लावण्य/साँखु । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गुठी संंस्थानका कर्मचारीसँगको मिलेमतोमा मठाधीशहरुले गुठी जग्गा बेचेको बताउनुभएको हो । सो कुरा उहाँले असार २ गते सोमबार साँखुमा आयोजित लावण्य सन्देश साप्ताहिकको नवौँ वार्षिकोत्सवको उद्घाटनका अवसरमा भन्नुभएको हो । उहाँले सो अवसरमा लावण्य सन्देशमा कलम चलाउँदै आउनुभएका स्रष्टा एवम् सहयोगीहरूलाई सम्मान समेत गर्नुभएको थियो ।
साथै सोही अवसरमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा लागेर प्रजातान्त्रिक आन्दोलनको लागि पत्रकारहरु उत्पादन गर्नुभएका वरिष्ठ पत्रकारद्वय कुलचन्द्र वाग्ले र मुरारीकुमार शर्मालाई पनि विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि बिजुक्छेले भन्नुभयो– देशको निम्ति कलम चलाउनेहरूलाई जेलमा राखे पनि विचारलाई बन्द गर्न नसकिने विचार राख्नुभयो ।
पत्रकारिताले क्रान्तिको बाटो फराकिलो बनाउने चर्चा गर्दै उहाँले कार्ल माक्र्सले “राइनिसे जाइटु” पत्रिका चलाएर संसार बदल्ने दर्शन र सर्वहारा वर्गको पक्षमा लड्नुभएको, लेनिनले इस्क्रा (फिलिङ्गो) पत्रिका चलाएर क्रान्तिको पक्षमा काम गर्दा पाएको दुःख र हो चि मिन्हले पत्रकारका रूपमा अफ्रिकाको समाचार पेरिसमा पठाउँदा सामना गर्नुभएका अनेकन हण्डरबारे बताउँदै उहाँहरूले जनता र क्रान्तिको पक्षमा लेख्न छोड्नुभएन भन्नुभयो ।
बिजुक्छेँले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको पालामा नेपाल मजदुर किसान पार्टीले काठमाडौँ उपत्यकालाई सांस्कृतिक सहर घोषणा गराउन प्रस्ताव लगेर उपत्यकाको सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्य राख्दा सामन्तहरूले विरोध गरेको चर्चा गंर्दै आफ्नो सम्पदा, संस्कृति जोगाउन जनता आफै जाग्नुपर्ने बताउनुभयो । उहाँले गुठीका महन्त, मठाधीशहरूले गुठी संस्थानका कर्मचारीहरूसँग मिलेर मठको सम्पत्ति बेचेर बेइमानी गरिरहेको हुँदा गुठी सञ्चालनको जिम्मा स्थानीय तहलाई दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष रोहितले बहुमत जनता किसानहरू भएको ठाउँमा उनीहरूको जीवनस्तर नउठेसम्म देशको स्तर पनि नउठ्ने भएकोले किसानलाई मोहियानी हकबाट वञ्चित गर्न नहुने बताउनुभयो । किसानहरूको जीवनस्तर उकास्न नेमकिपाले भक्तपुरमा रात्री कक्षाहरू सञ्चालन गरेको स्मरण गर्दै उहाँले जमिन जोत्ने किसानका छोराछारीलाई राम्रो शिक्षा दिन सरकारले ध्यान दिन उत्तिकै जरूरी रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा कीर्तिपुरबाट प्रकाशित हुने “सहिद” साप्ताहिकका सम्पादक नारायण महर्जनले शासक दलहरू व्यापारको राजनीतिबाट प्रेरित रहेको चर्चा गर्दै यो देशको राजनीति राम्रो बनाउन पत्रकारले भूमिका निर्वाह गर्न जरूरी रहेको बताउनुभयो । उहाँले सरकारद्वारा प्रेसमाथि अङ्कुश लगाउन खोज्नु गलत भएकोले यसको सर्वत्र विरोध भइरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं सामाजिक अभियन्ता इ. राजदास श्रेष्ठले आफू सोभियत सङ्घमा बस्दा बच्चा पढाउँदा एक पैसा पनि खर्च नभएको चर्चा गंर्दै नेपालमा पनि त्यस्तै किसिमको समाजवाद आवश्यक रहेको बताउनुभयो । साथै उहाँले सोभियतसंघमा वाक स्वतन्त्रता र स्वतन्त्र पत्रकारिता नभएको कारण त्यत्रो ठूलो महाशक्ति राष्ट्र समेत धराशायी भएको बताउनुभयो ।
