रातो थोप्लोमा साँखु क्षेत्रमा उत्खनन् भएका सार्वजनिक ठाउँहरु
२०७८ फाल्गुन ३ गते
लावण्य/साँखु । शंखरापुर नगरपालिकामा भएको सार्वजनिक जग्गा अतिक्रमण र प्राकृतिक स्रोतको दोहनविरुद्ध जसपा नेपाल र माओवादी केन्द्रले मुख खोलेको छ ।
जनप्रतिनिधिकै संलग्नतामा नगरभित्रका सार्वजनिक जग्गा उत्खनन् भएको, जंगल फाँडिएको विरोध भएपछि माओवादी केन्द्र शंखरापुर नगर कमिटीले दोषीमाथि कारबाहीको माग गरेको हो ।
मंगलबार नगर कमिटी अध्यक्ष मधु केसीले विज्ञप्ति जारी गर्दै नगरभित्र प्राकृतिक प्रकोप निम्त्याउने गरी भएका कार्य तत्कालन बन्द गर्दै त्यस्ता कार्यमा संलग्न जनप्रतिनिधिलगायतलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
उनले भनेका छन्, ‘गैरकानूनी रुपमा सञ्चालन भएका माटो बालुवा खानी र घडेरी सम्याउने नाममा दिएका प्लानिङहरुलाई बन्द गरी कानूनी कठघरामा उभ्याउन जोडदार माग गर्दछु ।’
केसीले नगर प्रमुख सुवर्ण श्रेष्ठ र वडा अध्यक्षसहित जनप्रतिनिधिले प्राकृतिक स्रोतको संरक्षण गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको दाबी गरेका छन् ।
उनले भनेका छन्, ‘घडेरी सम्याउने नाममा दिइने (प्लालिङ) थोरै जग्गाको स्विकृति लिने र प्लानिङ वालाले सम्याउन पाएको अनुमतिभन्दा धेरै सम्याएको प्लानिङ गरेको पाइएकोले स्थानीय प्रतिनिधिहरुले ध्यान नदिएको व्यापक जनगुनासो आएपछि रोकी कानूनी दायरामा ल्याउन वडा अध्यक्षहरु र नगर प्रमुखले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कुरा प्रष्ट देखिन्छ ।’
शंखरापुरमा क्रियाशिल अरु राजनीतिक दलले अहिलेसम्म अतिक्रमणको मौन समर्थन गर्दै विरोध गरेका छैनन् ।
नगरपालिका क्षेत्रमा प्रमुख श्रेष्ठले कानुन विपरीत सार्वजनिक जग्गा क्रसर तथा वासिङलाई उत्खनन् गर्न दिएका छन् । जसका कारण बज्रयोगिनी शालिनदीजस्ता धार्मिक तथा ऐतिहासिक महत्वका क्षेत्रको प्राकृतिक स्वरुप नै बिग्रन थालेको स्थानीयको गुनासो छ ।
जसपाको विज्ञप्तीमा के छ ?
जसपा नेपालको तर्फबाट शंखरापुर इन्चार्ज माधव प्रसाद श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिकाको सम्पूर्ण वडाहरुमा व्यापक रुपमा अनियमित ढंगले माटो बालुवा, ढुंगा, वन जंगल जस्ता प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन भइरहेको सम्बन्धमा मेरो पार्टीको आधिकारिक धारणा प्रस्तुत गरेको छु ।
डाँडा पाखा वन जंगल, नदिनाला, खनिज प्राकृतिक, जस्ता प्राकृतिक सम्पदा विना हामीहरुको जीवन सम्भव छैन । प्राकृतिक सम्पदा, मानव जीवन, वनस्पति एवं प्राणी जगत बीच परस्पर सम्बन्ध रहेको छ । जसले गर्दा प्राकृतिक सम्पदा संरक्षण र सम्वद्र्धन गर्नु आजको आवश्यकता हो । जहाँसम्म शंखरापुर नगरपालिकाको विभिन्न वडाहरुमा अनियन्त्रित रुपमा डाँडा पाखा भत्काइ, वन जंगल बिनागरी विश्व सम्पदामा सुचिकृत गर्न प्रस्तावित बज्रयोगिनीको मन्दिरसम्म असुरक्षित हुने गरी खानी सञ्चालन गर्ने नाममा गैरकानुनी रुपमा माटो, बालुवा, ढुंगा जस्ता खनिज पदार्थको अनियन्त्रित दोहन भइरहेको छ । जस्ले गर्दा बाढी, पहिरो, अतिवृष्टी , अनावृष्टी, भू–क्षय जस्ता प्राकृतिक विपत्ती निम्तिने खतरा भइरहेको एकातिर छ भने अर्कोतिर नदिनाला तथा खानेपानीका मुहानहरु सुक्न थालेको छ । सिंचाइको अभावमा यहाँका कृषि योग्य जग्गाहरु बाँझो रहने र खानेपानीको अभावमा गाउँनै विस्थापित हुनु पर्ने प्रष्ट देखिन्छ ।
साथै उहाँले विज्ञप्तीमा प्राकृतिक सम्पदा संरक्षण र सम्वद्र्धनको लागि जे जे गर्नुपर्ने कार्य गर्न जनता समाजवादी पार्टी सदैव तत्पर रहेको जानकारी गराउनुभएको छ ।
0 Comments
Thanks for your concerns