एसिया हाप्किडो च्याम्पियनसीपमा विजयकुमारीले जितिन् स्वर्ण पदक



२०७९ असार १७ गते

लावण्य/साँखु । उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि आयोजना भइरहेको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा नेपालले स्वर्ण पदक जितेको छ । 

हाप्किडो राष्ट्रिय खेलाडी विजय कुमारी वाइवाले महिला तर्फ ५० देखी ५५ तौल समूहमा स्वर्ण पदक प्राप्त गरेकी छिन । शुक्रबार भएको खेलमा उहाँले सो पदक हात पारेकी हुन् । हाप्किडो मार्सल आर्ट अन्तर्गत पर्ने एक खेल हो ।

यस्तै पुरुष तौल समूह तर्फ ७० देखी ७५ केजी तौल समूहमा प्रवीण गुरुङले कास्य पदक प्राप्त गरेका छन् । ६० देखी ६५ केजी तौल समूहमा गुमान घर्ती मगरले कास्य पदक प्राप्त गरेको नेपाल मार्शल आट्र्स हाप्किडो संघका अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिएका छन् ।

नेपालले १ स्वर्ण र २ कास्य पदक प्राप्त गरेपछि  प्रशिक्षक भुवन बुढा मगरले खुसी व्यक्त गरेका छन् ।

एसियाली हाप्किडो प्रतियोगितामा सहभागी हुन नेपाल मार्शल आट्र्स हाप्किडो संघका अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली मंगलवार उज्बेकिस्तान प्रस्थान गरेको थियो ।

प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा टिम व्यवस्थापक रहेकी छिन् ।

स्वर्ण पदक विजेता विजय कुमारी वाईवा शंखरापुर ३ साँगाचोक निवासी हुन् । उहाँ गत स्थानीय तहको चुनावमा शंखरापुर नगरपालिकामा उप मेयरको उम्मेदवार भई निकटतम प्रतिस्पर्धी हुनुहुन्थ्यो ।

उहाँले नेपाल र नेपालीको गौरव कायम गर्नुका साथै शंखरापुर नगरपालिकाको परिचय अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनुभएकोमा हामी उहाँको प्रशंसा गर्दै उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ । उहाँलाई अहिले शंखरापुरका अधिकांश खेलप्रेमीहरुले सामाजिक सञ्जाल मार्फत् बधाई दिईरहेका छन् ।

Post a Comment

0 Comments