ब्राण्डका थरीथरीका मदिराका बोटलहरु थिए र दशौँ हजार रुपैयाँका लुगाफाटा थिए । तीन चार वटा ठूल ठूला सुटकेश भरी र विमानस्थभरी आफ्नाहरु थिए मलाई स्वागत सत्कार गर्न बसेका ।
तर त्यो दिन मलाई स्वागत गर्न न कोही आए विमानस्थलमा न त कसैलाई थाहा नै थियो म आउँदैछ भन्ने कुरा नै । तै पनि म खुसी थिएँ धेरै धेरै एक पंक्षी सरह जो पिँजडाभित्र ५ वर्ष थुनिएका थिए र आज मुक्त भई स्वच्छन्दरुपमा निर्मम आकाशमा उड्दैछ आफू मनपरी एक धागो चुँडिएको चंगा सरी ।
नेपाल फर्की आफ्नो घर पुग्दा मसँग लाउने एक जोर कमीज पनि थिएन, त्यसकारण एक सय रुपैयाँ दिएर मेरो घरमा काम गरी बसेका (विगत १५–२० वर्षदेखि, जसलाई म छोरा जस्तै ठान्थेँ) भीमबहादुरलाई एउटा कमीज किन्न पठाएँ ।
रत्नपार्क फुटपाथ पसलबाट ठीक सय रुपैयाँको एक कमीज किनेर ल्याईदिए मलाई र त्यो कमीय यति राम्रो र बलियो सावित भयो कि आजसम्म पनि लाएर बसेको छु १०–१२ वर्ष बितिसक्दा पनि ।
अमेरिकाबाट फर्केर म एक महिना त्यसै हल्लिएर बसेँ काठमाडौँमा विना कुनै कामकाज । श्रीमती पनि थिएन घरमा (उनी चीनमा मेरो जेठो छोरासँग बसिरहेकी थिईन्) । पछि म नेपाल आएको थाहा भएपछि आफ्नो भ्रमण छोट्याएर उनी चीनबाट फर्किन र पाँच वर्षको विछोडपछि हाम्रो पुनर्मिलन भयो काठमाडौँमा ।
म नेपाल फर्किन पाएकोमा धेरै खुशी थिएँ आफैमा, तर श्रीमतीलाई त्यत्ति खुशी लागेन म नाङ्गाभुङ्गा स्वदेश फर्केकोमा । म अमेरिका हुँदा उनी पनि ठूलो सपना बोकेर बसेकी थिईन् अमेरिका आउन र त्यहीँ बसोबास गर्न ।
यसको लागि उनले ठूलो मिहिनेत गरेकी थिईन् । उनी त्रिभुवन विश्वविद्यालयमा पुस्तकालय विभागको हाकीम थिइन् र त्यस नाताले अमेरिकी साँस्कृतिक केन्द्र काठमाडौँ स्थित अमेरिकन लाइबे्ररीका स्टाफहरुसँग उनको राम्रो जानपहिचान थियो र उनीहरुको सल्लाह सहयोगमा उनी अमेरिका आउन प्रपञ्च बुनिरहेकी थिइन् कुनै न कुनै बहानामा । म यदि अमेरिकामा नभएको भए उनी आफै सजिलै अमेरिका आउन सक्थिन् होली, तर आफ्नो श्रीमान् अमेरिकामा बिना भिसा ओभर स्टेइङ्ग बसिरहेको उजुरी जाहेर गर्दा कुनै पनि हालतमा उनलाई अमेरिका जाने भिसा दिँदैन । त्यसकारण उपाय एउटै बाँकी रह्यो ग्रीनकार्ड दिलाएर पछि उनी म कहाँ आउने । यसैको लागि प्रयास भै रह्यो नेपालमा मलाई अमेरिकामा ग्रीनकार्ड दिलाउने शरणार्थीकै रुपमा भएपनि आवेदन दिन लगाउने, यसको लागि आवश्यक ठानियो, म नेपालमा माओवादी पीडित भएर अमेरिका गएको भनेर एक स्थानीय पत्रिकामा खबर छाप्ने । यो कुरा मैले पछि नेपाल फर्किएपछि थाहा पाएको थिएँ ।  र उता अमेरिकामा पनि साथीहरुले जोड गर्दै थिए माओवादी पीडित भनेर शरणार्थीको स्टाटसको लागि याचना गर्न । मलाई इण्डियन वकीलहरुकहाँ लगिदिन्छु भन्ने भाई दिनेशले त्यही कुराको सिलसिलामा एक साँझ भने– “दाई मैले वकीलहरुसँग कुरा गरिसकेँ, तपाइँलाई लिएर आउन भनेका छन् । भोलिको समय दिएको छ । तपाइँ टाईम मिलाउनुस्, यो नम्बरमा फोन गरेर भनी मलाई वकीलको नाम र फोन नम्बर दियो ।
“शर्मा एण्ड कम्पनी .... ” यस्तै नाम थियो त्यो ल फर्मको ।
मैले फेरि आफ्नै कुरा दोहो¥याएँ ।
“दिनेश, म माओवादी पीडित भनेर कुनै हालतमा आवेदन दिन चाहन्न । एउटा ग्रीनकार्डलाई त के यो अमेरिकाको न्यूयोर्र्क सहरको आधा राज्य पाउने भए पनि म यो काम गर्दिन ।”
त्यत्ति भनेपनि दिनेशले भने “दाई तपाइँ आफै माओवादी त होईन नि ?”
