लावण्य÷साँखु । पुरातत्व बिभागले सम्पदा वस्ती साँखुमा संचालन गरेको १५ दिने सिकर्मी, डकर्मी र ढुंगेकर्मी कारीगढी र परम्परागत गारो तथा झिगटी बनाउने तालीम यही जेष्ठ २० गते सम्पन्न भएको छ ।
जेठ ६ गते देखि सुरु भएको उक्त तालीममा तीनवटै समूहमा गरी ४५ जना प्रशिक्षार्थीहरुलाई पुरातत्व बिभागबाट पठाइएका प्रशिक्षकहरुले प्रशिक्षण दिनुभएको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई वडा नं. ६ को प्राङ्गण नारायणचोकमा आयोजित कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले प्रमाण पत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा मेयर श्रेष्ठले दक्ष प्राविधिकहरुको अभावमा सम्पदा शहरको पुनः निर्माणमा सोचे अनुरुप काम गर्न नसकेको अवस्थामा तालिमका प्रशिक्षार्थीहरुबाट अब काम हुने बिस्वास व्यक्त गदै प्रशिक्षार्थीहरुलाई थप तालीम आवश्यक भएमा काममा निखार ल्याउन नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।
वहाँले नगरपालिकाले दिईरहेको अन्य तालीमहरु बालुवामा पानी खन्याएजस्तो भएको बताउँदै यो तालीम भने जनताको जीवनपद्धतीसँग जोडिएको हुँदा तालीम प्राप्त गरेका प्रशिक्षार्थीहरुले काम पाउने आशा गरेको बताउँर्द पुरातात्विक धरोहरहरुको निर्माणको जिम्मा नगरपालिकालाई दिए तालीममा सहभागी प्रशिक्षार्थीहरुको लागि काम निखार्ने थलोको रुपमा विकास गर्न सकिने बताउनुभएको थियो ।
साँखुका सम्पदाहरुको पुन निर्माणमा पुरातत्व बिभागको सहयोग सकारात्मक रहेको बताउदै आगामी दिनहरुमा पनि सहकार्यलाई निरन्तरता दिइने बताउनु भयो । कार्यक्रममा शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद सिम्खडाले तालीम उपलब्धीमूलक भएको बताउदै तालीमका सहभागीहरुले रोजगारी पनि सजिलै पाउने बताउनु भयो । सम्पदा शहरको रुपमा रहेको साँखुमा पुरातात्विक ढंगले घर निर्माण गरे नगरपालिकाले थप नगद १ लाख र पुन निर्माण प्राधिकरणले थप ५० हजार रकम सहयोग गर्ने बताउनु भयो ।
पुरातत्व विभागका निर्देशक सम्पत घिमिरेले २०७२ सालको भुकम्प पश्चात पुरातात्विक सम्पदाको महत्व र पुरातत्व विभागको भूमिका बढेको बताउँदै शंखरापुर नगरपालिका भित्रको सम्पदाको पुनः निर्माणमा सहयोग जारी रहने बताउनु भएको थियो ।
वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले नेवारी परम्परा झल्कीने घरहरुको निर्माणमा प्रशिक्षार्थीहरु सक्षम हुने बताउदै तालिम समय थप भएको भए अझ राम्रो हुने बताउनु भयो । साथै उहाँले प्रशिक्षार्थीहरुले बनाएको पाटी नगरपालिकालाई हस्तान्तरण गर्ने क्रममा भन्नुभयो– यो पाटीमा प्रयोग भएका इँट्टा, ढुंगा र काठहरु सबै साँखुको कलश पोखरी नजिकैको पाटीको नापोमा बनाइएको हुँदा सो ठाउँमा प्रयोग गरिने र प्रशिक्षार्थीहरुलाई समेत सो पार्टी निर्माणको काममा लगाइने जानकारी गराउनुभएको थियो । तालिमका प्रशिक्षार्थी विजय महर्जनले बीस वर्ष पहिले देखि डकर्मीको काम गरे पनि तालिम पश्चात काममा परिपक्वता आएको बताउनुभयो । त्यसैगरि दिविना शाहीले परम्परागत शैलिको घर निर्माणमा आफुहरुले काम गर्न सक्ने भएको बताउनुभयो उहाँले तालीममा सिकिएका शीपहरुको सदुपयोग गर्ने ठाउँ पाउनुपर्ने बताउनुभएको थियो ।
0 Comments
Thanks for your concerns