लावण्य÷साँखु । हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा र योमरी पुन्ही मनाइँदैछ । नयाँ धान भित्र्याएको खुसियालीमा ‘धान्य पूर्णिमा’ मनाउने परम्परा छ । भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भनिएको हो । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुअघि सबैभन्दा पहिला कूल देवता, पितृ देवता र देवी–देवतालाई चढाएपछि मात्र आफूले खाने परम्परा छ । नेवार समुदायले यो दिनलाई योमरी पुन्हीका नामले मनाउने गर्छन् । नेवार समुदायमा विशेष किसिमको तिल, चाकु र खुवा राखेर बनाइएको चामलको परिकार योमरी खाने चलन छ । यो अवसरमा लक्ष्मी, कुवेर, कुमार तथा गणेशको पूजा गर्ने चलन छ ।
सोही दिन क्षेत्री समुदायले समेत देवाली पूजा गरि यो चाड मनाउने परम्परा रही आएको छ । उनीहरुले विभिन्न परिकार बनाएर खानुका साथै यस दिन भोज भतेर गर्दछन् ।
यस्तै किराँत धर्मावलम्बीले आज उधौली पर्व मनाउँदै छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापु संस्कृति नेपालको मौलिक संस्कृति भएको उल्लेख गर्नुभएको छ । योमरी पुन्हिका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । नेपाल बुहजातीय, बहुधार्मिक बहुभाषिक देश भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विविध जातीका विविध संस्कृतिले नेपालीलाई एकताको सूत्रमा बाँधेको उल्लेख गर्नुभएको थियो । यस्तै प्रधानमन्त्री ओलीले किराँत धर्मावलम्बीहरुको चाड उधौली तथा चासोक तङनामका अवसरमा शुभकामना दिंदै नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नु पर्ने बताउनुभएको छ । नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्वहरु पर्यटकीय आकर्षणका केन्द्र हुन सक्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्रीले जारी गरेको वक्तव्यमा मौलिक चाडपर्वहरुको अवसरमा चाडपर्व मान्ने जाति जनजातिहरुमा शुभकामना व्यक्त गरिएको छ ।
0 Comments
Thanks for your concerns