शीतलहर र सरकारी उदासिनता

 


वर्षेनी शीतलहरका कारण तराईका भू–भागमा दर्जनौँ मानिसहरुको ज्यान गएको हामीले देख्दै आएका छौँ ।

सरकारले शीतलहरबाट बच्नको लागि कुनै विशेष योजना अहिलेसम्म ल्याएको छैन । तराई मधेश नेपालको अन्न भण्डार पनि हो । यहाँका जमिनमा ३ बाली सम्म धान लगाउन सक्ने हुँदा प्रमुख बाली धानमा नेपाल आत्मनिर्भर हुनसक्ने ठाउँ पनि यही तराई मधेश मात्रै हो ।

तर विगत केही दशकदेखि यस भू–भागमा सरकारी उदासिनताका कारण यहाँका किसानले उचित मूआब्जा नपाउनुले धान खेति गर्ने किसान मर्कामा परेका छन् । साथै युवाहरु विदेश पलायन हुन थालेका छन् । जसले गर्दा नयाँ सीप सिकेर नयाँ ढंगले खेतिपाती गर्नेहरुको संख्या घट्न थालेका छन् । यसले गर्दा अहिले धानबाट उत्पादन हुने चामलकै लागि पनि छिमेकी राष्ट्र भारतमा निर्भर हुन पर्ने भएको छ । केही दशक अगाडिसम्म नेपाली चामल भारत पैठारी हुँदै आएको थियो । तर अहिले भने भारतीय ब्राण्डका चामल नेपाल निकासी भैरहेको छ ।

सरकारले नेपालको एक तिहाई भू–भागको समस्या, त्यो पनि वर्षेनी हुने समस्यामा समेत उदासिनता देखाउनुले सरकार प्रति यस भू–भागका जनताको बिश्वास गुम्दै गईरहेको छ । यसैको फलस्वरुप गत स्थानीय निर्वाचन र प्रदेश सभा एवं प्रतिनिधि सभाको निर्वाचनमा यस भू–भागमा रहेको प्रदेश नं. २ मा मधेशी दल राजपा र संघीय समाजवादी फोरमले प्रदेश सरकार बनाउन सक्ने गरि बहुमत प्राप्त गर्न सफल भएको छ ।

यहाँका जनताले केन्द्र सरकारबाट अपेक्षा नगरेपछि प्रदेश सरकारले यो समस्याको समाधान गर्नेमा बिश्वास गरेका छन् । तर यो वर्षको जाडोमा भने प्रदेश सरकार बन्ने छाँटकाँट नै छैन । जसले गर्दा तराई मधेशका जनतालाई “ढुंगो बोल्दैन राजा आउँदैन” भन्ने उखान चरितार्थ भएको छ ।

साथै भारतसँगको खुला सिमानाका कारण यो भू–भाग सामरिक महत्वको भू–भाग समेत हो । सरकारले यस भू–भागको भारतसँग जोडिएको सिमानामा सःशस्त्र प्रहरी खटाएको छ । तर त्यो पर्याप्त मात्रामा छैन । जस्ले गर्दा सीमा सुरक्षाको कुरा भगवान भरोसामा छाडिएको भान पर्छ ।

लावण्य सन्देश वर्ष ७ अंक ३० को सम्पादकीयबाट

Post a Comment

0 Comments