आवाज उठ्यो –लकडाउनको विकल्प खोज्नुपर्ने ! सुरक्षित हुँदै काम गर्न पाउनुपर्ने !


– प्रज्ज्वल श्रेष्ठ –


लावण्य/साँखु । गत चैत्र ११ गते देखि लगाइएको लकडाउन आज २ महिना कटिसकेको छ । यस अवधिमा आम जनताले छिटफूट घटना बाहेक लकडाउनको पालना गरेकै पाइन्छ ।
अब भने लकडाउनको विकल्प खोज्नुपर्ने आवाज जनस्तरबाटै उठ्न थालिसकेको छ । केही हप्तासम्म त घरमै बिताएका आम मानिसले सरकारले लकडाउनमा पनि खेतिपाती र निर्माण सम्बन्धी काम गर्न दिँदा पनि केही समय राहत नै मानेर काममै ध्यान दिँदै लकडाउनको पालना गरेकै थिए ।
दुईमहिनासम्म पनि लकडाउन नखुल्नु र कोरोना संक्रमितको संख्या झन् झन् वृद्धि हुँदै जानु अनि केही व्यक्तिहरु संक्रमणकै कारण मरेपछि भने आम जनसमुदायमा अब यो लकडाउनले मात्रै पाउन पाउने बिश्वास हट्दै गएको हो ।
यही लकडाउनकै अवधिमा करिब ६ सय जनाले आत्महत्या गरिसकेका छन् भने लकडाउनकै कारण घरमा बस्दा बस्दा वाक्क दिक्क हुँदै मानसिक समस्यामा परेकाहरुको पनि कमी छैन अहिले समाजमा ।
कतिपय ठाउँमा घरायसी हिंसा बढ्न थालेको छ भने बलात्कारजस्ता घटना भने यो अवधिमा घटेका छन् । त्यसैगरी यातायातका साधनहरु नचल्दा दूर्घटना कम भएका छन् र वातावरण पनि स्वच्छ सफा र हराभरा भएका छन् ।
तर आम मानिसको आय शून्य भएसँगै क्रयशक्ति समेत घट्न थालेका छन् । जसलेगर्दा किराना र तरकारी पसलमा समेत खरिद गर्नेहरुको भीड लागेतापनि व्यापारमा कमी भएको गुनासो आउन थालेका छन् ।
किराना दुकानमा भीडभाड किन ?
विगतका दिनहरुमा सामान्य अवस्थामा भएको भए कस्मेटिक्स पसल, ब्यूटी पार्लर अझ स–साना होटल, पान पसलहरुमा समेत पाईने स्याम्पु, साबुन, सर्फ, क्रिम, फेसवास, मास्क, स्यानिटाईजर लगायतका सामग्रीहरु पाइन्थे । तर ती सबै पसलहरु अहिले अत्यावश्यक पसलहरु मात्रै खोल्नेका नाममा बन्द भएपछि त्यहाँ पुगेर किन्ने गरिएका सामग्रीहरु पनि किराना पसलहरुमा गएर किन्न पर्ने हुँदा बजारमा भीडभाड हुनु स्वाभाविकै हो । त्यसमाथि समयको पावन्दीले गर्दा त झन् धेरै भीडभाड हुने नै भयो ।
भीडभाड गरेर समयको पावन्दीमा रही पसल खोल्नु भन्दा आम जनतालाई सचेत गर्दै गराउँदै र आफु पनि सुरक्षित रही सबै खालका पसलहरु खोल्न पाउनुपर्ने माग अहिले जनस्तरमा व्यापकरुपमा आउन थालेकोछ ।
हुनतः जस्तो सुकै लकडाउनमा पनि अथवा कफ्र्यूमै पनि मूल सडकभन्दा भित्रका पसलहरु खुल्ने र भित्रभित्रै कारोवार हुने विषय भने नौलो होईन । अहिले पनि मूल सडकभन्दा भित्रका पसलहरु कहिँ आधा उधी खोलिनु, कहिँ भित्रै अर्को बाटो बाट सामान उपलब्ध हुनु, स–साना होटलहरुमा पनि भित्र भित्रै कारोवार हुनुलाई अन्यथा नलिँदा मुलुकमा अहिलेसम्म लकडाउनको पालना भएकै देखिन्छ । तरपनि आम जनता अब भोकले मर्ने कि रोगसँग मुकाबिला गर्दै जित्ने भन्ने परिस्थितिमा पुगेकै कारण अब भने लकडाउन खोल्नुको विकल्प छैन ।
लकडाउन खोल्दैमा पनि अहिले हिजो जस्तै भीडभाड नगरी आफूलाई आवश्यक पर्ने सामग्रीहरुको खरिद विक्री गर्दा सुरक्षित हुने उपायहरुको प्रचार प्रसार हुनु अति आवश्यक छ । हुनतः यो लकडाउनको अवधिमा आफ्नै गाउँ ठाउँका बाहेक कोही बाहिरका आए आपैm सचेत हुने वातावरण जताततै देखिएका छन् । अझ कतिपय ठाउँमा त खाली दिमाग शैतानका घर भनेजस्तै काम नपाएका उरन्ठेउलाहरुको नेतृत्वमा अथवा कुनै अमुक क्लब वा टोल सुधार समितिको पहलमा ढाट राख्ने र सवारी आवागमनमा बाधा व्यवधान उत्पन्न गर्ने खालका गतिविधि बढिरहेको छ । त्यस्तो विषयमा भने सरकारले समय समयमा ध्यान दिएको हुँदा त्यस्तो खाले अवरोध भने कहिँ पनि धेरै दिन टिकेका छैनन् ।
त्यसैले जननिर्वाचित सरकारले दोहोरो दायित्व अन्तर्गत लकडाउन पनि खोल्दै जानुपर्ने र आम जनताको स्वास्थ्य पनि सुरक्षित राख्दै जानुपर्ने आजको आवश्यकता हो ।

Post a Comment

0 Comments