नेपाल विभिन्न जातजाति र संस्कृतिले भरिएको देश हो । त्यसैले यहाँ कुनै पनि जात जातिको कुरा गर्नासाथ ऐतिहासिक र सांस्कृतिक विषयहरु उठान हुने गर्दछ । साथै संस्कृतिका कुराहरु पनि सँगैसँगै आउँछ ।
नेपालमै सबैभन्दा बढी पढिने आफ्नै संस्कृति अनुसार घरघरमा पढिने पुस्तक स्वस्थानी हो । स्वस्थानीमा वर्णित लावण्य देश साँखु हो कि होईन विवादको विषय हुनसक्छ तर महाभारत वा रामायण पढ्दा जसरी लंका कहाँ छ वा महाभारतको युद्ध भएकै होईन भन्ने जस्ता विवाद उत्पन्न हुने गर्दछ । अझ रामको विषयमा त उनी मर्यादा पुरुषोत्तम नभई घमण्डी समेत भन्ने गरिएको छ । त्यसैगरी स्वस्थानीको विषयमा पनि विवाद हुनसक्ला तर नेपालीहरु सबैले स्विकारेको र आफ्नै धर्म संस्कृति र परम्परा सुहाउँदो धार्मिक कृतिका रुपमा यसलाई लिन सकिन्छ ।
त्यसैले नै होला माघ महिनाभरि नेपालभरि नै घर घरमा स्वस्थानी वाचन गर्ने र सुन्ने गरिन्छ । यसै मेरोमा प्रत्येक वर्ष साँखुको शालिनदी परिसरमा बस्ने व्रतपूजाको विषयमा पनि अध्ययन अनुसन्धान हुनु जरुरी भएको छ । हुनतः यस व्रत पूजालाई स्वस्थानी व्रत भन्ने पनि गरिन्छ । तर स्वस्थानी व्रतभन्दा केही भिन्न परम्परा र संस्कृति यस व्रतमा जोडिएको छ । यस्तै खाले अर्को व्रत पूजा भक्तपुरको हनुमानघाटमा पनि हुने गर्दछ । साँखुको शालिनदीमा जस्तै त्यहाँ पनि माधवनारायणको मूर्तिलाई नदीमा लगेर नुहाईन्छ । तर साँखुको माधवनारायण पुरानो भएको भएर हो अथवा स्वस्थानीमा वर्णित शालिनदी साँखुमै भएकोले हो सम्पूर्ण नेपालीहरुको आस्थाको केन्द्र भने साँखुको शालिनदी र साँखुकै माधवनारायणप्रति नै छ ।
हुनतः केही विद्वान मित्रहरुले माधवनारायण भनेको विष्णुको एउटा नाम हो । जुन नाम विशेषगरि माघ महिनामा मात्रै लिईन्छ । भगवान विष्णुले पार्वतीलाई यो धर्मव्रत को उपदेश दिनु अगाडि नै आफैले श्री स्वस्थानी परमेश्वरीको व्रत बसेको हुँदा उहाँलाई नै साक्षी वा पुरोहित मानेर यो व्रत पूजा हुने गरेको भनाई पनि केही समय अगाडि देखि चर्चामा आएको छ । यस विषयमा साँखुकै बासिन्दाहरुमा मतभिन्नता पाइएको छ । कतिपय साँखुबासीहरु यस व्रतलाई माधवनारायण व्रत भन्न रुचाउँछन् । हुनतः यहाँ व्रत बस्ने भक्तजनहरु सबैले सधैँ माधवनारायणको मात्रै स्मरण गर्दछन् । यस व्रतमा स्वस्थानीमा वर्णन गरिएजस्तो शिव आराधना गर्ने गरिएको पाइँदैन । माधवनारायणकै भजन किर्तन गर्ने अनि माधवनारायणकै पूजा अर्चना गर्ने गरिन्छ । त्यसैले पनि यस व्रतलाई माधवनारायण व्रत भन्नुपर्ने कतिपयको मान्यता रही आएको छ । तर पनि यस विषयमा कुनै आधिकारिक प्रमाण नदेखिएको हुँदा यस व्रतलाई माधवनारायण÷स्वस्थानी व्रत भनि यहाँका बासिन्दाले स्विकारेको देखिन्छ । तर पनि यस विषयमा विशेष अध्ययन अनुसन्धान हुनु जरुरी छ । कुनै व्यक्ति वा समुदायसँग यस सम्बन्धी जानकारीमूलक लिखत वा पुस्तक भए सार्वजनिक गरि छलफल चलाउनु जरुरी छ ।
लावण्य सन्देश वर्ष २ अंक ३४ को सम्पादकीयबाट
0 Comments
Thanks for your concerns