गुनासो सुन्न हटलाईनको व्यवस्था गरिनेछ । – एलपी श्रेष्ठ

आम नागरिकको लागि प्रति व्यक्ति १ लाख सम्मको बिमा निशुल्क गरिनेछ ।
मेयरको लागि प्रदान गरिएको गाडी सुविधा नलिने प्रतिवद्धता जाहेर गर्दै, मेयरको तलब भत्ता लगायतका सुविधाको आधा सामाजिक कार्यमा र आधा पार्टी निर्माणको लागि खर्च गरिने प्रतिवद्धता व्यक्त गर्दछु ।– एलपी श्रेष्ठ






(


काठमाडौँ जिल्लाको उत्तरपूर्वी भेगकै शहरोन्मुख नगरपालिका शंखरापुर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको तर्फबाट मेयर पदमा उम्मेदवारी दिनुभएका नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव  एलपी श्रेष्ठ (लक्ष्मी प्रसाद श्रेष्ठ) बुबा लक्ष्मण श्रेष्ठ तथा आमा शिवमाया श्रेष्ठको कोखबाट वि.सं. २०२४ सालमा साँखुको ईपाटोलमा जन्मिनुभएको हो ।

उहाँ २०३९ साल देखि अनेरास्ववियु मार्फत् राजनीतिमा होमिनुभएको हो । २०४३ को रापसको चुनावमा जनपक्षीय उम्मेदवार पद्मरत्न तुलाधरको पक्षमा माहौल खडा गर्न लागिपरेका व्यक्तिहरुमध्ये एक हुनुहुन्छ । उहाँले २०४६ को आन्दोलनको बेला साँखुका तीनवटै गाउँ पञ्चायतमा कालो झण्डा गाड्ने आन्दोलनको नेतृत्व गर्नुभएको थियो भने २०४६ को परिवर्तन पछि नेकपा माले हुँदै एमालेमा समाहित भएर तत्कालीन काठमाडौँ क्षेत्र नं. १ र हाल काठमाडौँ क्षेत्र नं. २ बाट राजनीति गर्दै आउनुभएको छ । उहाँले यसै सन्दर्भमा नेकपा एमाले टुक्रिँदा नेकपा एकीकृत समाजवादीको काठमाडौँ जिल्ला उपसचिव हुँदै सचिवको नेतृत्व सम्हाल्नुभएको हो ।

राजनीतिमार्फत् आम जनतासँगै रहेर जनताको भावना बुझेर नै मुलुक र स्थानीय क्षेत्रमा परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यताका साथ राजनीतिमा होमिनुभएका एलपी श्रेष्ठसँग यसै सन्दर्भमा वर्तमान राजनैतिक अवस्था र शंखरापर नपाको समस्याका विषयमा भएको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।–सम्पादक)

> शंखरापुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ । तपाइँको जीतको आधार के होला ?

- पहिलो आधार पार्टी संगठनको आधार हो । निरन्तर ४ दशकको समाज परिवर्तनको लागि आफुले खेलेको भूमिका । विकास निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको । अहिले नेपाली काँगे्रस लगायतका दलहरुसँग र स्थानीय बुद्धिजीवीहरुसँगको समन्वयका कारण पनि यो चुनावमा हामीले जित्ने आधार देखेका छौँ ।

> तपाइँले उम्मेदवारी घोषणा गर्दै गर्दाखेरि अन्य साथिहरुले के कस्तो प्रतिक्रिया दिनुभएको छ ?

- एकीकृत समाजवादी पार्टीको शंखरापुर नगर कमिटीले सर्वसम्मत सिफारिश गरेको हुदा त्यहाँ कुनै समस्या नै थिएन । विकास निर्माण लगायत आम जनसमुदायका समस्याहरुमा समाजमै बसेर सहयोग र संघर्ष गरिरहेका कारण पार्टी बाहिर समेत आम जनसमुदायले मेरो उम्मेदवारीको विषयलाई लिएर सकारात्मक प्रतिक्रिया दिएका छन् । जस्ले गर्दा यो चुनावमा अन्य दलहरुको तुलनामा राम्रो मतान्तरले जीत हासिल गर्ने कुरामा विश्वस्त छु ।

> भूकम्प पछिको पुनर्निर्माणको विषय अहिले ओझेलमा परेको छ । तर अहिलेसम्म पनि घरबासको व्यवस्थापन गर्न नसकेकाहरुको लागि तपाइँको योजना के छ ?

