सभासदहरुलाई जनताले आफ्नो प्रतिनिधिका रुपमा चुनेर पठाएका हुन् । उनीहरुले गर्ने निर्णयले जनताको दैनन्दिन जीवनमा मात्रै हैनन भविष्यमा समेत प्रभाव पर्दछ । त्यसैले जनताले आफूले चुनावमा कुनै प्रतिनिधिलाई मतदान गर्दा बडो हेरविचार पु¥याएर गर्नुपर्दछ भनि निर्वाचन आयोगले निर्वाचन हुनु केही महिना अगाडि देखि नै विभिन्न सञ्चार माध्यम होर्डिङबोर्ड लगायत पम्प्लेट, पर्चा लगायतका माध्यमबाट जनतामा जनचेतनाको लागि भनि सुसुचित गर्ने गर्दछ ।
जनताले त्यत्ति बुद्धिमानीपूर्वक मतदान गरेर पठाएका प्रतिनिधिले जनताको सुख दुःखमा साथ दिनुपर्ने स्थानमा आफै खाउँ आफै लाउँ आफ्नै सुविधा बढाउँ भन्दै प्रधानमन्त्रीकोमा डेलिगेशन गएको खबर सुन्नपर्दा जनता अत्यन्तै पिडामा परेका छन् ।
सरकारले राष्ट्रसेवक कर्मचारीहरुले ३० वर्ष वा आफ्नो ६० वर्ष नपुग्दा सम्म राष्ट्रको सेवा गरेवापत पाउने पेन्सन त बजेट अभावमा हटाइँदैछ । तर निर्लज्ज सांसद÷सभासदहरुले भने आजीवन पेन्सन वा अन्य सुविधाको लागि प्रधानमन्त्री प्रचण्डलाई तरताकेता गर्न थालेका छन् । मुलुक जर्जर बनेको छ । आर्थिक वृद्धिदर लगभग शून्य छ । जनताको दैनन्दिन आवश्यकता पूर्ति हुन सकेको छैन । आम जनता भूकम्प, बाढी पहिरो कारण बेघरबार रहेका छन् । यस्तो अवस्थामा जनताको मन जित्न लागिपर्नुपर्ने सभासदहरु आफ्नै सुविधा बढाउन लविङ गरिरहनु निर्लज्जताको पराकाष्ठा हो ।
यी डेलिगेशन गएका नेताहरुलाई चिनेर आगामी १७ महिना भित्र हुन लागेको तीन वटै निर्वाचनमा छानी छानी पराजित गर्नु आम जनताको कर्तव्य हो । साथै यसमा नागरिक समाज, समाजका अगुवा एवं बुद्धिजीवीहरुले समेत यस्ता नेताहरुको नाम सार्वजनिक गरेर तथा उनीहरुको झाँको झारेर उनीहरुलाई जनतासम्म मत माग्न पुग्ने साहस नै नहुने गरी सामाजिकरुपमै बहिष्करणमा पार्नु जरुरी छ । यसको लागि सामाजिक अभियन्ता, भ्रष्टाचार विरोधी अभियन्ता, पत्रकार, मानवअधिकारवादी, विभिन्न दलका प्रजातन्त्र र लोकतन्त्रप्रति प्रतिवद्ध नेता कार्यकर्ताहरुले समेत सचेत हुनु जरुरी छ ।
लावण्य सन्देश वर्ष ६ अंक १२ को सम्पादकीयबाट
0 Comments
Thanks for your concerns