एउटी महिला भएर सोच्दा–३



– अ. सुनिल कुमार श्रेष्ठ –

महिनावारी महिलाको एक प्राकृतिक प्रजनन प्रक्रिया हो । महिनावारीलाई प्रकृतिको मात्रै नभई सृष्टिकै सुन्दर पक्षको रुपमा लिइन्छ । ब्रम्हाण्डमा जे–जति धर्मका ग्रन्थहरु छन् चाहे त्यो हिन्दूको बेद वा मुस्लिमको कुरान वा इसाइको बाइबल नै किन नहोस् सम्पूर्ण धर्मग्रन्थहरुले यस महिनावारीलाई सम्मानित साथ उच्चारण गर्दैआएको छ । मानव सृष्टिको लागि यो एक अपरिहार्य तत्व हो । महाभारतमा भीष्म पितामहले नारी धर्मबारे बताउँदा रजोवस्थामा नारी (पत्नी) लाई अझ धेरै माया, स्याहार र ख्याल गर्नुपर्ने कुरा बताएका छन् । हाम्रो दुर्भाग्य भन्नुपर्छ, सन्तान जन्माउनुलाई पुण्यको रुपमा लिने तर त्यहि प्रकृयासँग जोडिएको महिनावारीलाई हामी पुरुष पाप र दोषपूर्ण नकारात्मक दृष्टिले हेर्ने र व्यवहार गर्ने गर्छौं। मानविय विकासका धेरै आयामहरु पार गर्दै हामी एक्काइसौं शताब्दीमा प्रवेश गरिसक्दा पनि महिनावारी जस्तो पवित्र र स्वभाविक प्रक्रियालाई पितृसत्तारुपी संकुचित सोचले जरा गाढेको हाम्रो मानसपटलमा नआएको परिवर्तनले हाम्रा चेलीबेटीहरु लैङ्गिक, सामाजिक, सांस्कृतिक, मानसिक, आर्थिक, शैक्षिक अनि धार्मिक रुपले भेदभावपूर्ण व्यवहारहरु भोग्न बाध्य छन् । महिलाहरु गर्भमा रहेको अवस्थादेखि नमरुन्जेलसम्म पुरुषको भेदभावपूर्ण व्यवहारको सामना गर्नुपर्दछ । यो अज्ञानता हो या पितृसत्ताले जेलिएको बुझक्कड दिमागको परिणाम या लैङ्गिक, यौन एवं पारिवारिक शिक्षाको अभाव, यसलाई चिरफार गरी हामी पुरुष र महिलाबीचको यी भेदभावपूर्ण सोच र व्यवहारबाट मुक्त भई समानतामा आधारित विभेदरहित परिवार, समाज एवं राष्ट्र निर्माणमा अग्रगामी छलाङ्ग मार्न ढिला भएको छ ।

महिनावारीको समयमा विभिन्न ठाउँ, जाति तथा समुदाय अनुसार फरक फरक प्रकारको भेदभाव तथा छुवाछुतको व्यवहारले महिलाहरु पीडित भैरहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरू विशेष गरी अछाम, बाजुरा, डोटी, बझाङ, कर्णाली प्रदेशका दैलेख, सुर्खेत लगायतका जिल्लाहरुमा महिनावारी हुँदा महिलाले बस्नुपर्ने घर नै फरक हुने र त्यो घरलाई छाउगोठ वा छाउपडी कुडी वा छाउखुल्लो भन्दारैछन् । ती जिल्लाहरुमा छाउपडी प्रथाले महिलाउपर हुने भेदभावपूर्ण व्यवहारले तिनीहरुको जीवन नरकमय तुल्याएको छ । त्यस्तै महिनावारी हुँदा कँही यसलाई छुन नहुने, कँही नछुनी भएको, त कँही छुइ भएको भन्ने जस्ता अपमानपूर्ण शब्दहरुको प्रयोग भएका छन् । कुनै राम्रो शुभ कार्य हुँदा, पूजापाठ हुँदा, भगवानको प्रसाद ग्रहणमा, भान्सा कोठामा, दशैमा टिका थाप्ने, तिहारमा भाइटिका गर्ने तथा कुनै खुशीयालीको समारोहमा वा भनौं कँहिकतै छिमेकी वा आफन्त बितेको छ भने सो घरमा गई दुःख मनाउ गर्न लगायत कहिँकतै कुनै क्षेत्रमा महिनावारी भइरहेका महिलाहरुको उपस्थितिलाई स्वीकार गर्दैनन्, अछुतको व्यवहार गर्ने गरेको पाइन्छ ।

