गृहमन्त्रीलाई तह लगाउन कमल थापाको अपिल

साँखु÷गत कार्तिक १५ गते राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृहमन्त्री वामदेव गौतमले भगवान र हिन्दुहरुको आस्थालाई खिल्ली उडाएको भन्दै माफी नमागे देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
रत्नपार्क शान्तिबाटिकामा शनिबार विरोध सभा गर्दै थापाले संसदमा गृहमन्त्रीले भगवानप्रति व्यङग्य गर्दै खिल्ली उडाएको आरोप लगाए ।
उनले गौतमलाई प्रश्न गर्दै भने–‘के भगवान खिल्ली उडाउने विषय हो ? भगवान र हिन्दुहरुको धार्मिक आस्थाको अपमान गर्ने प्रयास गर्नु हुन्छ र हिन्दुहरुको सहनशीलतालाई चुनौती दिन चाहनु भएको हो भने त्यो स्वीकार छ ।’
गृहमन्त्रीले शुक्रबारको संसद बैठकमा साक्षत भगवान नै आए जसरी बन्चरो खुकरी राखेर धर्नामा बसेकाले हटाउनु परेको बताएका थिए ।
सभामा थापाले गृहमन्त्रीले भगवान पशुपतिनाथलाई नै आतंकका रुपमा प्रस्तुत गरेको र भगवानको खिल्ली उडाएको आरोप लगाएका छन् ।
गृहमन्त्रीको चर्को आलोचना गरेका थापाले भोलि संसदमा गृहमन्त्रीले माफी मागेर आफ्ना अभिव्यक्ति सच्याए समस्या समाधान हुने बताएका थिए । ‘दमनकारी नीति कायम गर्नुहुन्छ र भगवानप्रति गरेको व्यंग्य फिर्ता लिनु हुन्न भने यो संघर्ष बामदेवमा मात्र सिमित रहन्न’ उनले भने–‘सनातन हिन्दु राष्ट्र समाप्त गर्ने षड्यन्त्रको कडीका रुपमा लिन्छौं र हिन्दु राष्ट्र बचाउन देशव्यापी अभियान सुरु गर्छौं ।’
धर्नामा हस्तक्षेप र संसदमा दिएको अभिव्यक्तिले धार्मिक द्वन्द्व विजारोपण गरेको भन्दै उनले अहिले आगोको झिल्कोको रुप मात्र भएको र बेलामा नै निभाउन प्रयास नगरे क्रान्तिको आगोको रुप लिने बताए ।
प्रधानमन्त्रीलाई आग्रह गर्दै रत्नपार्कबाटै कमल थापाले भने–‘दमनकारी गृहमन्त्रीलाई तह लगाउनुस्, होइन भने विद्रोहको रुप लिन्छ ।’ भन्दै प्रहरी सरुवा बढुवामा सुटकेश संस्कृति भित्र्याएको आरोप लगाउँदै राप्रपा नेपालका अध्यक्ष थापाले गौतमले नैतिकताको कुरा गर्न नसुहाउने बताएका छन् ।
कार्यक्रममा स्वामी श्रीनिवासले आइतबारबाट फेरि अनसनमा बस्ने घोषणा गरेका थिए । राप्रपा नेपालका अध्यक्ष थापाले विभिन्न दलमा आवद्ध तथा हिन्दुवादी संघ संस्थालाई समेत एकजुट हुन आहृवान गरे ।
उनले धार्मिक आस्थामाथि आक्रमण भएको भन्दै यस्तो बेला समेत चुप लागेर बस्ने हिन्दु लाचार हौं भने प्रश्न गर्दै संघर्षमा उत्रन आव्हान गरेका थिए ।

Post a Comment

0 Comments