- सरकारले अहिलेसम्म ८० प्रतिशतको हाराहारीमा नीजि घर निर्माणको लागि सम्झौता गरी कार्यान्वयन गरिसकेका छन् । त्यसैले ती नागरिकहरुको घरबासको व्यवस्था भईसकेको भन्न सकिन्छ । बाँकी लगभग २० प्रतिशतमध्ये साँच्चिकै समस्यामा परेका घरबासको जोहो गर्न नसक्ने खालका आम नागरिकहरुको लागि घरबासको व्यवस्थाको लागि नगरपालिकाको ग्यारेन्टीमा सहुलियत कर्जा र केही नगरपालिकाको तर्फबाट अनुदान दिएरै भएपनि आम नागरिकलाई घरबासको व्यवस्था गरिनेछ ।

> काठमाडौँ क्षेत्र नं. २ का दुईवटै नगरपालिकामा सञ्चारको उल्लेख्य विकास भएको छैन तपाइँ मेयर हुनु भयो भने के कस्तो पहल गर्नुहुन्छ ?

- आम जनताको सूचनाको अधिकार स्थापित गराउनको लागि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुन्छ । अहिले काठमाडौँ २ का दुईवटै नगरपालिका विशेष गरी शंखरापुर नगरपालिका भित्र आम सञ्चारको पहुँच अझै पुगेको छैन । त्यसैले यस विषयमा अध्ययन गरी नगरस्तरीय एफएम स्टेशन र टीभी प्रोग्राम तत्कालको लागि करीब बिहान २ घण्टा र साँझ २ घण्टाको समय खरीद गरेरै भएपनि जनताको सूसुचित हुने अधिकारको ग्यारेन्टीको लागि पहल गर्नेछु ।

> शंखरापुर नगरपालिका यथावत कायम् होस् भनि भइरहेको आन्दोलनमा तपाइँको संलग्नता थियो तर अहिले आएर शंखरापुर नगरपालिका यथावत घोषणा भएको दिनलाई सबैले बिर्सिसके जस्तो छ । तपाइँलाई कस्तो लाग्छ ?

- शंखरापुर नगरपालिकाको लागि यो दिन गौरवको दिन हो । त्यसैले नगरपालिकाले नै यो दिनलाई अपनत्व लिएर यस दिन सार्वजनिक कार्यक्रम गरेरै भव्यरुपमा स्वतन्त्रता प्राप्तीको दिनका रुपमा यो दिनको स्मरण गर्ने र यो आन्दोलनमा सरीक आम नागरिकहरुको अभिनन्दन गर्नुपर्ने थियो तर गरिएन । अब हामीले यस दिनलाई विशेष दिनका रुप्मा लिएर नगरस्तरीय कार्यक्रममै समावेश गरी सो दिनलाई भव्यताका साथ स्मरण गरिनेछ ।

> अहिले जो जो मान्छे शंखरापुर नगरपालिका भए नि के नभएनि के भन्नेहरु छन् उनीहरु नै उम्मेदवारी घोषणा गरिरहेका छन् र मेयरमा जीत्ने दावी गरिरहेका छन् के भएको हो यस्तो ?

- दाबी गर्नु उहाँहरुको नैसर्गिक अधिकारको कुरा भयो तर पहिचानको विषयमा नेतृत्व गरेको पार्टी र सो आन्दोलनमा सरीक नेता कार्यकर्ताहरुलाई भने आम जनताले पनि छुट्टै रुपमा हेरिरहेको महसुस गरेको छु । त्यसैले सो आन्दोलनमा नलागेकाहरुले शंखरापुर नगरपालिकाको नेतृत्व गर्न सम्भव देखिँदैन ।

> शंखरापुरमा सार्वजनिक यातायातको व्यवस्था के कसरी गर्नुहुन्छ ?

- व्यवस्थित बसपार्कको निर्माण गर्ने र नगरबस सञ्चालनको नीति ल्याईनेछ साथै सार्वजनिक यातायात सर्वसुलभ गरी सबै वडाहरुमा पु¥याउन विशेष योजना ल्याईनेछ ।

> नेकपा एकीकृत समाजवादीको गठनको विषयमा केही भन्नुुहुन्छ कि ?

