प्रतिनिधि सभा तथा प्रदेश सभाहरूमा प्रमुख भनिएका राजनीतिक दलहरूले छानेका उमेदवार हेर्दा त्यसले जनसाधारणलाई खासै उत्साहित बनाउने देखिँदैन । सम्भवतः उमेदवारी दर्तापछि पनि दलहरूले जनतालाई चुनावप्रति आकर्षित गर्न सक्नेछैनन् ।
चुनाव जित्नका लागि गरिएका गठबन्धनका कारण अधिकांश निर्वाचन क्षेत्रमा ठूला पार्टीहरू विशेषगरी नेपाली कांग्रेस र केही हदसम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यकर्तामा असन्तुष्टि देखिएको छ । असन्तुष्टि चुनावसम्मै रह्यो भने नसोचेको परिणाम आउन सक्छ ।
कांग्रेसले सत्ता गठबन्धनकै दलहरूसँग चुनावी तालमेल गरेको छ । एक्लै चुनाव लड्ने हुँकार गर्दै आएका एमाले अध्यक्ष खड्गप्रसाद ओलीले पनि सत्ता गठबन्धनको एउटा घटक जनता समाजवादी र राप्रपा लगायत केही साना दलहरूसँग चुनावी तालमेल गरेका छन् ।
निर्वाचनपछि पनि यही गठबन्धन कायम रहने र सत्तामा पुग्ने अपेक्षामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उमेदवारी चयनमै पार्टीलाई खुम्च्याएका छन् । त्यसमाथि उनको दलबाट चुनाव लड्न चाहने केही आशालाग्दा अनुहार निषेधमा परेका छन् ।
एमालेले अपेक्षाकृत धेरै क्षेत्रमा उमेदवारी त दिएको छ तर अध्यक्ष ओलीसँग विमति राख्नेहरू निषेधमा परेका छन् । अब एमाले अध्यक्ष ओलीको लगभग निजी संगठन बन्न पुगेको देखिएको छ ।
अरू दलहरूबाट सरकारको नेतृत्व गर्न सक्ने वा पुग्ने संख्यामा उमेदवारै उठाइएको छैन । स्वतन्त्र उमेदवारी दिनेहरू जति नै असल भएपनि देशको शासनमै फरक पर्नेगरी हस्तक्षेप हुन सक्तैन, गर्न सक्तैन ।
समग्रमा चुनावपछि पनि देशको राजनीतिमा खासै फरक नहुने देखियो । यद्यपि, जनताले विवेक पु¥याउन सके भने निर्वाचनलाई निर्णायक बनाउन नसके पनि सकारात्मक परिवर्तनतर्फ उन्मुख गराउन भने सम्भव छ ।
विसं २०७४ को चुनावमा गरिएको गठबन्धनलाई सैद्धान्तिक आवरण दिन खोजिएको थियो । ठूला कम्युनिस्ट पार्टीहरू एमाले र माओवादी केन्द्रले चुनावपूर्व गरेको गठबन्धन सफल भएपछि पार्टी एकता नै गरेका थिए ।
परन्तु, त्यो गठबन्धन टिकेन । बरु, एमाले पार्टी नै फुट्यो । गठबन्धन बनाउने र भत्काउने क्रममा माओवादी केन्द्रबाहेक सबै दल कमजोर भए । यसले गठबन्धनको सैद्धान्तिक आधार समाप्त पारिदियो भने सत्ता स्वार्थबाहेक अरू सबै गौण भएको देखियो ।
सत्तारुढ दलका नेताहरूले ओलीको अधिनायकवादी प्रवृत्तिको विरोधमा संविधान जोगाउन गठबन्धन गर्नुपरेको बताएका थिए । यस्तै ओलिले गठबन्धमा रहेका दलहरूको देशभक्तिप्रति नै पटकपटक प्रश्न उठाएका थिए ।
विडम्बना, संविधान मिचेको भन्दै ओलीको चर्को विरोध गर्ने उपेन्द्र यादवको जसपासँगै एमालेले चुनावी तालमेल गर्न पुग्यो । अर्कातिर, प्रतिनिधि सभा विघटनमा ओलीलाई साथ दिने लोकतान्त्रिक समाजवादी पार्टी एमाले विरोधी गठबन्धनमा सामेल भयो ।
यसले गठबन्धनको सैद्धान्तिक आधार समाप्त भएको देखायो । यो गठबन्धन अथवा तालमेलले दलीय संरचनालाई ध्वस्त बनायो । साँच्चिकै “निर्दलीय पञ्चायत” त फर्केन भन्ने प्रश्न उठाईदियो । पञ्चायतकालमा बरु पञ्चहरुले शासन गर्थे जनस्तरमा विपक्षमा करीब ४८ प्रतिशत जनमत प्राप्त गरेको एउटा ठूलो समूह थियो । जसले निरन्तर खबरदारी गर्थे जसका कारण पञ्चायत ढाल्न सजिलो भयो ।
अब निर्वाचनमा उमेदवारहरूको छवि नै मतदाताका लागि निर्णायक हुने देखिन्छ । अब मतदाताले दल हैन राम्रा र हाम्रा व्यक्ति छान्नेछन् जसले गर्दा कतै “बहुदलीयता” नै समाप्त हुने त हैनन् भन्ने प्रश्न टड्कारो देखिएको छ । हुनतः आम जनताले उम्मेदवारहरुमाथि निरन्तर निगरानी पनि गरिरहनेछ । यसैले भन्न सकिन्छ मतदाता सजग र सक्षम पनि छ ।
0 Comments
Thanks for your concerns