छाउपडी प्रचलनले महिलाहरु साह्रै पीडित मात्र नभई महिनावारी भई छाउगोठमा बस्दा जंगली जनावरको आक्रमण, विशालु सर्पले दस्ने लगायत बलात्कारको डरत्रासले बिताउनु पर्दछ । त्यसोभए के यहाँका महिलाहरुले चाहिँ महिनावारी हुँदा भेदभावयुक्त व्यवहार भोग्नु परेको छैन त ? छ नि ! छाउपडीभन्दा कम त यहाँ पनि छैन । सफासुग्घर हुनुपर्छ त्यसमा कुनै सम्झौता छैन । त्यतिसम्म ठिक थियो । लेख्न त हुन्नथ्यो तर महिलालाई अछुत सरह व्यवहार गर्छन् । यस्तो किन ? पुरुष आफ्नो जीवनमा सबभन्दा ठूलो खुशीको क्षणबारे कुरा पर्दा अधिकतम पुरुष आफू पिता बनेको क्षणलाई सम्झन्छन् । सबभन्दा बढी माया कसको लाग्छ भन्दा आमाको भन्छन् अनि दाजुभाईभन्दा दिदीबहिनी बढी सहयोगी, भरपर्दो र दुःखको साथी भन्छन् अर्थात पुरुषको खुशी र सुखीको स्रोत त महिला नै रहेछ नि । उनले बच्चा नपाई दिएको भए के खाएर पिता बन्न पाउथ्यो र ? आमाको माया ममता र छत्रछायाँमा हुर्केका ती छोराले त्यहि आमाबाट माया बारे बुझ्छन्, आमाको काख नै उनको पहिलो पाठशाला हो, जहाँ बसेर उ हाँस्न सिक्छ, केहि अप्ठ्यारो भएमा वा भोक लागेमा रोएर आमाको ध्यान आफूतिर खिच्न सिक्छ र मा, बा वा मामा, बाबा भन्न सिक्छ । त्यहि महिला श्रीमती हुँदा जीवनका हरेक दुःख सुखका साथी पाउँछन् । बाचुन्जेल उनको साहाराको सुनौलो साथी भएर साथ दिन्छन् । तर त्यहि मानवको स्रोतलाई हामी अशुद्धको रुपमा व्यवहार गर्ने यो रोगी मानसिकता नभए के हो त?  अफसोच दुःखसाथ हामीले भन्नै पर्छ कि हाम्रो परिवार, समाज अनि राष्ट्रमा महिलालाई कहिल्यै नि पुरुष सरह व्यवहार गरिएन । पुरुष समान दर्जा दिएन । अझ भन्नुपर्दा महिलाहरु पुरुषको तुलनामा आफूलाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्छन् । आफू महिला भएर जन्म भएकोमा अफसोच समेत व्यक्त गर्छन् र भगवानलाई प्रार्थना गर्दा रैछन्, हे भगवान मेरो अर्को जन्म भयो भने पुरुष भएर जन्म होस् नत्र मेरो पुनर्जन्म नै नहोस् । म यस्तो भेदभावपूर्ण व्यवहार सहन सक्दिन । 

