मधेश आन्दोलन अर्को चरणमा, राष्ट्रपतिविरुद्ध नारावाजी

साँखु÷गत विवाह पञ्चमीका दिन राष्ट्रप्रमुखका रुपमा जानकी मन्दिर परिसरमा दर्शनको लागि पुगेका राष्ट्रपति विद्यादेवी भण्डारीको मधेशी मोर्चाका कार्यकर्ताले व्यापक विरोध गरेका छन् । उनको आगमनको अवसरमा केही गर्न नसकेतापनि आगमन लगत्तै जानकी मन्दिर परिसरमै पेट्रोल वम समेत प्रहार गरिएको थियो भने उनको सुरक्षाको लागि प्रयोग गरिएका कारगेडमा समेत ढुंगा प्रहार गरिएको थियो । अझ यो भन्दा पनि उदेकलाग्दो घटना त भोलिपल्ट मधेशी मोर्चाका स्थानीय नेता कार्यकर्ताहरुले गंगासागरबाट गंगाजल ल्याई जानकी मन्दिर परिसरको सरसफाई गरिएको विषयले व्यापकरुपमा चर्चा परिचर्चा पाएको छ । कतिपय महिला अधिकारकर्मीले मधेशी मोर्चाको यस किसिमको कार्यको भत्र्सना गरेका छन् भने मधेशी मोर्चाका कार्यकर्ताहरुले भने मिथिला संस्कृति अनुसार विधवाले दर्शन गर्न नहुने भएकोले सरसफाई एवं चोख्याउने कार्य गरिएको बताएका छन् । यस कार्यको बचाउ गर्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले हाम्रो संस्कृतिबारे जानकारी गराइएको मात्रै हो अन्यथा केही हैन भनेका छन् । तर महन्थ रामपतेश्वर दास वैष्णवले भने राष्ट्रपतिसँगै आएका सुरक्षा अधिकारीहरुले छालाको जुत्ता, पेटी सहित मन्दिर परिसरमा प्रवेश गरेको कुकुर डुलाएको लगायत मिथिला संस्कृतिविरुद्धका कार्य भएका प्रतिक्रिया दिएका छन् । साथै उनले मधेशी मोर्चाका कार्यकर्ताहरुले समेत मन्दिर भित्रै प्रवेश गरेर गर्भगृहमा रहेको चाँदीका सरसामानहरु समेत तोडफोड गरेको आरोप लगाएका छन् । यस विषयमा आन्दोलनरत मधेशीदलले एक अनुसन्धान आयोग बनाएका छन् । सो आयोगमा आन्दोलनरत चार दलका जिल्ला नेताहरु लगायत अन्य आन्दोलनरत पक्ष र संघसंस्थाका प्रतिनिधीहरु समेत सम्मिलित छन् । मधेशी आन्दोलन अर्को चरणमा मधेश आन्दोलनले करिब १ सय २० दिन कटाईसक्दा पनि परिणाम ननिक्लेको अवस्थामा मधेशी मोर्चाले पुनः ११ दिनको अर्को थप आन्दोलन घोषणा गरेका छन् । जुन आन्दोलनको दोस्रो दिननै रौतहट र विरगञ्जमा तनाव भएको छ । मधेशी मोर्चाका कार्यकर्ताहरुको आक्रमणमा परि ११ प्रहरी घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ । साथै मधेशी मोर्चाका कार्यकर्ताहरुको आक्रमणमा परि ४ सर्वसाधारणलाई चोटपटक लागेको छ भने प्रहरीले गिरफ्तार गरेका २ जना मोर्चाका कार्यकर्ताको टाउको फुटेको छ । अहिलेसम्म मधेश आन्दोलनमा करिब ५० जनाको मृत्यु भइसकेको छ । मधेशी मोर्चाले अबको वार्ता काठमाडौँमा नभई मधेशमै गरिने बताएर मधेश आन्दोलनलाई थप उचाईमा पु¥याएको छ । मधेश आन्दोलनका कारण सरकारविहिनताको स्थितीमा पुगेको छ । सरकारको उपस्थिती तराईमा न्यून देखिएकोछ यसले गर्दा तस्कर र कालावजारियाहरुको विगविगी तराईका सिमानाहरुमा देखिएको छ । जे–जस्तो अवस्थामा पनि सरकारको कर्तव्य जनताको जीउधनको सुरक्षा गर्नु र जनताको खान पाउने हकको ग्यारेन्टी गर्नु हो यतातर्फ भने सरकारको पटक्कै ध्यान गएको देखिएको छैन ।

Post a Comment

0 Comments