कार्यक्रममा पूर्वसभासद् दीपकप्रसाद कुइँकेलले गुठीहरु विभिन्न खाले रहेको तर सरकारले एउटै डालोमा राखेर गुठी विधेयक ल्याएको हुँदा विरोध गर्नुपरेको बताउँदै उपत्यकाको प्राण गुठी नै नरहने गरि यो विधेयक आएकोल उपत्यकाका स्थानीय नेवार एवं संस्कृतिपे्रमी सबैले एकगठ भएर विरोधमा उत्रिएको बताउनुभएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व कुलचन्द्र वाग्लेले स्वतन्त्रता विनाको पत्रकारिता हुनै नसक्ने बताउँदै गुठी विधेयक ल्याउन सरोकारवालाहरुसँग छलफल गरेर ल्याउनुपर्ने बताउनुभयो ।
त्यसैगरी सञ्चार विकास समूहका अध्यक्ष मुरारीकुमार शर्माले भन्नुभयो– सरकारले आफूले चाहेजस्तो पत्रकारिता गराउने हो भने भजन मण्डली मात्रै तयार गर्ने हो भने सरकार असफल हुने बताउँदै आलोचना सहितको पत्रकारिताले राज्यलाई नै सहज हुने बताउनुभयो ।
टोखाका राजवीर डंगोलले विश्वमा भएका जनपक्षीय आन्दोलनहरूबारे राम्रो अध्ययन गरेर नेपालमा परिवर्तनको लागि भूमिका निर्वाह गर्न लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राप्रपाका नेता गोविन्द प्रसाद श्रेष्ठले विभिन्न स्थानका गुठीका प्रसंगहरु कोट्याउँदै टेण्डर प्रक्रियाबाट गुठीहरु नचल्ने बताउनुभएको थियो । कार्यक्रममा पत्रकार कुमार रञ्जितले पत्रिकाको कार्यक्रममा मिडिया विधेयकको विषयमा कुरा नउठ्नु विडम्बना भएको बताउँदै गुठी परम्परा नरहे उपत्यकामा कुनै पनि साँस्कृतिक कार्यहरु नरहने बताउनुभएको थियो ।
नेकपाका एलपी श्रेष्ठ, र महेन्द्र श्रेष्ठले पत्रकारिता क्षेत्रमा स्थानीयताको चर्चा गर्दै गुठी विधेयकको विषयमा आफूहरु पनि स्थानीय समुदायसँगै रहेको बताउनुभएको थियो ।
कार्यक्रममा नेका काठमाडौँ २ का क्षेत्रिय सभापति उपेन्द्र कार्कीले सरकार तानाशाही बाटोमा गएको बताउँदै गुठी विधेयक ल्याउन सरकारले कुनै पनि किसिमको छलफल आवश्यक नठानेको हुँदा नै सरोकारवालाहरुको समस्याको सम्बोधन नभएको बताउनुभयो ।
शंखरापुर नपाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिम्खडाले स्थानीयरुपमा मिडियालाई आफूहरु सहयोग गर्न तत्पर रहेको बताउँदै नगरपालिकाका कार्यक्रममै मिडिया सम्बन्धी कार्यक्रम समेत राखिने बताउनुभएको थियो । शंखरापुर नपाका वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले स्थानीय समस्या एवं काम कार्वाहीहरुको विषयमा स्थानीय पत्रिकाबाट नै जानकारी पाइने बताउनुभयो । नेपाल समाजवादी पार्टीका माधव श्रेष्ठले पत्रकारिता पनि पार्टीमुखी नभई जनमुखी हुनुपर्ने बताउँदै गुठी विधेयकले उपत्यकाको प्राण हरण गर्न खोजेको बताउनुभयो । राप्रपाका रमेश नापित, नेपाली काँगे्रसका राजुभाइ मानन्धरले गुठी विधेयक र दुई तिहाई प्राप्त सरकारले गरेका जनविरोधी कदमबारे चर्चा गर्नुभयो । कार्यक्रममा लावण्य सन्देशका प्रबन्ध निर्देशक मिजेन्द्रकाजी श्रेष्ठले स्वागत भाषण गर्नुभएको थियो भने प्रकाशक पवनलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
लावण्य सन्देश वर्ष ९ अंक २ को मुख्य समाचारबाट
0 Comments
Thanks for your concerns