२०७९ असार ११ गते
लावण्य/साँखु । नेपालभाषाका महाकवि गिरिजाप्रसादद्वारा लिखित गीत एवं गजलहरुको संग्रह “गिरिजाप्रसादया म्ये÷गजल” पुस्तकको विमोचन शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले गर्नुभएको छ ।
सो अवसरमा उहाँले यस अघि पनि शंखरापुर नगरपालिकाले सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि सहयोग गर्ने बताउँदै यस वर्ष “महाकवि गिरिजाप्रसाद लुमन्ति प्रतिष्ठान” को लागि अक्षयकोष स्वरुप ३ लाख रुपैयाँ विनियोजन गरिएको र आगामी वर्ष पनि पुस्तक प्रकाशन गर्नुपर्ने भएमा थप रकम उपलब्ध गराउन आफु तयार रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व मेयर सुवर्ण श्रेष्ठले भन्नुभयो– महाकवि गिरिजाप्रसाद आफ्नो गुरु भएको बताउँदै कुनै बेला उहाँ साँखुमा बस्नै नसक्ने समेत भएको उल्लेख गर्दै उहाँको विद्रोही भावना र उहाँले वामपन्थि शिक्षा दिएकै कारण आजको परिवर्तन सम्भव भएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा नगरपालिकाले प्रतिष्ठानको लागि आवश्यक सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोग निरन्तर रहने बिश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपमेयर समिता श्रेष्ठले आफूले उमेरकै कारणले उहाँलाई राम्रोसँग नचिनेपनि न्हुदँ समारोह समितिको अध्यक्षता चलाखु टोलको पालो पर्दा त्यहाँबाट अध्यक्ष अनिल श्रेष्ठले महाकविको जन्मदिन मनाउने परम्परा सुरु भएको प्रसंग उल्लेख गर्नुभयो ।
कार्यक्रममा पत्रकार सुरेश किरणले महाकविसँग आफुले भेट्ने अवसर पाउन नसकेतापनि उहाँको कृतिहरु पढेर उहाँलाई चिनेको बताउँदै उहाँले भाषाको लागि वामपन्थी आन्दोलनको लागि दिएको योगदानको प्रशंसा गर्दै उपन्यासकारमा धुस्वाँ सायमीसँग तुलना गर्न सक्ने व्यक्तित्व गिरिजाप्रसाद मात्रै रहेको र उहाँ कम उमेरमै दिवंगत हुँदा पनि नेपाली भाषाका महाकवि लक्ष्मी प्रसाद देवकोटाको जत्तिकै कृति लेख्नुभएको प्रसंग उल्लेख गर्नुभयो । उहाँले विभिन्न देशका प्रशिद्ध लेखकहरुसँग जस्तै उहाँसँग भाषिक विषयमा अडान रहेको प्रष्ट पार्र्दै पञ्चायतकालमा साझा प्रकाशनले पुस्तक छापिदिन्छु भन्दा पनि नेपालभाषाबाट अनुदित शव्द राख्न नमान्दा साझा प्रकाशनलाई आफ्नो रचना दिन अस्विकार गरेको प्रसंग सुनाउनुभयो ।
कार्यक्रममा साहित्यकार नारद बज्राचार्यले महाकवि गिरिजाप्रसादको जीवनी शंखरापुरको पाठ्यक्रममा समावेश गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ ले आफुहरुले महाकवि गिरिजाप्रसादको व्यक्तित्व बढाउनको लागि महाकवि गिरिजाप्रसाद लुमन्ति प्रतिष्ठान गठनमा सहयोग गरेको बताउँदै प्रत्येक वर्ष २ लाख सहयोग गर्दै रहेको र अबको वर्षहरुमा अझै बढी सहयोग गर्न तयार रहेको बताउभएको थियो । यस वर्ष नगरपालिकाले नै रु ३ लाखको अक्षयकोष स्थापनाको लागि सहयोग स्वरुप बजेट विनियोजन गरिएको समेत बताउनुभएको थियो ।
वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले हामीले ५ वर्ष अगाडि देखि प्रत्येक वर्ष प्रतिष्ठानलाई सहयोग गर्दै रहेको र अब पनि कुनै अप्रकाशित कृति रहेको भए महाकविको कृति प्रकाशनमा सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभयो ।
कार्यक्रममा भरत सायमी, महाकवि का जेष्ठ सुपुत्र कुञ्ज जोशी लगायत वहाँका परिवारको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष यचु जोशीले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य चन्दा श्रेष्ठले दिनुभएको थियो । कार्यक्रम सञ्चालन नविन नापितले गर्नुभएको थियो ।
0 Comments
Thanks for your concerns