एक महिने माघ मेलाको लागि तयारीको लागि नगरपालिकाको पहलमा सरोकारवालाहरुसँग छलफल

१४ पौष २०७९, बिहीवार

लावण्य/साँखु । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एक महिने माघ मेला सुरु हुनै लाग्दा शंखरापुर नगरपालिकाले सरोकारवालाहरुसँग तयारी बैठक गरेको छ । 

काठमाडौंको उत्तरपूर्वी क्षेत्र साँखुमा हरेक बर्ष लाग्ने सालीनदी मेला व्यवस्थापनको तयारीमा नगरपालिका जुटेको हो । पुस २२ गतेदेखि शुरू हुने माधव नारायण व्रत एवं माघ मेला ब्यवस्थापनका लागि नगरपालिकाले विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल गरेको हो ।

छलफलमा नगरप्रमुख रमेश नापितले मेलालाई व्यवस्थि










त बनाउनका लागि विभिन्न सरोकारवाला पक्षहरुलाई आफ्नो दायित्व र जिम्मेवारी कुशलतापूर्वक पालना गरेर काम गर्न आग्रह गरेका छन् ।

छलफलमा सालीनदी मेलामा यातायात व्यवस्थापन, शान्तिसुरक्षा, फोहोरमैला व्यवस्थापन, जिम्मेवारी वाडफाँड, स्वास्थ्य मापदण्ड पालना लगायतका विषयमा छलफल भएको थियो ।

शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठका अनु्सार “यो मेला शंखरापुरको पहिचानसँग जोडिएकोले यसको व्यवस्थापनमा सम्बन्धित सबै क्षेत्रका प्रतिनिधीहरुसँग छलफल गरिएको थियो । यसपाली वेल म्यानेजमेन्ट र वेल प्लानका साथ मेला व्यवस्थापन गर्नको लागि के कस्तो कार्य नगरपालिका स्तरबाट र के कस्तो कार्य मेला व्यवस्थापन समितिबाट गर्नुपर्ने हो यस विषयमा केन्द्रित रही छलफल भएको थियो ।”

छलफल कार्यक्रममा बोल्दै शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले सालीनदीमा मेला भर्न देशभित्रबाट मात्रै नभई देशबाहिरबाट समेत ठुलोमात्रामा पर्यटक आउने उल्लेख गर्दै मेलालाई कसरी सभ्य एंवम् व्यवस्थित बनाउने बारेमा छलफल कार्यक्रम राखिएको हो ।

कोभिडको त्रास फेरी देखिन थालेको र मेलाको लागि समय पनि कम रहेको बताउँदै खनालले यसका लागि नगरपालिकाका सबै क्षेत्रको सहयोगको आवश्यकता पर्ने बताए ।

त्यस्तै प्रहरी प्रभाग साँखुले मेलाका लागि सुरक्षा योजना तयार रहेको जनाएको छ । प्रभागका इस्पेक्टर जनक पुरीले सुरक्षा योजना तयार बनाएर प्रहरी बसेको बताएका हुन् । उनले मेलाका लागि थप ४५ जना सुरक्षाकर्मी बोलाईएको पनि कार्यक्रममा जानकारी दिए । त्यसैगरी ट्राफिक व्यवस्थापन तर्फ थप १० जना जनशक्ति मगाईएको जानकारी सो अवसरमा गराईएको थियो ।

कार्यक्रममा सहभागीहरुले मेलामा यातायत व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य समस्या, खानेपानी, शौचालय, अव्यवस्थित बजार लगायतका समस्याहरु रहेको र समाधानका सुझाव प्रस्तुत गरेका थिए ।

छलफलमा यस वर्षको मेलामा प्लाष्टिकको झोलाको प्रयोगलाई निरुत्साहित बनाउने विषयमा छलफल भएको छ । यसको लागि सम्पूर्ण व्यवसायीहरुलाई फाईबर र कपडाका झोलाहरुको मात्र्रै प्रयोग गर्न गराउन अनुरोध गर्ने भएको छ ।

मेलामा पिपल्स लाईफ हस्पिटल, लायन्स क्लब तथा नगरपलिकाले स्वास्थ्य सिविर राख्ने कार्यक्रममा उपस्थित प्रतिनिधीहरुले जानकारी दिए ।

छलफलमा विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानिय व्यवसायीहरु, यातायात व्यवस्थापन समिति, प्रहरी, सामाजिक संघ सस्थालगायतको प्रतिनिधित्व रहेको थियो । सालिनदी मेला यही पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुँदैछ ।

Post a Comment

0 Comments