ं नेकपा एमालेमा वैचारिक र सैद्धान्तिक विचलन आउनु र केन्द्रिय नेतृत्वको स्वेच्छाचारिताको विरुद्धमा पार्टी अन्तरसंघर्ष गर्दा पनि सुनुवाई नभएपछि मुलुकमा कम्युनिष्ट तथा समाजवादी आन्दोलन जोगाउनका निमित्त नेकपा एकीकृत समाजवादी पार्टीको गठन भएको हो ।

> खानेपानी तथा ढल निकासको विषय के कसरी समाधान गर्नुहुन्छ ?

- खानेपानीको विषयमा गुणस्तरीय खानेपानीको व्यवस्था गर्नको लागि साँखुको सन्दर्भमा स्तरोन्नती र निरन्तर बजेट विनियोजनको लागि काम गरिरहेको र अब साँखु बजारमा ढल निकासको लागि आवश्यक बजेट विनियोजनको प्रयास भईरहेको छ ।

नाङ्लेभारे खानेपानी, साँगाचोक खानेपानी, बोजेनी भन्ज्याङ, मणिचुड खानेपानी, पालुवारी खानेपानी, विशम्भरा खानेपानी लगायतका योजनाहरुलाई स्टोरेज र फिल्ट्रेसन ट्ंयांकी निर्माण गरेर सो योजनाहरुबाट आम जनतालाई खानेपानीको व्यवस्था गरिनेछ ।

> धार्मिक स्थल शालिनदी क्षेत्र र बज्रयोगिनी क्षेत्रको विकासमा के कस्तो योजनाहरु अघि सार्नुहुन्छ ?

- बज्रयोगिनी तथा मणिचुड क्षेत्रको सन्दर्भमा ऐतिहासिक उत्खनन् र अनुसन्धान गरिनेछ । त्यहाँ रहेका बौद्ध धर्मावलम्बीहरु र हिन्दू धर्मावलम्बीहरुको ईतिहासबारे अध्ययन अनुसन्धान गरि बौद्ध एवं हिन्दू पर्यटक सर्किट बनाउने प्रयास गरिनेछ ।

शालिनदी क्षेत्रमा माधवनारायण र स्वस्थानी व्रत सम्बन्धी विषयमा अध्ययन गर्ने थलोको रुपमा विकास गरी त्यहाँ रहेका सम्पदाहरुको उचित संरक्षण र आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरुको लागि वर्षै भरीको आगमन सहज तुल्याउने प्रयास गरिनेछ । सो ठाउँमा आवश्यक धर्मशालाको निर्माणको लागि समेत पहल गरिनेछ ।

> तपाइँ मेयर हुनुभयो भने के कस्तो योजना शंखरापुरको विकासको लागि ल्याउनुहुन्छ ?

- शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गरिनेछ । स्थानीय भाषाको पढाई आधारभूत तहसम्म अनिवार्य गरिनेछ । शंखरापुरका विद्यालयहरुलाई सूूचना प्रविधि मैत्री बनाउने र निशुल्क शिक्षाको लागि आवश्यक पहल गर्दैै लगिनेछ ।

प्राविधिक शिक्षा तर्फ नगरपालिकाले अपनत्व लिई यहाँका नगरबासीहरुलाई निशुल्क र स्थानीय स्तरमै प्राविधिक शिक्षाको ग्यारेन्टी गरिनेछ ।

स्वास्थ्य तर्फ जहरसिंपौवाको स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालको रुपमा विकास गरिनेछ ।

आम नागरिकको लागि निशुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवालाई सर्वसुलभ बनाइनेछ ।

आम नागरिकको लागि प्रति व्यक्ति १ लाख सम्मको बिमा निशुल्क गरिनेछ ।



> शंखरापुरमा कृषि र पर्यटनको लागि के कस्तो नीति ल्याईनेछ ?

- कृषि क्षेत्रको विकासका लागि बीउविजन उत्पादनको केन्द्रको रुपमा शंखरापुर नगरपालिकालाई विकास गरिनेछ । यसको लागि शंखरापुर नगरपालिकाभित्रै तराई, पहाड र हिमालको मौसम भएको हुँदा सो अनुकूल बीउविजन उत्पादन तथा वितरण केन्द्रको रुपमा विकास गर्न सकिने पर्याप्त आधारहरु छन् । पशुपालन तर्फ सामूहिक पशुपालनमा जोड दिइ अनुदानको व्यवस्था गरिनेछ साथै व्यवसायिक पशुपालन गर्ने कृषि फर्महरुलाई समेत आवश्यक अनुदानका साथै प्रशिक्षणको व्यवस्था गरिनेछ । नगरभित्रका सम्पूर्ण पशुधनको अनिवार्य विमा गराईनेछ ।

