एसपीपीको विषयमा जसले संसदमा हंगामा गरे उसैको संलग्नता–नेपाल



सुरक्षा आवद्ध दस्तावेजमा सही गर्दिन –प्रम

लावण्य/साँखु । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेकपा एमालेको भूमिका रहेको दाबी गर्नुभएको छ । पार्टीको युवा विशेष जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

एसपीपीका विषयमा अन्योलको स्थिति चलिरहँदा बाहिरिएको नेपाली सेनाको पत्रले एमालेको संलग्नता पुष्टि भएको उहाँको दावी थियो ।

‘त्यसैबीचमा एउटा कागज आयो नेपाली सेनाका प्रमुखले हस्ताक्षर गरेको । कसको सरकारका पालामा भयो भन्ने अन्योल भयो’, अध्यक्ष नेपालले भन्नुभयो, ‘खोज्दै जाँदा संसदमा जसले आवाज उठाएका थिए, जोडदार हंगामा मच्चाएका थिए । त्यहीँ पार्टी जोडिएको कुरा आयो ।’

त्यत्रो कुरा किन लुकाइयो ? किन त्यो विषयमा आफै हंगामा खडा गरे भन्ने विषय बाहिर ल्याउने छलफल भइरहेको दाबी गर्दै भन्नुुभयोे । ‘किन यत्रो हंगामा ? कि सबैले बिर्से ? बिर्सने औषधि खाए या कुरा लुकाइयो ? या त कागजमा केही छैन ? यथार्थ कुरा बाहिर आओस्’, उहाँले थप्नुभयो ।

यस विषयमा गठबन्धन दलका शीर्ष नेता बसेर छलफल गरेको नेता नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बसेर प्रधानमन्त्री (शेरबहादुर देउवा)जीलाई सबै कुरा बाहिर ल्याउन भन्ने सहमतिमा पुगेका छौँं ।’

प्रधानमन्त्री देउवा र प्रधानसेनापतिसँग कुरा गर्दा एसपीपी अगाडि नबढ्ने विषय पक्कापक्की भइसकेको अध्यक्ष नेपालको कथन थियो । ‘मैले शेरबहादुर देउवालाई सोध्दा उहाँले क्याटेगोरिकल्ली जवाफ दिनुभयो । उहाँले म अमेरिका गइहाले पनि सुरक्षामा आवद्ध हुने कुनै दस्तावेजमा म सही गर्दिनँ, कसैले भने पनि म मान्दिनँ । उहाँको जवाफबाट खुसी भयौँ’, उहाँले भन्नुभयो, ‘नेपाली सेनाका प्रधानसेनापतिको जवाफ नेपाली सेना नेपालको राष्ट्रिय हित, भूराजनीतिक संवेदनशीलता र छिमेकीको संवेदनशील अवस्थालाई बेवास्ता गर्दैनौँ भन्नुभएको छ ।’

Post a Comment

0 Comments