एउटी महिला भएर सोच्दा, सायद म पनि यस्तो भेदभावपूर्ण व्यवहार सहेर बाँच्नै सक्दिन होला । म क्रान्तिकारी हुन्थ्ये होला। प्रत्येक असमानताको, प्रत्येक भेदभावको, चाहे त्यो लैङ्गिक, सामाजिक, धार्मिक, सांस्कृतिक वा आर्थिक लगायत कुनै पनि किन नहोस् । मलाई गरेको प्रत्येक भेदभावको म मेरा बुबा, बाजे, दाजुभाई, साथीहरु, छिमेकी अनि सरकारसँग सोध्थे । मेरो के गल्ती छ र यसमा ? के यो मेरो चाहना हो ? मेरो इच्छाले म महिनावारी भएको हुँ ? म महिनावारी नहुँदा पनि तपाईहरुलाई कतै म बाँझ त भएन भनि पिरचिन्ता हुने ? कुनै समय त सन्तान नभए वैतरणी नतर्ने समेत भनि सन्तान जन्माउनुलाई पुण्य र धर्म प्राप्तिको रुपमा स्वीकार्ने तपाईहरु, त्यहि सन्तान जन्माउने प्रकृयासँग जोडिएको महिनावारीलाई भने किन पापसँग जोडेर हेर्नुहुन्छ ? किन हामीलाई त्यस्तो भेदभावपूर्ण व्यवहार गर्नुहुन्छ ? मेरो स्वतन्त्रता र मर्यादित जीवनमाथि गरेको खेलवादको म प्रतिकार गर्थेँ । इँटको जवाफ पत्थरले दिने ढृष्टता नगरे पनि म प्रभावकारी जवाफ व्यवहारले अवश्य फर्काउथेँ । म घरमा बोटविरुवामा पानी हालिदिन्थे । हेर्थे कसरी बोटविरुवा मर्थे र भन्थेँ बोटविरुवा त मरेन नि बाबा । म भान्सामा प्रवेश गर्थेँ अनि खाना पकाइ सबैलाई पस्काइ पनि दिन्थेँ । हेर्थेँ मैले पकाएको अनि मेरै हातले पस्काएको खाना खाएर को को रोगी हुन्थे । कल्लाई के के रोग लाग्थे । अनि भन्थे खै त बाबा म महिनावारी भएको बेला मैले पकाएको खाना खाएर तपाईलाई केहि रोग त लागेन नि ? म पूजा कोठामा गएर भगवानको पूजा गर्थेँ । हेर्थेँ मैले भगवानलाई पूजा गरेर घरमा के अशुभ हुन्छ । घरमा सत्यनारायणको पूजा लाउँदा यदि म महिनावारी भएको समय प¥यो भने कसैलाई नभनि म पूजामा पनि बस्थ्ये र त्यो पूजा कसरी असफल हुन्छ हेर्थेँ । कृष्ण जन्माष्टमीमा ब्रत बसिदिन्थे मजाले फलफूल, दुध जस्ता पोषिलो खाना खाएर । घरमा के अशुभ हुन्छ हेर्थेँ । कसैका घरमा मान्छे मर्दा दुःख मनाउन पनि जान्थे । म दुःख मनाउन गएर के अशुभ हुन्छ वा के कस्तो खराब हुँदोरैछ हेर्थेँ । वर्षमा एकपटक आउने दशैंमा ठूलाहरुको हातबाट टिका थाप्ने र उहाँहरुबाट आशिर्वाद लिने बेला महिनावारी भयो भन्दैमा म त्यो अवसरबाट चुक्ने थिएन । अनि तिहारमा दाजुभाईलाई भाइटिका गर्न मलाई यो महिनावारीले रोक्ने थिएन । म महिनावारी भयो भनेर घरको कुनै एक कुनामा गएर रोएर वा चित्त दुखाएर अफसोच मनाएर बस्ने र आफैलाई दोषी मान्ने वाला पनि थिएन । म भरपूर आनन्द लिन्थेँ । म कुनै पनि अवसरमा महिनावारी पछि सार्ने औषधी खाएर आफुलाई अस्वस्थ बनाउने दुश्कार्य गर्दिनथेँ । भगवानको प्रसाद पनि मजाले खाइदिन्थे । किनकि हामी पनि यो ब्रम्हाण्डमा उनैको सृष्टि हो नि । उनैले नै यो सृष्टि सञ्चालनको जिम्मा हामीलाई दिएको हो । त्यसैले म त यसमा गर्व गर्थेँ र सम्मानित महिनावारीको लागि अभियान चलाउन्थे । महिला भएर जन्म भएकोमा नै म आफूलाई भाग्यमानी ठान्थेँ । सृष्टि सञ्चालनका क्रममा हामीमाथि कुनै भेद थिएन । किनकि हाम्रो संस्कृतिमा नारी सबैलाई देवी मानिन्छ र पूजा गरिन्छ । लक्ष्मीलाई धनको देवी, सरस्वतीलाई ज्ञानको देवी र भगवतीलाई शक्तिको देवी भनी पुज्ने हाम्रो समाजमा महिलाको महिनावरीलाई पुज्ने प्रचलन ल्याउन्थे । नारी शब्दको अर्थ नरको स्त्री वाचक