संघीय निर्वाचन प्रक्रिया सुरु, आज र भोलि समानुपातिक सूची बुझाइँदै



२ असोज २०७९, आइतवार

लावण्य/साँखु । संघीय निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । सरकारले आगामी मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको हो ।

निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको निर्वाचनका लागि उमेदवारहरुको बन्दसूची बुझाउनका लागि आज र भोलिका लागि तोकेको छ । आज ठूला दलहरुले सूचीलाई अन्तिम रुप दिनेगरी बैठक तथा छलफलहरु गरिहरेका छन् ।

समानुपातिक सूचीलाई अन्तिम रुप दिन नेपाली कांग्रेसले आठजना सहमहामन्त्रीहरुको कार्यदल नै बनाएर काम गरिरहेको छ । यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सूची तयार गर्नका लागि आज सचिवालय बैठक बोलाएको छ ।

आयोगमा दलहरुले आज र भोलि प्रतिनिधिसभातर्फ ११० जना र प्रदेशसभातर्फ २२० जना सदस्यको लागि बन्दसूची पेस गर्नुपर्नेछ । बन्दसूचीमा दलहरुले तोकिएको संख्याको न्यूनतम १० प्रतिशत नाम पेस गर्नुपर्नेछ ।

समानुपातिक बन्दसूचीमा ५० प्रतिशत महिलाहरुलाई सिफारिस गर्नुपर्ने आयोगले जनाएको छ । प्रत्यक्ष निर्वाचनका लागि भने असोज २३ गतेदेखि प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।

Post a Comment

0 Comments