माघ मेलाको तयारी अन्तिम चरणमा



व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर दियो जानकारी

– कृशु श्रेष्ठ –
१६ पौष शनिवार

लावण्य/साँखु । काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखुमा प्रत्येक वर्ष लाग्दै आएको श्रीमाधव नारायण व्रत तथा १ महिने माघ मेला, साली नदी मेलाको तयारी पूरा भएको छ । यही पुस  २२ गतेदेखि सुरु हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।

शुक्रबार साँखुमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष श्रेष्ठले शालिनदीमा एक महिने व्रत वस्न चाहने व्रतालुहरुको अधिक सेवा र सुविधाको लागि पहिले नै लगत संकलनको लागि नाम दर्ताको व्यवस्था गरिएको जानकारी दिनुभएको छ ।








व्रतालुहरूलाई साँखुबाट बाहिर परदेश (पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण स्थान) लगिने क्रममा आवश्यक सरसामान ओसार्नको लागि गाडीको व्यवस्था गर्ने, आवश्यक सरसहयोगका लागि नेपाल स्काउट सक्व क्रु लगायत बन्दोबस्तीका सामान सहित स्वयमसेवकहरु परिचालित गर्ने बताउनुभएको छ ।

साँखु सालीनदी पुग्नका लागि पर्याप्त बसहरुको व्यवस्था गर्ने, प्रत्येक  गाडीमा भाडादर समेत टाँसेर सेवा सुविधा दिने, सुरक्षाका लागि सालीनदी परिसरभित्र विभिन्न स्थानमा सिसिटिभी क्यामेराको व्यवस्था मिलाउनुका साथै सामुदायिक प्रहरी सेवा केन्द्र तथा महानगरीय प्रहरी प्रभाग साँखुको टोली परिचालन गरिने जानकारी दिइएको छ ।

यस्तै भक्तजनहरूका लागि स्वास्थ्यकर्मीहरू सहितको प्राथमिक उपचार कक्ष राखि निःशुल्क रुपमा औषधोपचारको व्यवस्था गरिने, भक्तजनहरूको लागि निःशुल्क खानेपानी वितरण गरिने, कोभिडको जोखिमलाई ध्यानमा राख्दै निःशुल्क मास्क र स्यानिटाईज वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

१ महिनासम्म लाग्ने मेलामा देश तथा विदेशबाट ३० देखि ३५ लाख सम्म धार्मिक पर्यटक आउने सालीनदी सुधार समितिले अपेक्षा लिएको छ । सालीनदीमा परापूर्वकालदेखि १ महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यो वर्ष पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुँदैछ । पत्रकार सम्मेलनमा विभिन्न मिडियाबाट गरी ६५ जना पत्रकारहरुको उपस्थिति रहेको थियो ।


व्रतालु संख्या करीब २ सय ५० पुगेको खबर प्राप्त भएको छ ।

Post a Comment

0 Comments