नयाँ वर्षको शुभकामना !

वर्ष २०७० लाई विदा दिईसकेका छौँ र नयाँ वर्ष २०७१ को आगमनलाई हामीले स्वागत गरिसकेका छौँ । यस अवसरमा समस्त हाम्रा पाठक एवं ग्राहकवर्गहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ ।
प्रत्येक वर्ष नयाँ वर्ष आउँछन् जान्छन् यसले हाम्रा जीवनमा केही नयाँ आयामहरु प्रत्येक वर्ष ल्याएकै हुन्छन् । केही न केही परिवर्तनहरु प्रत्येक वर्ष हाम्रा जनजीवनमा, मुलुकमा, समाजमा भईरहेकै हुन्छन् । यसै क्रममा गत वर्ष दोस्रो संविधानसभाको चुनाव सफलतापूर्वक सम्पन्न भएको छ । जुन चुनावको परिणाम नेपाली काँगे्रस, एमालेको पक्षमा गएको छ । यस अघि पहिलो पार्टी भएको भनि दम्भले फुलेल भएका एमाओवादी पार्टी तेस्रो स्थानमा खुम्चिन परेको छ । यद्यपी राजनीतिमा यो सामान्य कुरो हो । कुनै पनि पार्टीले प्रत्येक चुनावमा जित्न सक्दैन । त्यसैले त आवधिक चुनाव हुनुपर्ने हो । यो चुनावले राप्रपा नेपाललाई पनि अन्य दलहरुलाई काउन्टर दिन सकिने गरि बलियो बनाईदिएको छ । मधेशवादी र माओवादी खुम्चिएको बेला यो पार्टीले भने करिब ७ गुणा सफलता हासिल गरेको छ । यसले आगामी दिनमा संविधानसभा र संसदमा केही फरक अवश्य पनि पार्नेछ ।
काठमाडौँ क्षेत्र नं. २ मा भने पुनः उपचुनाव हुँदैछ । असार ८ गते हुने भनिएको उक्त उप चुनाव नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई ठाउँबाट जितेपछि एक स्थान छाड्नैपर्ने बाध्यताका कारण काठमाडौँको चर्चित क्षेत्रलाई नै छाडेको हुँदा यस क्षेत्रमा पुनः चुनाव हुन लागेको हो । हुनतः प्रम सुशील कोईराला, वरिष्ठ नेता शेरबहादुर देउवा लगायतका नेताहरुले छाडेका क्षेत्रहरुमा समेत उपचुनाव हुँदैछ । तर पनि काठमाडौँ क्षेत्र नं. २ जहाँ कहिल्यै पनि काँगे्रसले चुनाव जितेन । यस क्षेत्रमा २०१५ को संसदीय निर्वाचनमा समेत नेपाली काँगे्रसले हार बेहोरेका थिए भने २०४६ पछि पटक पटक भएको चुनावमा सदैव नेपाली काँगे्रसले हार बेहोर्दै आएको छ । जसमा एक पटक झक्कुप्रसाद सुवेदीले जित्दा बाहेक सदैव एमालेले जित्दै आएको क्षेत्र हो यो । त्यसैले पनि यसपटक उपचुनावमा समेत नेकपा एमालेले जित्ने अनुमान गरिदैँ आएको छ । तर यो क्षेत्रमा मूलपानी गाविसका नारायण ढकालले बाहेक अन्य स्थानीयले चुनाव जितेका छैनन् । यसपटक सम्भवतः एमालेले स्थानीय उम्मेदवारलाई उठाउनेछ । यस्तो भएमा यसपटक पुनः स्थानीय उम्मेदवारले यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ । अहिलेसम्म यो क्षेत्रलाई नेकपा एमाले र नेकपा एमाओवादीले चुनाव जित्ने अनि यो क्षेत्र छाडेर अर्कैतिर लाग्ने परम्परा कायम गरेका छन् । यो पद्धतिलाई तोड्न पनि स्थानीय उम्मेदवारको आवश्यकता महसुस गरिएको हो । नयाँ वर्ष २०७० ले नेकपा एमालेका नेताहरुलाई सद्बुद्धि देउन् ।

Post a Comment

0 Comments