लावण्य÷साँखु । यही पौष २९ गते कालिका शरण मा.बि.को छात्राबास तथा नवनिर्मित बिद्यालय भवनको उद्घाटन नेकपा एमालेका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल र दक्षिण कोरियाको छलनान्दो प्रान्तका शिक्षा बिभाग प्रमुख जड साक उक, पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर, शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले सयुक्त रुपमा उद्घाटन गर्नुभएको छ ।
कोरियाको अम् हङ गिल ह्युमन फाउन्डेसनको आर्थिक सहयोगमा उक्त छात्रावास तथा विद्यालय भवन निर्माण गरिएको हो विद्यालयका प्रधानाध्यापक प्रमोद प्रधानका अनुसार ४ करोड ४० लाख लागतमा १४ कोठे छात्राबास र १० कोठे विद्यालय भवन निर्माण सम्पन्न भएको छ भने कम्युनिटी हल निर्माण भैरहेको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र छलनान्दो प्रान्तका शिक्षा विभाग प्रमुख जड साक उकले नवनिर्मित छात्रावास भवनको कक्षाकोठा शौचालय किचेन र लाईब्रेरीको अवलोकन गरी व्यवस्थापन बारे जानकारी लिनुभएको थियो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको भबिष्य कोर्ने विद्यार्थीको लागि आवस्यक पूर्वाधार निर्माणमा सहयोग गर्नु सराहनीय काम भएको बताउनु भयो । विद्यार्थी र शिक्षक दुबैले अझ बढी मिहिनेत गरेर गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्ने बताउदै यस्को लागि आफ्नो सहयोग निरन्तर रहने बताउनु भयो ।
कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले संविधानले विद्यालय शिक्षाको जिम्मेवारी स्थानीय सरकारलाइ दिएको बताउदै शंखरापुर नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गर्ने वातावरण तयार गर्न आग्रह गर्नुभयो । विद्यालय भवनमात्र राम्रो भएर मात्र नपुग्ने बताउदै प्रधानाध्यापकले महत्वपुर्ण भूमिका खेल्नु पर्ने बताउनु भयो ।
शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले परम्परागत शिक्षा प्रणालीले मात्र शिक्षाको गुणस्तर वृद्धि नहुने बताउदै समयको माग अनुसार प्राविधिक शिक्षा उपलब्ध गराउनुपर्ने बताउनुभयो । सामुदायिक विद्यालयहरुमा पनि अनलाइन प्रविधि मार्फत कम्प्युटर शिक्षा लगायत प्रयोगात्मक शिक्षा प्रदान गर्न जुन किसिमको सहयोग कोरियाली संस्थाबाट भयो त्यस्को सही सदुपयोग हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा छलनान्दो प्रान्तका शिक्षा विभाग प्रमुख जड साक उकले कोरियाली सहयोगको बिशेष अर्थ रहेको बताउदै यहाँको शिक्षाको विकासमा निरन्तर सहयोग रहने बताउनु भयो । योे सहयोग सुरुवात मात्र भएको र भविष्यमा शंखरापुर नगरपालिका भित्रका अन्य सामुदायिक विद्यालयहरुमा समेत सहयोग गर्ने बताउनुभयो ।
यसै गरि अम् हङ गिल ह्युमन फाउन्डेसन र शंखरापुर नगरपालिकाबीच शिक्षा र संस्कृति सम्बन्धी सहयोग आदान प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ र छलनान्दो प्रान्तका शिक्षा बिभाग प्रमुख जड साक उकले हस्ताक्षर गर्नुभएको छ ।
कार्यक्रममा २० थान ल्यापटप, शैक्षिक सामग्री शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ मार्फत विद्यालयका प्रधानाध्यापक प्रमोद प्रधानलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मेयर श्रेष्ठ र पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले उक्त विद्यालयका ७ जना संस्थापक सदस्यहरुलाई सम्मानित गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा दक्षिण कोरियाका विद्यार्थी तथा कालिका शरण मा.वि.का विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
0 Comments
Thanks for your concerns