शब्द वा नारी (जसका शत्रु छैनन्) भन्ने हुन्छ । सनातन परम्परामा नारीलाई प्रकृति, पूज्या, शोभा र आधार मानिन्छ । हाम्रो संस्कृतिमा नारीको क्षता तथा अक्षता दुबै स्वरुप पूज्य छन् । सनातन हिन्दू धर्ममा आमा, दिदी, बहिनी, छोरी, भाञ्जी मात्र होइन पत्नी र बुहारीको रुपमा पनि नारीको पूजा र सम्मान हुन्छ । बाँकी, पुरुषद्वारा शक्तिको आडमा उहिलेदेखि हामीमाथि थोपारिएको भेदभावहरु मात्र हो । परम्पराको नाउँमा पितृसत्ताबाट निर्देशित हाम्रो समाजमा महिलाभन्दा पुरुष सर्वश्रेष्ठ छन्, विशेष छन्, माथि छन् भन्ने देखाउने केवल खोक्रो आडम्बर मात्र हो । पहिलेदेखिको यो रुढिवादी विचारले हाम्रा हजुरआमा, आमा अनि दिदीहरुको सोच्ने क्षमतामा पनि यहि अन्धविश्वासयुक्त कालो बादलले बिर्को लगाइदियो। पूरै दिमाग त्यहि रुढिवादी सोचले भरिदियो । दिमागमा कँहि ठाउँ नै खाली नहुने गरी पितृसोचले पूर्णविराम लगाइदियो । फलस्वरुप उहाँहरु यसबाट माथि उठ्न सक्नु भएन मात्र होइन मेरो सोचलाई समेत सत्य हो भन्न सकिरहनु भएका छैनन् । तर यसको अर्थ यो होइन कि म पनि यसैमा पिल्सिरहुँ, गलत रुढिवादी अनि परम्पराको नाउँमा पीडित भइरहुँ । यो मबाट सम्भव छैन। त्यसैले म आफ्ना समकालीनलाई सम्झाउथ्ये बुझाउथ्ये होला अनि परिवार, समाजमा सबैलाई बुझाउथ्ये, सम्झाउथ्ये होला । जबसम्म हामी यस किसिमको भेदभावपूर्ण व्यवहारबाट माथि उत्रिन सक्दैनौं, जबसम्म हामीले यस्ता अन्धविश्वासलाई त्याग गर्न सक्दैनौ, हामी पुरुषको दासी मात्र हुनेछौं, उनीहरुले बनाएको नियम कानूनरुपी पितृप्रधान परम्परागत अन्धविश्वासको सिकार मात्र हुनेछौं। यसले महिला र पुरुषबीचको असमान सम्बन्धलाई मलजल मात्र गर्नेछ । यसले हामी महिलाहरुको सोच्ने क्षमतामा नकारात्मक प्रभाव पार्छ । हामी सधै पछाडिका पछाडि मात्र रहनेछौं। असमानता रुपी परिवार र समाजको स्रोत मात्र हुनेछौं । यस किसिमको असमानपूर्ण सम्बन्धले हाम्रो परिवार, समाज अनि देशमा असमानताको मात्र सृजना गर्नेछ विकासको होइन । कानूनमा जे जस्ता व्यवस्थाहरु हाम्रो पक्षमा बने तापनि कार्यान्वयन गर्ने ठाउँमा पुरुषको वर्चस्व हुँदा हाम्रो अधिकार, स्वतन्त्रता सब त्यो लेखाइमा मात्र सीमित रहनेछन् । अतः सकारात्मक परिवर्तनको खाँचो छ। यसको लागि म महिनावारीलाई कमजोरमा होइन शक्तिमा बदल्थेँ होला । अन्धविश्वासयुक्त रुढिबादी सोच अनि व्यवहारबाट माथि उठ्न हरपल प्रयास गर्थे होला, सरकारलाई विद्यालयतहदेखि लैङ्गिक, यौन एवं प्रजननचक्र लगायत पारिवारिक शिक्षा सम्बन्धी पाठ्यक्रमको विकास गरी मानिसको मानसिकता एवं व्यवहारमा समयानुकुल परिवर्तन गरि समानता, मर्यादित एवं सम्मानित जीवन सहितको परिवार, समाज र राष्ट्रको विकास गर्न घचघच्याउथ्ये होला । के यसको पहल अब महिला भएर महिलाले मात्रै गर्नुपर्ने हो र ? के तिमी पुरुष भएर महिलाहरुमाथि भैरहेको अन्यायविरुद्धमा सोच्न सक्दैनौ र ? आवाज उठाउन सक्दैनौ र ? के आफ्नो व्यवहारमा परिवर्तन ल्याउन सक्दैनौ र ? के महिला तिम्रा आमा, दिदीबहिनी, श्रीमती अनि छोरी होइन र ? हामीहरुमाथि भएको अन्याय अनि भेदभावपूर्ण व्यवहारलाई एकपटक आफ्नै आमा, दिदीबहिनी अनि श्रीमती वा छोरी भएर महसुस गर्न सक्दैनौ र ?

क्रमशः ......

(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments