शंखरापुर–३ बोजेनी गाउँ अहिले तनावग्रत अवस्थामा छ । त्यहाँ दिनहूँ बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय निरन्तर नाराबाजी गर्दै एमसीसी परियोजना अन्तर्गतको अपर तामाकोशीको सबस्टेसन हटाउन र त्यहाँ ल्याईने विद्युतीय तारको सञ्जाल नराख्न माग गर्दैछन् ।
अर्कोतर्फ प्राधिकरणका निर्देशक कुलमान घिसिङ स्थानीयलाई यो सबस्टेसन स्थापनाको लागि भने जति पैसा दिएका छौँ, आन्दोलन गर्नुको अर्थ छैन भन्छन् । साथै सो स्थानमा सबस्टेशन बनाउनेबारे सार्वजनिक सुनुवाइ समेत गरेको दाबी गर्दै घिसिङले स्थानीयले गरेको माग अनुसार अन्यत्र सबस्टेशन सार्ने अवस्था नरहेको बताएका छन् ।
तर बोजेनीका स्थानीय भने हरेक दिन बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म सशस्त्र प्रहरी बलले सुरक्षा दिइरहेको यो ठाउँमा उभिएर नारा लगाउँछन् । “मर्ने एकचोटी हो”, सुरक्षाकर्मीतिर धारे हात सोझ्याउँदै भन्छन््, “हामीले हाम्रो जमिन जग्गा जोगाउँदा मार्छन् भने मारुन् ।”
काठमाडौंको शंखरापुर नगरपालिका–३ का पाँच वटा बस्ती बोझनी, पाख्रिन टोल, सोझे, ढोक्साङ, नारायण थान हप्ता दिनदेखि आन्दोलित छन् ।
स्थानीयले शान्तिपूर्ण आन्दोलन गर्दा पनि प्रहरी दमन भयो भनेर अहिले राष्ट्रिय मानवअधिकार आयोगमा समेत निवेदन दिएका छन् भने अर्कोतिर शंखरापुर नगरपालिकाले पनि प्रहरी दमन रोक्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
शुक्रवार शंखरापुर नगरप्रमुख रमेश नापितले प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, लप्सेफेदी–चाँगुनारायण सबस्टेशन निर्माण आयोजनालाई संयुक्त रूपमा ध्यानाकर्षण पत्र लेखेका छन् ।
मेयर नापितले भनेका छन्– “उक्त आयोजनाका सम्बन्धमा स्थानीय जनताबाट विभिन्न माग तथा दाबी राखी विगत केही दिन देखि शान्तिपूर्ण रूपमा भइरहेको प्रदर्शनमा प्रहरी प्रशासनबाट अवाञ्छित बल प्रयोग गर्ने, हात हतियार देखाई तर्साउने, धरपकड तथा घाइते हुने गरी अति बल प्रयोग भइरहेको प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
सम्पत्तिको हक, स्वतन्त्रताको हक जस्ता मौलिक हक एवम् मानव अधिकारको संरक्षण र संवर्धन गर्ने राज्यको दायित्वको मर्म र भावनाको प्रतिकुल तथा लोकतन्त्र र विधिको शासन एवम् नागरिक सर्वोच्चताको मर्मलाई नै गिज्याइरहेको उक्त कार्य निन्दनीय छ ।”
मेयर नापितले राज्य अभिभावक रहेको बताउँदै नागरिकले आफ्नो अभिभावकबाट संरक्षकत्वको अपेक्षा राखी शान्तिपूर्ण रूपमा गरिएको प्रदर्शनमा प्रहरी दमनले स्थिति थप अराजकता र नियन्त्रण बाहिर गई गम्भीर दुर्घटना निम्त्याउन सक्नेतर्फ सचेत गराउँदै यस्ता गतिविधिले आयोजना निर्माणमा थप अन्योल बढेर जान सक्नेतर्फ सचेत गराएका छन् ।
त्यसैगरी नेपाली काँगे्रसको भ्रातृ संगठन नेपाल तरुण दल काठमाडौँ क्षेत्रिय कमिटीले पनि जनतालाई प्रहर्ी लगाएर नतर्साउन भन्दै विज्ञप्ती निकालेर प्रहरी दमनको वरिोध गरेको छ ।
सामान्यतया राज्यले आम जनतासँग संवादको थालनी गर्नुपर्ने हुन्छ । सम्वादबाट नभएमा मात्रै कमसेकम बल प्रयोग गरि आवश्यकताको सिद्धान्त अनुसार कुनै पनि योजना, आयोजना लागू गर्नुपर्ने हुन्छ । तर स्थानीयको विरोधका बाबजुद प्रहरी प्रशासनको बलमा कुनै पनि आयोजना कार्यान्वयन गर्न खोज्नु भनेको “विनाशकाले विपरीत बुद्धी भनेझै मात्रै हुनेमा दुईमत नहोला ।”
https://www.facebook.com/100004521879973/videos/901494011211014/
0 Comments
Thanks for your concerns