पर्यटनको विकासको लागि प्रचुर सम्भावना रहेतापनि अहिलेसम्म खासै पहल भईरहेको छैन तर हामीले नेतृत्व गर्दा यहाँका पर्यटकीय स्थलहरु जहरसिं पौवा, झुले, मणिचुड, कात्तिके, बज्रयोगिनी, शालिनदी क्षेत्र, सलम्बुटार, कुण्डेश्वर, नारायणेश्वर लगायतका धार्मिक स्थलहरुलाई समेत जोड्ने गरि पर्यटकीय योजनाहरु ल्याईनेछ ।

> प्राकृतिक दोहनको विषयमा के गर्नुहुन्छ ?

- प्राकृतिक दोहनको विषयलाई कानुनी दायरामा ल्याईनेछ । अवैधरुपमा गरिएका प्लटिङ, अवैध उत्खननलाई भने तत्कालै बन्द गरी कार्वाही गरिनेछ ।

> सुशासन र भ्रष्टाचार नियन्त्रणको विषयमा के भन्नुुहुन्छ ?

- राजस्व संकलन हुने सबै वडाहरुलाई प्रविधि मैत्री बनाई नगरस्तरमै केन्द्रिकृत बनाइनेछ । नगरभित्रका सरकारी सेवामूलक कार्यालयहरुलाई भ्रष्टाचारमुक्त बनाउनको लागि नगरस्तरीय स्थायी अनुगमन संयन्त्र बनाइनेछ ।

जनताप्रति उत्तरदायी प्रशासनको ग्यारेन्टी गर्दै कुनै पनि कर्मचारीले दुःख दिएमा तत्काल उजुरी गर्न सक्ने गरी गुनासो सुन्न हटलाईनको व्यवस्था गरिनेछ ।

> सामाजिक सुरक्षा भत्ता लिन आम जनतालाई समस्या परेको छ, तपाइँ के कस्तो पहल गर्नुहुन्छ ?

- सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई सम्बन्धित बैंकको समन्वयमा सम्बन्धित वडा कार्यालयमै पुगेर वितरण गर्ने व्यवस्था गरिनेछ । साथै अशक्त र अपाङ्गहरुलाई घरमै पु¥याईने व्यवस्था गरिनेछ ।

> खेलकूद विकासको लागि शंखरापुरमा के कस्तो प्रयास गर्नुहुन्छ ?

- खेलकूद क्षेत्रको विकासको लागि वडा स्तरीय समितिहरु बनाई वडा स्तरमै काम गरिनेछ भने केन्द्रिकृतरुपमा सलम्बुटार र जहरसिंपौवाको खेलमैदानलाई स्तरोन्नती गरिनेछ ।

> शंखरापुरमा रोजगारीको अवसर कसरी सृजना गर्नुहुन्छ ?

- समाजवादी अर्थतन्त्रलाई मजबुत बनाउने गरी नगरस्तरीय योजना ल्याईनेछ । रोजगारीको लागि कृषि र पर्यटन बाहेक स–साना उद्योगहरुलाई प्रोत्साहन गरिनेछ । साथै स्वरोजगारमूलक कामहरुको लागि आवश्यक प्रशिक्षण र सहुलियतपूर्ण ऋणको लागि नगरस्तरीय योजनाहरु बनाउनको लागि आवश्यक अध्ययन अनुसन्धान गरी दिगो विकास नीति ल्याईनेछ ।

> अन्त्यमा हाम्रा पत्रिका मार्फत् आम जनतालाई केही भन्न चाहनु हुन्छ की ?

- राजनीतिलाई सेवामुखी बनाउने, नगरपालिकाको नेतृत्वलाई गठबन्धनका पार्टी र संगठनको निर्देशन अनुसार चुनावी प्रतिवद्धता पत्रमा लेखिए अनुसार सोही लक्ष्य पूरा गर्नको लागि पूर्णरुपमा प्रयास गरिनेछ ।

मेयरको लागि प्रदान गरिएको गाडी सुविधा नलिने प्रतिवद्धता जाहेर गर्दै, मेयरको तलब भत्ता लगायतका सुविधाको आधा सामाजिक कार्यमा र आधा पार्टी निर्माणको लागि खर्च गरिने प्रतिवद्धता व्यक्त गर्दछु ।

अर्को कुरा पुनः म यही पदमा नदोहोरिने प्रतिवद्धता व्यक्त गर्दछु ।

Post a Comment

0 Comments