लावण्य/साँखु । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौँ २ बाट नेपाली कांग्रेसले प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ ।
शुक्रबार बसेको निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले पूर्वसांसद दीपकप्रसाद कुईकेल, नेता लोकेश ढकाल, क्षेत्रिय सभापति कविर शर्मा र युवा नेता मनिष कोईरालाको नाम जिल्ला कार्यसमितिलाई सिफारिस गरेको छ ।
पूर्व सांसद कुईकेल १ पटक जितेर दुई पटक हारेका छन् भने २०५६ मै पहिलो पटक उम्मेदवार बनेका नेता लोकेश ढकालले अहिलेसम्म जित्ने अवसर पाएका छैनन् । यी दुर्वै नेताहरु यस क्षेत्रमा लोकप्रिय मानिएतापनि युवा नेताहरु कविर शर्मा फुयाल र मनिष कोईराला भने परीक्षण हुन बाँकी नेताहरुमा पर्दछन् ।
हाल एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव कुमार नेपालको नाम उक्त पार्टीको क्षेत्रीय कमिटिले सर्वसम्मतरुपमा सिफारिस गरेको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन काठमाडौँ २ मा नेपाल फेरि चुनाव लड्छन् अथवा रौतहट १ मा जान्छन् कुनै टुंगो लागेको छैन ।
स्थानीय तहको चुनावमा समाजवादीले राम्रो परिणाम ल्याउन नसकेपछि नेपाल सुरक्षित मानिएको रौटहट १ बाट उठ्ने संभावना बढेको हो । तर नेपालले सहजै काठमाडौँ २ छाड्न चाहेका छैनन् ।
नेपाल रौतहट गएको अवस्थामा कांग्रेसका उम्मेदवारले काठमाडौँ २ मा अवसर पाउन सक्छन् । यो अवस्थामा देउवा निकट कविर शर्मा फुयालले टिकट पाउने बिश्वास संस्थापन पक्षको रहेको छ । तर एकीकृृत समाजवादीमा अध्यक्ष नेपाल नउठे पनि क्षेत्र नछाड्न दबाब छ ।




0 Comments
Thanks for your concerns