– प्रकाशमान सक्व
प्रशिद्ध ऐतिहासिक, पौराणिक, धार्मिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण बज्रयोगिनीको पावन स्थलमा रहेको नागचापाख पनि ऐतिहासिक महत्वको स्थल मानिदै आएको छ ।
परापूर्वकालमा साँखु क्षेत्रको समतल भाग उपत्यकाको नागदह तलाउको रुपमा छोपिएको जलमग्न क्षेत्र थियो । बज्रयोगिनीको नागचापाखको काखसम्म हालको सिंगपूसत्तलसम्म पानीको सतह थियो । त्यसमाथि डाँडा क्षेत्रमा पौराणिक नागाचां ग्राम बस्ती थियो । मणिचूड राजाको राजधानी क्षेत्र, बौद्ध गुरु पद्मसम्भवको तपस्यास्थल, गंगामहारानीको मौसमछल्ने दरवार रहेको स्थान भनेर चिनिन्छ । खास त्यस स्थानमा कुनै अभिलेखको रुपमा शिलापत्रहरुको अभावमा नागचापाखको अस्तित्व ओझेलमा परेको छ । हुनतः अहिलेसम्म पनि त्यस क्षेत्रमा एउटा इनारको चिन्ह र बौद्धगुरु पद्मसम्भवको तपस्यास्थल रहेको गुफा भने सुरक्षित रहेको छ । साथै सो क्षेत्रमा नागदेवताको प्रस्तर मूर्ति चौरको बीचमा विराजमान भईरहेको पाइन्छ ।
बज्रयोगिनीका पूजारीहरुद्वारा राखिएको अभिलेख र उनीहरुमध्येकै एकजना पूजारीले लेखेको मणिशैल महावदानमा साँखुको निर्माण गर्दा शंखको आकारमा नगर निर्माण गर्दा सातगाउँ मिलाउने सन्दर्भमा नागाचां भनि नागचापाख समेतको नाम कोरिएको पाईन्छ । नेवारी भाषामा हालसम्म साँखुबासीहरुले नागचापाख भन्दै आएको यस डाँडालाई रमणीयस्थलको रुपमा समेत लिन सकिन्छ । यस स्थानमा अहिले ताईवानीहरुले एक रिसोर्ट बनाईरहेको छ । जहाँ उनीहरुले सम्भवतः भगवान बुद्धको ध्यान गर्ने तपोवनको रुपमा विकास गर्न सक्ने संकेत दिएका छन् । यो रमणीय स्थलमा यस रिसोर्ट वा ध्यान केन्द्रले सुनमा सुगन्ध थप्ने कुरामा समेत दुईमत नहोला । तर निजी जग्गा र रिसोर्टवालाको छायाँमा यस साँस्कृतिक, धार्मिक एवं रमणीय स्थललाई नपारि बेग्लै पहिचानका साथ जोगाउनु भने अति आवश्यक देखिन्छ । यस क्षेत्रमा जाने बाटो पनि यसै रिसोर्टका कारण बन्द भएको छ । तर पनि बाङ्गाल र देगुबाचा (बज्रयोगिनी जाने पुरानो बाटोमा अवस्थित प्रथम चैत्य) हुँदै पीए नेपालको छेउबाट भने यस रमणीय स्थलमा सजिलै जान सकिने बाटो अझै विद्यमान छ ।
हाल यस ठाउँमा आन्तरिक पर्यटकहरुको जोडी घुम्न आउने गरेको खुलासा स्थानीय बासिन्दाहरुले गरेका छन् । किनकी यस ठाउँ बाटोबाट अलि टाढै पर्ने र बस्ति समेत नजिकै नरहेको कारण जोडीहरुलाई एकान्तबास हुने गरेको भनाई उनीहरुको छ । यस रमणीय स्थलमा नागपञ्चमीको दिन मेला लाग्दछ भने गथाँमुगः अर्थात घण्टाकर्णको दिन पनि स्थानीय बाङ्गाल क्षेत्रमा खेतिपाती गर्ने किसानहरुले नागदेवताको पूजा आजा गर्ने गर्दछन् । करिब २० वर्ष यता यस रमणीय स्थलमा मेला लाग्ने क्रम घटेको छ । यसैले अब युवा पिढीलाई सक्रिय बनाई यस रमणीय स्थलबारे ऐतिहासिक, साँस्कृतिक, धार्मिक महत्वको प्रचार प्रसार गर्ने हो भने आन्तरिक एवं बाह्य पर्यटकका साथै धार्मिक पर्यटकहरुको समेत उल्लेख्यरुपमा यस क्षेत्रको भ्रमण गराउन सक्ने देखिन्छ ।
