कस्तो थियो मेरो ससुराली सोभियत संघमा त्यसबेला–३


ई. राजदास श्रेष्ठ
हो सोभियत संघमा कल–कारखानाहरुमा महिनाको दुई चोटी तलब दिईन्थ्यो । महिनाको दोस्रो सप्ताहान्त तिर पेश्की (एडभान्स) भनेर २५–३० प्रतिशत जति पैसा दिन्थ्यो भने महिनाको अन्त्यमा हिसाब गरेर प्रत्येक कामदारलाई उस्को बाँकी रकम दिइन्थ्यो ।
रुसी भाषामा पहिलो किस्तालाई “एभान्स” भनिन्थ्यो भने पछिल्लो बाँकी तलबलाई “पलुच्छका” भनिन्थ्यो ।
एभान्स र पलुच्छका पाउने दिन कामदारहरु धेरै खुसी हुन्छन् बिहान काममा आएदेखि र साँझ आफ्नो काम सकिएपछि नुहाईधुवाई गरेर आफ्नो आफ्नो ४–५ जनाको गु्रप मिलेर केही खानेकुरा (प्रायः सबैले घरैबाट बोकेर ल्याएका हुन्थे) र दुई चार बोटल भोड्का राखेर खुशियाली मनाउने गर्थे ।
सोभियत संघमा प्रायः सबै कलकारखानाहरु तीन सीफ्ट गरेर २४ सै घण्टा चलाउन्थ्यो । म सोभियत संघमा हुँदा १९७० को दशकमा सोभियत संघ र अमेरिका बीचको शीत युद्ध चरम उत्कर्षमा चलिराखेको थियो । यो शीत युद्ध आर्थिक क्षेत्रमा, साँस्कृतिक क्षेत्रमा, साहित्यिक क्षेत्रमा, विज्ञान तथा प्रविधि क्षेत्रमा र सबभन्दा धेरै सामरिक हात–हतियार उत्पादन क्षेत्रमा थियो । अन्तरिक्ष अन्वेषणमा पनि यो युद्ध चलिरहेको थियो । अन्तरिक्ष अन्वेषण र अन्तरिक्ष जगतमा को पहिले जान सक्छ भन्ने विषयमा पनि ठूलो प्रतिस्पर्धा र्भैरहेको थियो ।
सन् १९६१, अप्रिल १२ मा अन्तरिक्ष यात्री यूरी गागरीन सहितको अन्तरिक्ष यान भोस्टोक १ को सफल प्रक्षेपणले सोभियत संघ अन्तरिक्षमा प्रवेश गर्ने प्रथम राष्ट्र भयो र त्यसपछि सन् १९६३ जुन १६ मा प्रथम महिला अन्तरिक्ष यात्री भालेन्टिना टेरेस्कोभाले गरेको सफल अन्तरिक्ष यात्राले विश्वमा तहल्का मच्चाई दिएको थियो ।
प्रथम महिला अन्तरिक्ष यात्री भालेन्टिना टेरेस्कोभाले नेपालको पनि मैत्रीपूर्ण सौहार्द्रपूर्ण भ्रमण गर्नुभएको थियो र सोभियत संघमा टेरेस्कोभा रुसी नेपाल मैत्री समाजको अध्यक्ष पनि रहनुभएकी थिइन् ।
भालेन्टिना टेरेस्कोभाको नेपाल भ्रमण पछि सन् १९७० को अन्त्यतिर अर्का सोभियत अन्तरिक्ष यात्री यूरी मालिशेभले पनि नेपाल भ्रमण गर्नुभएको थियो एक ठूलो सोभियत साँस्कृतिक प्रतिनिधिमण्डल (डेलिगेसन) सहित ।
अन्तरिक्ष अन्वेषण र सामरिक हातहतियारको उत्पादनमा जस्तै औद्योगिक र कृषि उत्पादनमा पनि अग्रस्थान हासिल गर्ने लक्ष सहित अगाडि बढिरहेको थियो । तत्कालिन सोभियत संघ आफ्नो पञ्चवर्षीय योजनाहरु लागू गदै ।
