माधव नेपाललाई किन एमालेमा फर्काउन चाहन्छन् ओली, काँगे्रस फेरि यसैमा मस्त रहन्छ –गुप्ता





लावण्य/सा“खु । पुरानो काँग्रेसको कुरा नगरौं । त्यो अब फर्किन्न । पछिल्लो काँग्रेसमा “सत्ता” शब्द मात्रले सदैव दुईटा अन्तःप्रेरणा दिदै आएको छ । पहिलो काँग्रेस भित्र गुटको निर्माण गरि त्यससँग टास्सिएर रहने । दोस्रो, पार्टीको संचालन तथा मुलुकमा देखिएका नयाँ नयाँ जनअपेक्षाहरूको अनदेखा गरि यथास्थितिको निरन्तरता एवं पक्षपोषण गर्नु । “सत्ता” शब्दले यो दुई अभिप्रेरणा हालको काँग्रेसलाई दिएको छ ।

अहिले काँग्रेसको हातबाट सत्ता टाढिएको छ । काँग्रेसका धेरै शुभचिन्तकहरू हाल दुःखी जस्तो देखिन्छन् । तर तिनीहरू दुःखी रहन्नन् । भर्खरै डाकिएको काँग्रेसको केन्द्रीय समितिको अलांकारिक बैठकमा सबैले मनको बह (पेट दुःखेर मुखमा पानी आइरहने एक प्रकारको रोग) पोख्छन् । बैठक अवधिभर शेरबहादुर देउवा घरीघरी चश्मा निकाल्दै सीसा सफा गर्छन, घरी औलाको औठी अर्को हातको औलाबाट नचाउने छन् । पट्यारलाग्दो कुराहरू तथा सुन्न नचाहेको आलोचना सुन्नै पर्दा यो तरिका अपनाउनुमा उनलाई धैर्यता मिल्दछ । यस्तै समअवस्थामा गणेशमानजी कुर्सीमा बसीबसी निदाउनु हुन्थ्यो । गिरिजाबाबु कुरा सुने जस्तो गर्दै अरू कुरा सोच्नु हुन्थ्यो, फुईफुई चुरोट तान्नु हुन्थ्यो–बोल्नेलाई लाग्दथ्यो कि मेरा कुरा बडो धैर्यका साथ सुन्नु भयो । मनलाई शान्तिको बाटोमा डो¥याउने यस्ता कलाहरू देउवाजीलाई थाहा छ । केन्द्रीय बैठकमा जिब्रो पड्काउदै, आँखी भौं लाई तलमाथि पार्दै बोल्ने सदस्यहरू हलुका हुनेछन् ।

अन्तमा, शेरबहादुरजी पालैपालो गरी सबैतिर हेर्दै भन्नु हुनेछ –“धैर्य राख, गत संसदमा हामी आजको भन्दापनि थोरै संख्यामा थियौं । तर, के काँग्रेसको नेतृत्वमा सरकार बनेन ? माओवादीले समर्थन मात्र गरेको थिएन, एमाले–माओवादीको एउटै पार्टी थियो । केपी ओली प्रधानमन्त्री थिए । लगभग सबै प्रदेशहरूमा उनीहरू कै बहुमत थियो, उनकै मुख्यमन्त्री थिए । तर बदलियो त सबै, केपी हटे, प्रदेशहरूमा मुख्यमन्त्री, प्रदेश प्रमुखहरू बदलिए । फेरि पनि त्यही हुन्छ । बुझ्नु भो ।” देउवाले यति भन्नासाथ काँग्रेसजनमा अनौठो ‘आत्ममुग्घता’ देखापर्छ । बैठक सकिन्छ । काँग्रेस पुनः सत्ताको संभावना र ‘अलाद्दीन’ का चिराग राखेका नेता शेरबहादुरप्रति भावविभोर हुन्छन् ।

ओलीको नेपाल फकाउने नयाँ दाऊ

प्रचण्डलाई अहिले प्रधानमन्त्रीमा समर्थन गरे पनि ओली एमालेलाई ठूलो पार्टी बनाएर प्रचण्ड सरकार पछि आफ्नो नेतृत्वको सरकार बनाउन चाहन्छन् । यही कारण उनी सबै तीता कुराहरूलाई भुलेर माधव नेपालसँग सम्झौता गर्न तयार भएका हुन् । ओलीले नेपाल विरुद्ध गरेका विष बमनहरू अहिले पनि सामाजिक सञ्जालमा घुमिरहेका छन् । सत्ता स्वार्थ हाबी भएपछि कुनै निर्णय अनैतिक हुन्न भन्ने स्थापित गराउँदै छन् ओली ।

ठूलो दल र सरकार

प्रचण्ड नेतृत्वमा बनेको सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम निर्माण भएको हो । यदि ७६ (२) को सरकारले विश्वासको मत लिन नसकेमा ७६ (३) का आधारमा सरकार बनाउन ठूलो दललाई आह्वान राष्ट्रपतिले गर्न सक्ने प्रावधान रहेको छ ।

प्रचण्ड नेतृत्वको सरकार भविष्यमा कुनै समयमा असफल भएमा ठूलो दलले सरकार बनाउने मौका पाउने छ । उक्त मौकामा आफू तयार रहनु पर्ने केपी ओलीको स्पष्ट बुझाइ रहेको उनी निकट मानिसहरूले बताउन थालेका छन् । अहिलेको स्थितिमा प्रचण्डको सरकार असफल भएमा सरकार बनाउने पालो नेपाली कांग्रेसको आउने छ ।

Post a Comment

0 Comments