नेपाली नयाँ वर्षका दिन तागा लगाइँदै, तस्बिर : नेत्र शाही जुम्ला
जुम्ला – जुम्लामा नेपाली नयाँ वर्षको अवसरमा तागे सङ्क्रन्ति मनाइने गरिएको छ । यहाँको संस्कृतिअनुसार नयाँ वर्षमा तागे सङ्क्रान्ति मनाइने गरिएको हो ।
घरघरमा पुगेर ब्राह्मणले यजमानलाई तागा र पाती दिएर यो सङ्क्रान्ति मनाइने गरिन्छ । विशेषगरी विवाहित महिलाले धागोबाट तयार गरिएको तागा लगाएर परिवारको रक्षाको निम्ति कामना गर्छन् । ब्राह्मणले दिएको धागोको तागा श्रीमानले श्रीमतीलाई हस्तान्तरण गर्ने चलन भएको जानकारहरू बताउँछन् ।
खस संस्कृतिका जानकार रमानन्द आचार्यले नयाँ वर्षमा मनाइने तागे सङ्क्रान्तिमा धागोको सात वटा गाँठा पारेर महिलाहरूले लगाउने चलन रहेको बताउनुहुन्छ ।
आजको दिन हातमा तारा लगाएपछि महिलाहरूले झोडा गीत गाएर रमाइले पनि गर्ने चलन रहेको चन्दननाथ नगरपालिका ४ का शुलोचना हितानले बताउनुभयो । यसैगरी पिठोको पुवा भुटेर खाने चलनसमेत रहेको छ ।
खस संस्कृतिका जानकार आचार्यले यो पर्व कृषि कर्मसँग पनि सम्बन्धित रहेको बताउनुभयो । उहाँका अनुसार आजको दिन मार्सीधानको बेर्ना राखेको खेतमा पुरानो पानी हटाउने, त्यसपछि दुई–तीन दिन बेर्ना सुकाउने, आर्सो (स्थानीय मल) हाल्ने र नयाँ पानी हाल्ने चलन रहेको छ । त्यसरी राखिएको बिउ जेठ १ गते रोप्ने गरी तयार हुने आचार्य बताउनुहुन्छ ।
आज लगाएको तागा हरेक कात्तिक ६ गते निकाल्ने र नदीमा बगाउने चलन रहेको छ ।
copied from https://www.ujyaaloonline.com
0 Comments
Thanks for your concerns