सरकारमा सहभागी हुन कुनै प्रस्ताव आएको छैन–प्रकाशमान सिंह



२०७८ माघ ८ गते

लावण्य/साँखु । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको भावना र मर्मानुसार सबै तहका निर्वाचन हुनुपर्ने बताएका छन् ।

शनिबार डा. मिता सिंहद्वारा लिखित गणेशमान सिंहको संघर्ष विषयक पुस्तक विमोचनपछि आफ्नै निवास चाक्सीबारीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिंहले संविधानको व्यवस्थाअनुसार नै स्थानीय तहलगायत अरू तहका निर्वाचन हुनुपर्ने बताए । उनले निर्वाचनलाई पर धकेलेर स्थानीय तहलाई पदाधिकारीविहीन बनाउन नहुने धारणा पनि राखे ।

फरक प्रसंगमा उनले महाधिवेशनपछिको परिणामलाई लिएर पार्टीभित्रका नेताहरूलाई लखेट्ने काम बन्द हुनुपर्ने बताए । उनले आगामी दिनमा पार्टीलाई सशक्त बनाउनका लागि पार्टी महाधिवेशनको निर्णयलाई स्वीकार गर्दै एकताबद्ध रूपमा अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे ।

नेता सिंहले प्रधानमन्त्रीबाट आफूलाई सरकारमा सहभागी गराउन कुनै प्रस्ताव नआएको भन्दै हल्लाका पछि नलाग्न आग्रह गरे । पार्टीलाई विधिसम्मत लैजान आफूले महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई समर्थन गरेको र यसलाई ’बार्गेनिङ’को रूपमा नबुझ्न पनि आग्रह गरे ।

उनले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेको भूमिकाको चर्चा पनि गरेका थिए ।

Post a Comment

0 Comments