स्वबासी लालपूर्जाकोलागि पहल गरिने– राज्यमन्त्री थापा

साँखु÷साँखु बजारमा स्ववासी लालपूर्जा वितरण गर्नको लागि सरकारको तर्फबाट आव्हान भइरहेको भएतापनि तत्कालै वितरण नभइरहेको अवस्थालाई दृष्टिगत गरि जतिसक्दो छिटो स्ववासीलाई लालपूर्जा दिनको निमित्त विशेष पहल गर्नुपर्ने र सो सम्बन्धमा पहल गरिने जानकारी भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रमबहादुर थापाले दिएका छन् । साँखुमा आफ्नो विशेष चासो रहेको बताउँदै राज्यमन्त्री थापाले लालपूर्जाकै कारण भूकम्प पीडितलाई राहत वितरणमा समस्या नहोस् भन्ने विचारले नै आफूले यस विषयमा पहल थाल्ने र मन्त्रिपरिषद्को बैठकमा यो विषय जतिसक्दो छिटो प्रवेश गराउन पहल गर्ने बताएका छन् । उक्त कुरा उहाँले साँखुमा आयोजित बारास टेक्निकल इन्स्टिच्यूटको १५ दिने उद्घोषण तालिममा सहभागीहरुलाई प्रमाणपत्र एवं पुरस्कार दिने क्रममा बताउनुभएको हो । उक्त कार्यक्रममा स्थानीय वक्ताहरु मिजेन्द्रकाजी श्रेष्ठ, नविन नापित, सूर्जनारायण श्रेष्ठ लगायतले साँखुका ६० प्रतिशत बासिन्दासँग आफ्नो घरको लालपूर्जा नभएको विषय उठाएका थिए । त्यसपछि उहाँले सम्बोधनका क्रममा उक्त जानकारी गराउनुभएको हो । पूर्व जिविस सदस्य मिजेन्द्रकाजी श्रेष्ठका अनुसार स्वबासी लालपूर्जाको समस्या टोखा र साँखुमा रहेको कीर्तिपुरमा समस्या समाधान भइसकेको हुँदा अब सबैभन्दा भूकम्पले प्रभावित काठमाडौँ जिल्लाकै पुरानो सहर साँखुको विकास एवं पुनर्निर्माणको लागि स्वबासी लालपूर्जा उपलब्ध नभएमा साँखुबासीको साँखु सहर बनाउने सपनामा ठेस पुग्नेछ । त्यसैगरी साँखु सक्व पुनर्निर्माण समितिका अध्यक्ष सुरेश प्रधानले साँखु सहरको पुनर्निर्माणको लागि विशेष पहल गरिनुपर्ने बताउँदै साँखु सहरको पुनर्निर्माण गर्दा पुरानै संरचनामा घरहरु बनाइने समेत बताएका थिए । यसको लागि विभिन्न दातृ निकाय एवं पुनर्निर्माण प्राधिकरणमा लविङ्ग गरिरहेको जानकारी गराएका थिए । त्यसैगरी लावण्य सन्देश साप्ताहिकका पवनलाल श्रेष्ठले सो उद्घोषण तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारिकरुपमै लागू गर्नपर्ने बताउँदै कुनै पनि तालिम सानो वा ठूलो नहुने बताएका थिए । साथै साँखु पुनर्निर्माण समितिले गरिरहेको कामबाट प्रत्यक्षरुपमा साँखुका बासिन्दाले फाइदा पाउने भएतापनि साँखु सहरको पुनर्निर्माणको खाका समेत नआइसकेको हुँदा यहाँका जनता निराश रहेको र उनीहरुलाई निराश हुन नदिन पुनर्निर्माण समितिले देखिने गरि काम थाल्नुपर्ने तथा विभिन्न दातृराष्ट्र तथा निकायमा लविङ्ग गर्न सर्वदलीय एवं सर्वपक्षीय बुद्धिजीवीहरुको चयन गरि तत्काल काम थालिनुपर्ने बताउँदै पुनर्निर्माण समितिको असफलता भनेको साँखुबासीकै असफलता हुने भएकोले यतातर्फ ध्यान दिन समितिलाई सचेत गराएका थिए । कार्यक्रममा प्रमुख प्रशिक्षक मनोज राजभण्डारीले वक्ता कहिल्यै उद्घोषक बन्न नसक्ने तर उद्घोषक वक्ता बन्न सक्ने बताउँदै कुनै पनि कार्यक्रमको सफलताको पछाडि उद्घोषकको महत्वपूर्ण हात रहने बताएका थिए । कार्यक्रममा उद्घोषण तालिममा सहभागी २४ जना मध्ये सर्वोत्कृष्ट ३ जनालाई विशेष पुरस्कार दिइएको थियो । पुरस्कृत हुनेहरुमा चन्दा श्रेष्ठ, संगिता श्रेष्ठ र फूलमाया घिसिंग रहेको छन् । कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट लक्ष्मीश्वरी श्रेष्ठ, नविन नापित र संगिता श्रेष्ठले आ–आफ्नो अनुभव बताएका थिए । कार्यक्रमको सभापतित्व गर्दै बारास गु्रपका अध्यक्ष राधाकृष्ण श्रेष्ठले यस अघि पनि ४ वर्ष अगाडि आफूले उद्घोषण तालिम सञ्चालन गरिसकेको बताउँदै आगामी दिनमा यस इन्स्टिच्यूटले टेलरिङ्ग विल्डिङ इलेक्ट्रीसियनको तालिम सञ्चालन गर्न लागेको जानकारी दिँदै केही समयपछि एडभान्स उद्घोषण तालिम समेत दिइने बताएका थिए । कार्यक्रममा सहभागीहरुलाई ज्ञानश्री श्रेष्ठले स्वागत गरेका थिए । प्रमुख अतिथि थापालाई बारास टेक्निकल इन्स्टिच्यूटका अध्यक्ष राधाकृष्ण श्रेष्ठले मायाको चिनो प्रदान गरेका थिए भने प्रमुख प्रशिक्षक मनोज राजभण्डारीलाई प्रमुख अतिथिले कदरपत्र एवं मायाको चिनो प्रदान गरेका थिए । त्यसैगरी प्रशिक्षार्थीहरुको तर्फबाट गंगादेवी कारन्जितले बारास गु्रपका अध्यक्ष राधाकृष्ण श्रेष्ठ तथा प्रमुख प्रशिक्षक मनोज राजभण्डारीलाई मायाको चिनो स्वरुप पानस दिएका थिए ।

Post a Comment

0 Comments