सोभियत संघको औद्योगिक कृषि उत्पादन सबै केन्द्रिकृत थियो र केन्द्रबाट उत्पादनका कोटाहरु निर्दिष्ट हुन्थे । प्रत्येक वर्ष उत्पादनका कोटाहरु बढाउँदै लाने गर्दथे, तर केन्द्रबाट निर्देशित लक्ष पूरा गर्न स्थानीय कृषि तथा औद्योगिक प्रतिष्ठानहरुलाई जनशक्ति र विकसित औद्योगिक उपकरणहरुको अभावले गर्दा गाह्रो हुन्थ्यो ।
समाजवादी प्रतिस्पर्धाको नाममा कृषि तथा औद्योगिक उत्पादनको लक्ष पूरा गर्ने कृषि फार्म तथा उद्योगहरुलाई उच्च पुरस्कार दिने नीति थियो । र प्रतिस्थानका निर्देशकहरु पनि पुरस्कृत हुने गर्थे यदि निर्देशित लक्ष पूरा गरेको खण्डमा र लक्ष पूरा नभए निर्देशक र हाकिमहरु दण्डित हुने गर्थे ।
यस बाध्यात्मक व्यवस्थाले गर्दा तत्कालिन सोभियत अर्थतन्त्रमा सकारात्मक भन्दा नकारात्मक प्रभाव परेको मैले अनुभव गरेँ ४–५ वर्षको आफ्नो बसाईमा मेरो ससुराली सोभियत संघमा ।
सोभियत संघको केन्द्रिय नेतृत्वलाई सोभियत संघको औद्योगिक तथा कृषि उत्पादन संयुक्त राज्य अमेरिकाको भन्दा बढी भएको देखाउनु थियो जसरी पनि । तर व्यवहारिकरुपमा त्यो सम्भव थिएन तत्कालिन सोभियत अर्थतन्त्रको संरचना र सोभियत संघले विज्ञान तथा प्रविधि क्षेत्रमा गरेको विकासको आधारमा ।
सामरिक हातहतियारको उत्पादन तथा अन्तरिक्ष यानहरुको निर्माण प्रविधिमा संयुक्त राज्य अमेरिकासँग कडा प्रतिस्पर्धा रहे पनि दैनिक उपभोग्य वस्तुहरुको औद्योगिक उत्पादन तथा कृषि उत्पादन दुवै क्षेत्रमा पश्चिमा युरोपियन देशहरु र अमेरिकाको दाँजोमा सोभियत संघ पछाडि नै परेको कुरा मैले प्रत्यक्ष अनुभव गरेको थिएँ । सोभियत उपभोक्ताको बजार व्यवस्था हेर्दामा केही औद्योगिक प्रतिस्ठानहरुमा प्रत्यक्ष संलग्न भई काम गरेको आधारमा ।
स्थानीय प्रतिष्ठानहरुको वास्तविक अवस्थाको सही मूल्यांकन विना नै सोभियत केन्द्रिय नेतृत्वबाट केवल अमेरिकाको अगाडि आफ्नो अग्रस्थान देखाउने हिसाबले जुन कोटा निर्धारण गरेर पठाइन्थ्यो । त्यो नै मूख्य गलत काम थियो । तर केन्द्रिकृत अर्थ व्यवस्थाले गर्दा स्थानीय कृषि तथा औद्योगिक उत्पादन केन्द्रका निर्देशकहरु निरिह अवस्थामा देखिन्थे र आफ्नो पद र प्रतिष्ठाको रक्षार्थ उनीहरु आफ्ना प्रतिष्ठानका कर्मचारीहरुमाथि उत्पादन बढाउन दबाव दिन बाध्य हुन्थे ।
र यो पनि यौटा कारण हो कि सोभियत संघमा पढिरहेका मजस्ता विद्यार्थीहरुलाई त्यस्ता उद्योगहरुमा सजिलै काम दिन्थे ता कि आफ्नो उत्पादनमा केही वृद्धि गर्न सकोस् र केन्द्रबाट निर्दिष्ट लक्ष हासिल गर्न सकियोस् ।
तर हामी जस्ता अनुभव र दक्षता हासिल नभएका कामदारहरुको अस्थायी नियुक्तिले कुनै औद्योगिक उत्पादनमा केही वृद्धि भएपनि गुणात्मक हिसाबले त्यो लक्ष सही तवरमा पूरा भएको मान्न सकिँदैन ।
