होलीको साँस्कृतिक महत्व

 



मचाराजा महर्जन

नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक देश भएकाले यहाँ वर्षभरि कुनै न कुनै चाडपर्व, जात्रा, मेला र उत्सव परिरहेको छ । लोकतन्त्र स्थापनापछि त यस्ता चाडपर्वले विशेष महत्व पाउँदै आएका छन् । हाम्रो देश धर्मनिरपेक्ष घोषित भए पनि धार्मिक सहिष्णुता यहाँको विशेषता बनिसकेको छ । अहिले यो सबैका लागि सुखद् पक्ष बनेको छ । यस वर्ष होली चैत्र १३ र १४  गतेका दिन रंगीन पर्वका रुपमा परिचित फागुपूर्णिमा मनाउने तयारीमा सबै नेपालीले सोच बनाइसकेका छन् । हर्ष, उल्लास र उमङ्गको वातावरणमा मनाइने फागुलाई होली पनि भनिन्छ । फागुन महिनाको पूर्णिमामा पर्ने भएकाले फागुपूर्णिमा नाम भए पनि यसलाई होली नामले पनि चिनिन्छ । होली नामक कसरी रहन गयो भन्नेमा एउटा कथा यस्तो छ– भविष्य पुराणमा बताइए अनुसार दैत्यकुलमा जन्मेका भए पनि प्रल्हाद विष्णुका सरमभक्त थिए । छोरो विष्णुभक्त भएको देखी दैत्यराज हिरण्यकशिपुले विष्णुको नाम नजप्नु भनी बारम्बार सम्झाउँदा पनि प्रल्हादले नमान्दा हिरण्यकशिपुले बहिनी होलिकालाई बोलाएर भन्यो– ‘बहिनी ! तिमीले आगोले पनि डढाउन नसक्ने बरदान पाएकी छ्यौं, प्रल्हादलाई काखामा राखेर तिमी अग्निकुण्डमा पस र यसको जीवनलीला अन्त्य गरिदेऊ ।’ दाजुको आज्ञा शिरोपर गर्दै होलिका प्रल्हादलाई काखामा राखी दन्केको आगोमा पसी, दैवको इच्छा बलवान भएकाले होलिका भस्म भई परन्तु भगवद्भक्त प्रल्हाद सकुशल हरिनाम जप्दै अग्निकुण्डबाट बाहिर निस्के । त्यसबेलादेखि पापवृत्तिकी प्रतीक होलिकालाई भष्म गरेको खुशियालीमा होली खेल्ने प्रचलन शुरु भएको मानिन्छ र होलिका दहनको घटनाबाट होलीपर्वको नाम रहेको विश्वास गरिन्छ ।

श्रीमद्भागवतको कथा अनुसार चौरदाहको प्रसङ्गमा यस्तो भनिएको छ– वसन्तको शुभारम्भमा जमुना नदीमा गोपिनीहरु निर्वस्त्र नुहाइरहेका थिए । त्यसैबेला श्रीकृष्ण त्यहाँ आई गोपिनीहरुका वस्त्र बटुलेर रुखमा झुण्ड्याई बाँसुरी बजाउन थाल्नु भयो । बाँसुरीको कर्णप्रिय स्वर सुनी तिनीहरुले हेर्दा त श्रीकृष्णलाई रुखमा चढेर हाँसिरहेको देखे । आफ्नो लाज बचाउन आकण्ठ जलमग्न भई गोपिनीहरुले आफ्ना कपडा मागे । निर्वस्त्र नुहाएको प्रायश्चित स्वरुप सूर्यलाई प्रणाम गरी अघ्र्य दिन गोपिनीहरुलाई श्रीकृष्णले अ¥हाउनु भयो । गोपिनीहरुले जलाघ्र्य दिएपछि उनीहरुले आफ्ना कपडा फिर्ता पाए । त्यसैबेला श्रीकृष्णले गोपिनीहरुसँग रसरङ्ग गरी फागु खेलेका थिए । अतः फागुमा चीर गाड्ने चलन नै चीरहरण लीलाको प्रतीक मान्न सकिन्छ । फागुसँगै गाँसिएर आउने चीरदाहको प्रसङ्गमा द्रौपदीको चीरहरण र पुतनावधलाई पनि यसै सन्दर्भमा जोडेको पाइन्छ । कामदेवलाई महादेवले भष्म गरेको तथा बालघातिनी पुतनालाई श्रीकृष्णले दूध चुसेर मारेको खुशियालीमा द्वारकाका बालकहरुलेफागु खेलेका थिए भन्ने भनाई पनि छ ।