त्यस ठाउँमा केही वर्ष अगाडिसम्म दरवार, बस्ती, इनार, ढुंगेधारा, मन्दिर, विहारको रुपमा रहेका अवशेषहरु यत्र तत्र थिए । तर अहिले खेतिपाती गर्नेहरुले आफ्नो निजी प्रयोजनको लागि हो वा कुनै गलत व्यक्तिहरुले चोरी गरेर हो यस ठाउँमा विभिन्न किसिमका पुरातात्विक वस्तुहरु भेट्न मुश्किल भएका छन् । तापनि यस ठाउँमा अहिले पनि बौद्धगुरु पद्मसम्भवको तपस्यास्थल रहेको गुफा भने सुरक्षित रहेको छ । साथै सो क्षेत्रमा नागदेवताको प्रस्तर मूर्ति खुल्ला चौरको बीचमा विराजमान भईरहेको पाइन्छ । बौद्ध विद्वान तान्त्रिकले १२ वर्ष सम्म तपस्या गरि बज्रयोगिनी साधना गरिएको स्थान नागचापाखको यौटा गुफा र नागदेवताको मूर्ति र त्यस परिसरमै नागमणी, पारसमणी आदि नामले चिनिने चिप्लो ढुङ्गा जस्तो आकृतिको अमूल्य पत्थर जसले अर्को गुफा जस्तोको प्वालमै रहेको उक्त चिप्लो मणिढुङ्गा भन्ने पत्थर समेत बेपत्ता भैसकेका छन् । हाल उक्त प्वालमा सिमेन्ट ढलान गरिएको देखिन्छ । मन्दिर परिसरमा पक्का इँट्टाले बनाईएको क्षेत्र देख्न सकिन्छ ।
हाल एकाध मानिसहरुले कहिलेकाहिँ नागदेवता दर्शन गर्न जान्छन् भने बज्रयोगिनी जात्रा अघि र पछि राँको जात्रा गरि मसाल नृत्य गर्ने, भोज भतेर चलाउने सार्वजनिक चौर र पाखो समेत खेतियोग्य जमिनमा परिणत गराईसकेका छन् । त्यसरी नै यस क्षेत्रमा हाल बिरुवा नर्सरी गर्ने समूह र ताईवानीले जग्गा खरिद गरिसकेका कारण पनि ऐतिहासिक एवं धार्मिक महत्वको यस क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण हुन गई यस रमणीय पवित्र स्थलमा जाने बाटो समेत खोज्नुपर्ने अवस्थामा पुगेको देखिन्छ । यस चौरको वरिपर पाखो खनेर बालुवाको ढिक्का अभ्रख निकालने र निकाशा गर्ने गरेको कुरा पनि बुझिन आएको छ । वैज्ञानिकहरुका अनुसार निश्चित तापक्रममा पगालेर प्रशोधन गरेमा अभ्रखबाट हिरा निकाल्न सकिन्छ ।
मणिचूड राजाको शाङ्केतु नगर क्षेत्र तथा राजधानी भनि मानिएको नागचापाख धेरै कालक्रम अगाडि हिराको खानी थियो भन्ने कुरा मणिशैल महावदान तथा स्वस्थानीका पुस्तकहरुमा वर्णन गरिएको बगैँचा सहितको लजिङ्ग, फुडिङ्ग समेतको व्यवस्था भएको स–साना रिसोर्ट र होमस्टे समेतको व्यवस्था गरेको हुँदा धार्मिक एवं आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यस क्षेत्रमा आकर्षित गर्न सकिन्छ । यस क्षेत्रमा हाईकिङ्कका पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ भने उपत्यकाको साईटसिइङ्गको लागि आउने पर्यटकहरुलाई समेत आकर्षित गर्न सकिन्छ । साथै यस ठाउँमा स–साना पाटी र पिकनिक स्पटहरु समेत बनाउन सकिनुका साथै खुल्ला चौरमा बसेर पिकनिक मनाउन समेत कुनै समस्या रहेको छैन ।
नागचापाखको ऐतिहासिक, धार्मिक र साँस्कृतिक पक्षको खोजतलास गरि त्यस क्षेत्रको प्रचार प्रसार गर्नु वाञ्छनिय हुन आउँछ । यसै क्षेत्रमा खाई खेली हुर्की बढेका समाजसेवी लक्ष्मणप्रसाद गिरीका अनुसार नागको फणाभित्र बरुण नागराजाको भव्य र सौम्य मूर्ति आकर्षक देखिन्छ साथै सिद्ध गुफा जहाँ पद्मसम्भव गुरुले बाह्र वर्ष तपस्या गरि मणियोगिनी र धर्मधातु चैत्यको पूजा अर्चनाको तान्त्रिक पक्षलाई तिब्बतसम्म प्रचारप्रसार गराएको ऐतिहासिक तथ्य समेतको खोजविन गरि ऐतिहासिक धरोहरलाई बचाउनु अति आवश्यक भईसकेको छ ।
यस रमणीय स्थलमा साँखु र वरिपरिका बासिन्दाहरुले आउँदो नागपञ्चमी अर्थात् श्रावण ९ गतेका दिन भ्रमण गरौँ हाईकिङ्गको आनन्द लिनुका साथै धार्मिक, साँस्कृतिक, ऐतिहासिक रमणीय स्थलबारे जानकार होऔँ । शुभम् ।
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)



0 Comments
Thanks for your concerns