विदेशी चासोका बीच आगामी सरकार कस्को बन्छ भन्ने जनचासो–, सरकार कुन दलले बनाउने ?



विदेशी चासोका बीच आगामी सरकार कस्को बन्छ भन्ने जनचासो–
सरकार कुन दलले बनाउने ?

लावण्य/साँखु । राष्ट्रिय राजनीतिको गतिमा प्रभाव राख्ने पाँच व्यक्तिले बुधबार आफूहरूको धारणा सार्वजनिक गरे– ‘सरकार गठन प्रक्रियामा बाह्य संलग्नताले नेपाललाई भूराजनीतिक रणमैदान बनाउने जोखिमतर्फ हामी चिन्तित छौँ । प्रजातान्त्रिक पृष्ठभूमिबाट आएका दुई दल (कांग्रेस र एमाले) निरन्तर संवादमा रहून् र वैदेशिक सम्बन्ध, आर्थिक नीति, सामाजिक न्याय तथा संविधानवादका आधारबारे साझा धारणा बनाऊन् भन्ने हाम्रो चाहना छ ।’

नागरिक अगुवा तीर्थमान शाक्य, कुलचन्द्र गौतम, युवराज घिमिरे, सुशील प्याकुरेल र कनकमणि दीक्षितले माओवादीको नेतृत्वको सरकार स्वीकार्य नहुने समेत बताएका छन् । माओवादीप्रति लक्षित गर्दै उनीहरूले भनेका छन्, ‘केही निर्वाचनयता निरन्तर खिइँदै गएको एउटा दलले सबैभन्दा ठूलो दलसहित समग्र मुलुकलाई अह्रनखटन गर्ने र इसारामा नचाउन खोज्ने प्रयत्न जसरी भइरहेको छ, त्यो प्रजातन्त्रमा शोभनीय र स्वीकार्य किमार्थ हुन सक्दैन ।’

मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट कुनै दलले पनि बहुमत ल्याउन सकेनन् । पाँच दलीय सत्तारुढ गठबन्धनलाई समेत सरकार बनाउन अन्य दुई सांंसदको मुख ताक्नुपर्ने भएको छ ।

यसपालिको चुनावी गठबन्धन वा तालमेल फरक परिदृश्यको जगबाट भएको थियो । दुईपटक असंवैधानिक रूपमा संसद विघटन गर्ने तत्कालीन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अहं चुर्ण गर्ने’ र संविधानवादको नाममा नयाँ सरकारसँगै पाँच दलीय गठबन्धन बनेको थियो । एक–अर्कालाई हराउनेबाहेक यसपालि कुनै दलसँग ठोस मुद्दा थिएन । आ–आफ्ना घोषणापत्रमा विकास वा समृद्धिको ‘बतासे बात’ मार्नु हाम्रा दलहरूका लागि कुनै नौलो होइन ।

जब राजनीतिमा ठोस मुद्दा हुँदैन, दलहरू सिद्धान्तहीन बन्न पुग्छन्, तब जनता पनि मत भिन्नता देखिन्छ वा उनीहरू बाँडिन्छन्, जसको स्पष्ट चित्र यसपालिको जनादेशले देखाएको छ ।

दलहरूका लागि विकास वा समृद्धि र राष्ट्रवादबाहेक अर्को मुद्दै नभएको होइन । २००७ सालदेखि भूमिसुधारको कुरा उठ्यो, अहिलेसम्म हुन सकेको छैन । देशमा हिजो भर्खर मात्रै हरवाचरवा मुक्तिको घोषणा गरिएको छ । २२ वर्षअघि मुक्त भएका कमैयाको पुनःस्थापना हुन सकेको छैन । भूमिहीन, दलित, अल्पसंख्यक, लैंगिक विभेद आदि सवाल उठाइए तर टुंगोमा पुगिसकेको छैन ।

यसपालि जनताले मिलिजुली सरकारकै लागि जनादेश दिएका छन् । यद्यपि दुई वा तीन दल मिल्ने नाममा कुनै एउटा दललाई पूर्ण रूपमा दुत्कार्ने भन्ने हुँदैन । आज यो देश हिजो माओवादीले उठाएका र स्थापित गरेका मुद्दामै चलेको विषय दोहो¥याइरहनुपर्दैन, माओवादीसँग आज ठूलो जनमत छैन, यद्यपि केही नागरिक अगुवाहरूले एउटा दललाई दुत्कार्नु कदापि उचित हुँदैन । यसै पनि सत्तारुढ दलहरू गठबन्धन गरी चुनावमा गएका थिए र त्यसकै नाममा भोट पाएका हुन् । सत्तारुढ गठबन्धनलाई प्राप्त सिटलाई साझा रूपमा बुझ्नैपर्छ ।

अर्कोतिर, नेकपा एमाले, राजावादी दल राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको थियो । उनीहरूलाई प्राप्त सिट पनि साझा नै हो । गठबन्धन र तालमेल नगरेको भए निश्चय नै निर्वाचन परिणाम अर्कै हुने थियो । ठोकुवा गर्न नसकिए पनि आकलन गर्न सकिन्छ– गठबन्धन र तालमेल नभएको भए नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बढी सिट आउँथ्यो कि ?