हास्य विनोदले परिपूर्ण, सौहार्द र हार्दिकता फागुका विशेषता हुन् । यस दिन ठूलो सानो, धनी–गरिबको भेदभाव गरिंदैन । सबै एक समान भएर रङ, लोला र पिचकारीले यो पर्व मनाउँछन् । सामाजिक एकता र समानतामा आधारित फागुपूर्णिमामा नाच्ने, गीत गाउने तथा प्रीतिभोज आदि गरी रमाइलो गरिन्छ । ‘होलीमा तरुनी नदेखिने नारी राम्री होइन, जवानीमा राम्री नभएकी केटी संधै बूढी देखिन्छे’ नेपाली समाजमा फागुसित सुन्दरीको प्रसङ्ग यसरी पनि जोडिएको छ ।

यसबेला वसन्त ऋतुको आगमनले सर्वत्र हरियाली देखिन्छ भने बगैंचा, फुलबारी तथा नदी तलाउको वातावरण अझ सुरम्य हुन्छ । वसन्तोत्सवका रुपमा मनाइने फागुले सबैमा प्रेम र अनुरागको वर्षा गराइदिन्छ । त्यसैले ‘आज त होली हो नरिसाऊ है’ भन्दै एक आपसमा रङ र अविर पोतिन्छ अनि कसले धेरै रङ हान्ने, लोला बर्साउने भने होडबाजी नै चल्छ । लुकेर लोला हान्नु सामाजिक अपराध हो तर हिजो आज फागु आउन हप्ता १० दिन अघिदेखि नै लोला प्रहार गरी बटुवा तथा युवतीहरुलाई हैरान पारेको देखिन्छ । रङ खेल्न रुचि नहुनेलाई जवर्जस्ती गर्नु हुँदैन र बटुवालाई निर्बाध रुपले गन्तव्यमा पुग्न दिनु पर्छ । गाँजा–भाङ्ग खाई मदिरा सेवन गरी होहल्ला गर्दै हिड्नु फागुको विकृत पक्ष हो । चाडपर्व संस्कृति जोगाउने उद्देश्यले मनाउनुपर्छ यसमा विकृति विसङ्गतिको प्रवेश स्वीकार्य छैन ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुर गद्दी वैठक अगाडि लिङ्गोलाई रङ्गीचङ्गी ध्वजापताकाले सिंगारी गाडिएको चीर (कपडा) मा पूजा गरेपछि फागु विधिवत् रुपमा शुरु भएको भनिन्छ । नेपालका पहाडी ५२ जिल्लामा पूर्णिमाका दिन र तराई मधेशका २३ जिल्लामा भोलिपल्ट फागु खेल्ने वा होली पर्व मनाउने गरिन्छ । पहाडी समुदायले फागु भने जस्तै तराईवासी यसलाई फागुवा अथवा होली भनेर मनाउँछन् । भारतमा यस दिन हाम्रो दशैंजस्तै महापर्वका रुपमा होलीलाई मानिन्छ भने इटाली, चीन, अमेरिका, इण्डोनेसिया, म्यान्मा र थाइल्याण्डमा पनि आ–आफ्नै तरिकाले फागु खेल्ने परम्परा छ । हास्यविनोद, नृत्य र गीतका माध्यमबाट मनोरञ्जन गरिने फागुको महत्व विश्वव्यापी रहेको भेटिन्छ । फागुकै अवसरमा मैथिली, भोजपुरी, अवधी र नेवारी भाषामा भजनकीर्तन गर्ने परम्परा पनि विकसित भएको छ ।

Post a Comment

0 Comments