भारतबाट आयात हुने क्लिंकर रक्सौलमा गरिएको हडतालका कारण नेपाल आउन सकेको छैन । सोही कारण देखाउँदै मूख्य निर्माण सामग्री सिमेन्ट भाउ बोराको तीस रुपैयाँदेखि सय रुपैयाँ सम्म बढाईएको छ । अर्कोतिर चिनमा कच्चा पदार्थको भाउ बढेको भन्दै अर्को प्रमुख निर्माण सामग्री डण्डीको भाउमा पनि दश रुपैया किल्लो बढाइएको छ ।
वर्षातको समयमा भन्दा जाडोको सिजनमा आम उपभोक्ताहरुले घर बनाउन सुरु गर्ने समयमै यसरी भाउ बढाउँदा आम उपभोक्ताहरु मारमा परेका छन् ।
अर्कोतिर उत्पादकहरुको आफ्नै गुनासा छन् । भारतबाट ल्याउने क्लिंकर उतै महँगो हुनु । जाडोमा पर्याप्त विद्युत नभई जेनेरेटर चलाएर उत्पादन गर्न पर्नु, डिजेल महँगो हुँदा ढुवानी भाडामा समेत प्रभाव पर्नु लगायतका समस्याहरुको उनीहरुको छ ।
त्यसमाथि सरकार परिवर्तन हुने स्थिति भएको कारण अहिले सरकारको नजर क्लिंकर ढुवानी रोकिएको विषयमा परेको छैन । नयाँ सरकार गठन हुन करिब १ महिना भन्दा बढी लाग्ने अनुमान गरिँदैछ । यस्तो अवस्थामा आम उपभोक्ताहरुलाई राहत दिने काम हाल कायम रहेको सरकारकै हो ।
अर्कोतिर पुनर्निर्माण प्राधिकरणले समेत भूकम्पप पीडितहरुलाई पौष मसान्तसम्ममा डिपीसी गर्नुपर्ने नभए दोस्रो किस्ता नपाउने उर्दी जारी गरिएको स्थिति रहेको छ । भूकम्प पीडितहरु यसै पीडित थिए नै । अझ उनीहरुको घाउमा नुन चुक छरेजस्तै एकातिर पौष मसान्त सम्ममा डिपीसी गर्नैपर्ने उर्दी जारी हुनु अर्कोतिर सीमेन्ट, डण्डी, बालुवा, गिट्टीको भाउ महँगो हुनुले थप पिडामा पार्ने काम भएको छ । यतातर्फ सरोकारवाला सबै निकाय, सरकार एवं पुनर्निर्माण प्राधिकरणको समेत ध्यान जानु आवश्यक छ । निर्माण सामग्रीहरुमा सीजनमा यसरी भाउ बढ्नुलाई मिलिभगत वा कार्टेलिङको रुपमा हेरिएको छ ।
अझ आम उपभोक्ता एवं सर्वसाधारणले त यसमा दलहरुकै मिलिभगत देखेका छन् । उनीहरुले चुनावको लागि व्यापारीहरुसँग उठाएको चन्दाको बदलामा अहिले भाउ बढाउन दिएका हुन् भन्ने आम सर्वसाधारणको कथन पाइएको छ ।
लावण्य सन्देश वर्ष ७ अंक २८ को सम्पादकीयबाट
0 Comments
Thanks for your concerns