यसपालि मतदाताले पुराना मूलधारे दललाई सन्देश दिएका छन्– तिमीहरू सुध्र, अन्यथा अर्कोपल्ट परिस्थिति अझै खराब हुनेछ । एकातिर, दलहरूले भ्रष्टाचार, असमानता, गरिबी, बेरोजगारीलाई हटाउनुछ । अर्कोतिर सामाजिक न्यायसहितको समृद्धिसँगै विदेशी हस्तक्षेप नहुने परिपाटी बसाल्नुछ ।

प्रधानमन्त्रीका लागि देउवा र प्रचण्ड दुवैको दावी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले सो प्रस्ताव राखेका हुन् । अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ ।

प्रचण्डको नीजि सचिवालय स्रोतका अनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा यसरी सहयोग गर्न देउवासमक्ष औपचारिक रुपमा भनेको यो पहिलो पटक हो । यसअघि प्रचण्डले विभिन्न औपचारिक मञ्चहरूमा प्रधानमन्त्रीमा आफ्नो दावी गर्दै आएका थिए । आजको भेटमा भने प्रधानमन्त्री समक्ष प्रस्ताव नै राखेको बताइएको छ । जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने भनि जवाफ दिएको स्रोतले जनाएको छ । ‘गठबन्धनमा जे सहमति हुन्छ त्यो अनुसार अगाडि बढ्न आफू तयार रहेको धारणा प्रधानमन्त्री देउवाले राख्नुभयो’ स्रोतले भन्यो ।

प्रधानमन्त्री देउवाले पनि आगामी सरकारको नेतृत्व आफूले नै गर्ने भनि संकेत गर्दै आइरहेका छन् । उनले  औपचारिक रुपमा कतै यो विषयमा धारणा नराखे पनि आफ्ना निकट नेताहरूसँग यो अन्तिम पटक आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउँदै आएका छन् ।  काँग्रेसभित्रै महासचिव गगन थापाले पनि प्रधानमन्त्रीका लागि दावी गर्दै आएका छन् ।

“गठबन्धनकै सरकार बन्नुपर्छ”

पुराना कांग्रेस नेता तथा इतिहासकार पुरुषोत्तम बस्नेत सत्तारुढ गठबन्धन नै सरकार बनाउन अग्रसर हुनुपर्ने बताउँछन् । गठबन्धन गरेर जनतामा गएको र सोही बमोजिम जनादेश पाएकाले त्यसको कदर गर्नुपर्ने नैतिक जिम्मेवारी सत्तारुढ दलहरूलाई रहेको उनको भनाइ छ । ‘लोकतन्त्रको दृष्टिकोणबाट हेर्दा ठूला पार्टीमध्ये एउटा प्रतिपक्ष र एउटा सरकारमा जाने हो,’ उनी भन्छन्, ‘स्पष्ट बहुमत लिएर काम गर्ने सोचका साथ कांग्रेस र एमाले मिलेर जाँदा पनि भयो ।’

कुन कुन दल मिलेर सरकार बनाउने भन्ने विषयमा दलहरूले अरुको कुरा सुन्ने होइन, जनताको म्यान्डेट हेरेर पार्टीहरूबीच सम्झौता हुनुपर्ने बस्नेतको भनाइ छ ।

यतिखेर कांग्रेसभित्र नयाँ पुस्ताले सरकारको नेतृत्वका लागि आवाज उठाउन थालेको छ । नयाँ पुस्ता जो अघि सरे पनि विचार र सिद्धान्तसहित आउनुपर्ने बस्नेत बताउँछन् । ‘अहिलेको नेतृत्व किन भएन भन्ने सैद्धान्तिक तर्क हुनुप¥यो, यसै त जो पनि आउँछु भनिहाल्छ,’ नेपाली कांग्रेसको इतिहासको प्रारूप पुस्तकका लेखक बस्नेतले भने, ‘यद्यपि नयाँ पुस्ता आउनु राम्रै हो ।’

राजनीतिक विश्लेषक लोकराज बराल पनि कसैको बहुमत नभएकाले गठबन्धन दलहरू बहुमत पु¥याउनतिर लाग्नुपर्ने बताउँछन् । ‘अहिले जनताको म्यान्डेट नै मिलेर अगाडि बढ भन्ने खालको छ,’ उनले भने, ‘गठबन्धनभित्र कुरा मिलेन भने विकल्पमा जालान् ।’

कांग्रेस प्रवक्ता प्रकाशशरण महत कांग्रेसले गठबन्धनकै सरकार बनाउन लागिरहेको बताउँछन् । ‘हामीले गठबन्धनको विकल्प सोचेका छैनौँ, अरुले सोचेको भए थाहा छैन,’ शुक्रबार उनले टेलिफोनमा भने, ‘अहिले गठबन्धनलाई बहुमत पुग्ने समर्थन मिलेकै छ ।’

Post a Comment

0 Comments