होइन भाइ म माओवादी होइन, केवल माओवादीको समर्थक मात्र हुँ र उनीहरुको जे एजेण्डा मेरो पनि त्यही एजेण्डा हो ।”
“ल उसो भए नमस्कार ! दाईलाई” भनेर दस औँला जोडीकन मलाई नमस्कार गर्दै भने,
“दाई भोलि एकचोटी वकीलकहाँ जाम मेरै लागि भएपनि । केही कुरा गरौँ । के कस्तो उपाय छ सोधौँ । कुरा गरेर केही फरक पर्दैन । माओवादी पीडित भनेरै आवेदन दिनुपर्छ भन्ने केही छैन । अरु पनि उपाय हुन सक्छ । तपाइँको यो हालत देखेर म बस्न सक्दिन । अस्ति एक ठाउँमा रसियनहरुकहाँ काम गर्न जानुभो तपाइँ । राति फर्कँदा मरेको मुर्दा जस्तो गरी सुत्नु भो जिऊ दुःखेर । अर्को दिन काम गर्न जान सक्नु भएन । तेस्रो दिन काम गरेर आउनु भो ८० डलर कमाएर ल्याउनु भो र मेरो अमेरिकाको पहिलो तलब भनेर २ सय डलरको गीफ्ट (उपहार) सामान पठाउनुभो आफ्नो दिदीको हो कि कस्को जन्मदिनको शुभकामना भनेर । तेस्रो दिन काम गर्न जानु अगाडि तपाइँलाई फोन आयो आजदेखि काममा नआउनु भनेर ।
अनि फेरि तपाइँ कामको खोजीमा जानुभो र एक कोरियन रेष्टुराँमा काम गर्न जानु भो । दुई दिन पछि त्यहाँबाट पनि तपाइँलाई बिदाबाजी गरेर पठाइ दियो ।
एकचोटी म सँगै काम गर्न निसकनु भो मेरै ठाउँमा । तपाइँले धेरै ईमान्दारपूर्वक काम गर्नु भो एक कुल्ली सरह म सँगै । तपाइँलाई केही फिलिङ्ग भएन होला । तपाइँ त कम्युनिष्ट विचारधाराको मान्छे । कुनै पनि काम गर्न सक्ने र काम गर्न लाज नमान्ने । म त्यो कुरा बुझ्छु । तर दाईले म सँग एउटा साधारण ज्यामीको काम गरेको हेरेर बस्न मैले सकिनँ । त्यसकारण मैले आफ्नो अफिसका हाकिमहरु (एकजना इण्डियन र अर्को पाकिस्तानी) सँग कुरा गरेँ दाईको बारेमा, र उनीहरुले तपाइँको बायोडाटा एकचोटी लिएर आउनु भने । मैले दाईसँग मागेर उनीहरुलाई तपाइँको बायोडाटा देखाएँ र भोलिपल्ट उनीहरुले तपाइँको पूरा जीवनी पढिसकेपछि भने– “दिनेश, राजदास भन्ने तपाइँको दाईलाई अब देखि हामीकहाँ काम गर्न न ल्याउनु । हामीलााई लाज लाग्यो उहाँले, हाम्रो साइटमा तिमीसँग काम गरेको देख्दा । हुन त हामी पनि दुबै इञ्जिनियर नै हौँ । (एकजना सिभिल इञ्जिनियर, एकजना मेकानिकल इञ्जिनियर) तर तपाइँको मान्छे इञ्जिनियर मात्र होइन पढेलेखेको मान्छे हो हामी भन्दा कता कता माथि ......”
क्रमशः ...
(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments