जामन गुर्जु र साँखुको प्रशंग

अष्टसिद्धिको तन्त्र विद्या जान्ने मन्त्रसिद्धिहस्त व्यक्तिहरुलाई नेपाल मण्डलमा परापूर्वकालदेखि जामन गुर्जु भन्ने चलन रहेका छन् । जमनको नेवारी अर्थ भात नखाने हुन आउँछ  मन्त्रसिद्धि प्राप्त व्यक्तित्वहरुले सर्वसाधारणले पकाएर खाएको जस्तो भात खान नहुने परम्परा पनि चलनचल्तीमा छन् । उनीहरुले भिजाएको चामल घ्यूले मोलेर वाफ प्रणालीबाट पकाएको पुलाउजस्तो भूजा खाने गर्दछन् । नेवारी भाषामा त्यस्तो खानालाई हाजा भनिन्छ । जामुना गुर्जु जामन गुर्जुको अपभ्रंश शव्दावली हो ।
जामुना गुर्जुहरुले डोकामा पानी भर्न चेलाहरुलाई ढुंगेधरामा पठाउनु र पानी डोकामा भरेर घरको भकारी पानीले भर्न लगाउनु, कपासको हाँस जोडी बली दिन स्वयम्भूका जामुना गुर्जुले साँखु बज्रयोगिनीमाईका जामुना गुर्जुलाई छक्याउन पठाउन्छन् भने साँखुकाले टोकरीमा पानी भरि हाँसलाई पौडी खेलाएर “यो बच्चै छ पूजा चलाउनु हुँदैन ठूलो भई हुर्काएर ल्याउनु” भनि आ–आफ्ना चमत्कारी पूर्ण सिद्ध विद्याको प्रयोग गर्दथे ।
त्यस्तै चटकीको चटकलाई पराजित गर्न भाग लगाई राखेको मुटुलाई साँखुका जामन गुर्जुले चिल बनेर झम्टेर लगेको र मुटु फिर्ता माग्न जामन गुर्जुको घरमा जाँदा आमाचाहिँले दुई खुट्टा बालेर रक्सी पारिरहेको दृश्य देखेर चटकी झस्केको कथा प्रसंगहरु छन् ।
जामनगुर्जु बाख्रलाई अजंगको पिपल रुखको टुप्पो खुट्टाको आँैलाले च्यापेर निहुराएर स्याउला खुवाउँदै गरेको देखेर क्षमा माग्दै मुटु फिर्ता दिन आग्रह गर्दा बाख्राहरुलाई पेटभरी स्याउला खुवाई राख्नु भनि रुखको हाँगो समाउन दिएर गुर्जु हिँडेछन् । गुर्जु देखुञ्जेल निहुरिरहेको रुखको हाँगो गुर्जु फर्कँदा चटकी नै हाँगो समाएर रुखको टुप्पामा झुण्डिरहेको देखेर हाँस्दै विस्तारै तल झारेर चिल बनेर झम्टेर ल्याएको मुटु दिई फर्काएका प्रसंगहरु पनि जनमानसमा व्यापक रुपमा सुनिने सुनाईने गरिएको पाइन्छ ।
पछि श्रीमतीको आग्रहमा अजिंगरको रुप धारण गर्दा पुनः मानिसमा फर्कन नसक्ने गरी पूजा गर्नुपर्ने अक्षतानै खाईदिँदा श्रीमती पन अजिंगर नै बनेर पोखरीमा बसी आजसम्मन आफ्ना दिनचर्या गर्दैछन् भन्ने बिश्वासले साँखुमा दुध पोखरी स्थान बज्रयोगिनीमा वर्षेनी मेला लाग्ने गर्दछन् । साँझपख खाना पकाएको भनी दुधपोखरी ईलाकामा धुवाँ आएको देखेपछि साँखुलेहरुले आजसम्म पनि जामन गुर्जुले खाना पकायो हामी पनि चाँडो खाना पकाऔँ भन्ने प्रचलन छन् । दाउराबाली खाना पकाउने प्रचलन हराएसँगै यी भनाई पनि हराएरै गएका छन् । काठमाडौँ उपत्यकाका अन्य जामन गुर्जुहरुको चर्तिकलाबारे छोटकरीमा सुनिएका कुराहरु यस्ता छन् ।
१) मञ्जुश्री – स्वयम्भू र मञ्जुपतन निर्माता, २) शान्तिकराचार्य – स्वयम्भू चैत्य निर्माणकर्ता, ३) बन्धुदत्ताचार्य – कामारुकाक्षाबाट रातो मत्स्येन्द्रनाथ नेपाल ल्याई पाटनमा जात्रा चलाएको, ४) शाश्वतबज्र – भद्रकाली र महाँकाल स्थापना, ५) अग्निधर बज्र – बज्रयोगिनी स्थापना जस्लाई बाचासिद्धी र ज्ञानाचार्य पनि भनिन्छन्, ६) शिवानन्द आचार्य – भक्तपुर रक्षार्थ बाघ बनी किराँतहरुलाई धपाएका, ७) लिलाबज्र – यौटै रुखको काठबाट काष्ठमण्डप निर्माण तथा नालेन्दा विश्वविद्यालयका प्राध्यापक (जन्म साँखु) ।
जामन गुर्जु र गुरुमाँंहरुको नाम क्रमशः यस प्रकार छन् । मञ्जुदेव, बाचासिद्धि, ज्योतिदेव, बज्रपाद, अगैदियान, शान्तिकर, बन्धुदत्त, सुरतबज्र, मञ्जुबज्र, लिलाबज्र, वाकबज्र, कान्छी गुरुमाँ .... आदि ।
ती गुरुहरु पशुपंक्षी बनेर हिँडडुल गर्ने, उडेर एक ठाउँबाट अर्को ठाउँमा जाने गर्दछन् । धामीधुँ भन्ने धामी बाघ बन्ने, अजिंगर, चिल आदि बनेर आ–आफ्नो चर्तिकला देखाएका छन् भने आगोको राम मार्ने, तातोपानीको शक्ति मार्ने, तताएको फलाम जिब्रोले चाट्ने, डण्डी भाँच्ने, सिक्री चुँडाल्ने, पूरै शरीर पानीमा डुबेर महिनौँ तपस्या गर्ने (जलाशयन), भूतप्रेतलाई वशमा पारी काममा लगाउने, किंचित भाषा बोल्ने (पशुंपंक्षीको भाषा), लामो बाटो छोट्याएर चाँडो पुग्ने रोग निको पारी दिने, देवी देवतालाई बशमा पार्ने, इच्छामरण हुने जस्ता शक्ति साधना गर्दछन् ।
यसरी आ–आफ्नो समुदायहरुमा पनि लामागुरु, धामी गुरु, झाँक्री गुरु, वीर खेलाउने, कूलदेवता जगाउने जस्ता, मस्ता सम्प्रदाय, जंघम सम्प्रदाय र सखी सम्प्रदायहरुमा पनि नेवार समाजहरुमा जस्तै जामन गुर्जु वा गुरुवाहरु नभएका होइनन् । ती गुरुवा र गुरुहरुले आ–आफ्नो क्षेत्रमा धार्मिक सम्प्रदाय फलाउन फुलाउन, समुदाय, कूल जगेर्ना गर्न, धर्म भाकल गर्न लगाउने कार्यमा संलग्न रहेका हुन्छन् । ती सबै गुरुवाहरु जामुना गुरुहरुजस्तै हुन् ।
(प्रतिक्रियाको लागि कजचभकतजबउप२ष्खिभ।अयm)

Post a Comment

0 Comments