१९ कार्तिक २०७९, शनिवार
लावण्य/साँखु । चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरू प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं ८ मा चुनावी चहलपहल बढेको छ । उम्मेदवारहरूले समूहमा घरदैलो र टोलमा कोणसभाका कार्यक्रम अघि बढाइरहेका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा काठमाडौँ ८ मा सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ हुनुहुन्छ । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा सो क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन नै बलियो देखिएको छ ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको नतिजाअनुसार सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले चार, नेकपा (एमाले) ले दुई, राप्रपाले एक र नेकपा (एकीकृत समाजवादी) एकमा विजयी भएका छन् । सो क्षेत्रमा काठमाडौँ महानगरका ६ वडा १३, १५, १९, २०, २३ र २४ तथा सोही क्षेत्रमा नार्गाजुन नगरपालिकाका ४ र ५ नं वडा समेटिएका छन् । त्यसमध्ये काठमाडौँ महानगरका १९, २०, २४ र नागार्जुनको वडा नं ४ मा कांग्रेसले जीत हासिल गरेको छ । काठमाडौँ महानगरभित्र २३ र १३ नं वडामा एमाले विजयी भएको छ । त्यस्तै वडा नं १५ मा नेकपा (एकीकृत समाजवादी) र नागार्जुन–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
आगामी निर्वाचनमा समाजवादीका श्रेष्ठ र एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यबीच प्रतिस्पर्धा हुने अनुमान लगाईएको छ । तर यसै क्षेत्र अन्तर्गतका महानगरका वडाहरुबाट मात्रै गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरको प्रमुखमा १३ हजार सात सय ७० मत प्राप्त गरेका सुमन सायमीलाई कम आँक्न मिल्दैन । उनी आफै पनि नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज जीवनराज मानन्धर जस्ले आफ्नो जीवनभर कालिमाटीबाट वडा अध्यक्ष भई जनताको सेवा गर्नुका साथै कम्युनिष्ट पार्टीका मैहुँ भन्ने नेताहरुलाई आर्थिक सहयोग गर्दै आईरहेको व्यक्तित्व भएकै कारण पनि सायमीले यस क्षेत्रको गणितलाई नै फेरबदल गर्ने अनुमान राजनैतिक वृत्तमा गरिएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विराजभक्त श्रेष्ठ पनि चुनावी मैदानमा रहेका छन् । उनी बागमती प्रदेशको निवर्तमान प्रदेशसभा सदस्य पनि थिए ।
विसं २०७४ निर्वाचनमा जीवनरामले कांग्रेसका स्व.नवीन्द्रराज जोशीलाई १३ हजार तीन सय ९७ मत ल्याएर चार सय ४४ को मतान्तरले पराजित गरेका थिए । श्रेष्ठसँग प्रतिस्पर्धा गरेका जोशीको गत वर्ष निधन भएको हो ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मतको परिणाम केलाउँदा पनि एमालेभन्दा कांग्रेस तीन हजार छ सय ४३ मतले अगाडि छ ।
आठ वडामा कांग्रेसका वडाअध्यक्षले कुल आठ हजार सात सय १६ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीले तीन हजार ७४ मत र राप्रपाले एक हजार पाँच सय ३९ मत प्राप्त गरेका थिए । कांग्रेस र एकीकृत समाजवादीले वडामा ११ हजार सात सय ९० मत प्राप्त गरेका छन् । सो मत गणना गर्दा पनि एमालेभन्दा गठबन्धन छ हजार सात सय १७ मतले अगाडि छ । विसं २०७४ को मत परिणाम र स्थानीय तहको निर्वाचनलाई हेर्दा सो क्षेत्रमा रोचक भिडन्त हुने देखिएको छ ।
कुल ५३ हजार एक सय छ मतदाता रहेको सो क्षेत्रमा २३ मतदानस्थल र ६१ मतदान केन्द्र निर्धारण गरिएको छ । रासस
0 Comments
Thanks for your concerns