यही पनि यौटा कारण थियो कि सोभियत संघमा दैनिक उपभोगका सामानहरु यथेष्ट रुपमा उपलब्ध भएपनि ती सामानहरुको गुणस्तर पश्चिमा देशहरुको गुणस्तरभन्दा कम नै भएको देखिन्थ्यो ।
लत्ता कपडा लगायत अन्य उपभोग्य सामानहरुको गुणस्तरले गर्दा सोभियत नागरिकहरुमा आफ्नो देशको सामान भन्दा परदेशी सामानमा मोह बढ्दै गयो र यसले सोभियत नागरिकमा एक प्रकारको हीनताबोधको भावना पनि जागृत भयो ।
कृषि तथा औद्योगिक प्रतिष्ठानहरुमा यथेष्ट जनशक्तिको अभाव खट्किरहेको थियो भने वैज्ञानिक अनुसन्धानमा पनि कमी कमजोरी धेरै थिए । सन् १९६० को दशक सम्म सोभियत संघले कम्प्युटर सिस्टमको विकासमा खासै ध्यान दिएन जब कि पश्चिम युरोप र अमेरिकामा कम्प्युटर प्रविधिको व्यावहारिक प्रयोग गरी औद्योगिक तथा कृषि क्षेत्रमा ठूलो फड्को मारिसकेको थियो ।
दोस्रो विश्वयुद्धको प्रभावले गर्दा सोभियत संघले औद्योगिक तथा कृषि उत्पादनमा धेरै कठिनाई भोगिरहेको कुरा सही हो र औद्योगिक उत्पादनको गुणस्तरमा भनदा पनि संख्यात्मक उत्पादनमा जोड दिनु उसको बाध्यता थियो । सम्पूर्ण सोभियत जनतालाई गाँस, बास र कपासको उचित व्यवस्था गर्नुको साथ साथै निःशुल्क शिक्षा र स्वास्थ्य उपलब्ध गराउनु उसको पहिलो कर्तव्य थियो ।
त्यसमाथि संयुक्त राज्य अमेरिका लगायत पश्चिम युरोपका देशहरुले सोभियत व्यवस्था नै निर्मूल गर्ने जुन लक्ष्य सन् १९१७ को महान अक्टोबर क्रान्ति भएदेखि नै लिईराखेको थियो यसले सोभियत संघ र अमेरिकाबीच लामो दूरीको शीत युद्धको थालनी भयो । यही युद्धको कारण सोभियत संघलाई सामान्य उपभोग्य वस्तुहरुको गुणस्तरीय उत्पादनमा भन्दा सामरिक हात हतियारहरुको उत्पादनमा आफ्नो स्रोत र साधन बढि खर्चिनु परेको थियो । र सर्वसाधारणको लागि दैनिक उपभोग्य वस्तुहरुको गुणस्तरीय उत्पादन गर्नमा स्रोत साधन यथेष्ट मात्रामा उपलब्ध गराउन सकेन । र वैज्ञानिक अनुसन्धानमा यथेष्ट ध्यान नदिईकनै उत्पादन बढाउँदै लाने जुन केन्द्रिकृत पञ्चवर्षीय योजनाहरु लागू गर्दै गए त्यसमा धेरै विसंगतिहरु उत्पत्ति भए ।
जस्ले गर्दा सोभियत जनजीवनमा चौतर्फी प्रतिकूल असर परे । र जनजीवन कठोर हुँदै गए, अनि जनमानसमा असन्तुष्टी पैदा भए । यही असन्तुष्टी र आवश्यक उपभोग्य वस्तुहरुको अभाव र गुणस्तरहीन वस्तुहरुको उत्पादनले गर्दा सोभियत अर्थतन्त्रमा ह्रास आउँदै अन्ततः सोभियत संघ नै विघटन हुने स्थिति सृजना भयो ।
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)

Post a Comment

0 Comments