ई. राजदास श्रेष्ठ
“माटोको भर ढुङ्गालाई
ढुङ्गाको भर माटोलाई”
“आवश्यकता नै आविष्कारको जननी” भन्ने उखान अनुसार पानीभित्र पनि जमीरहन सक्ने सिमेन्ट पदार्थको आवश्यकताले गर्दा आज हामीले भन्ने गरेको पोर्टलैण्ड सिमेन्टको जन्म भएको हो । तर आजको पोर्टलैण्ड सिमेन्टको विकसित रुप लिन धेरै मिहेनत, परिश्रम र समय पनि त्यत्तिकै लियो । त्यसै सजिलोसँग जन्म भएको अवश्य होईन यो पोर्टलैण्ड भन्ने सिमेन्ट पदार्थ ।
हजारौँ हजार वर्ष सम्म र अहिलेसम्म पनि मानिसले प्रकृतिमा पाईने माटोलाई नै एक प्रकारको सिमेन्टको रुपमा प्रयोग गरे, र गर्दैछन् ।
माटो पछि त्यस्तै प्रकृतिमा पाईने जिप्सन भन्ने पदार्थलाई केही प्रशोधन गरी निर्माण सामग्रीको रुपमा र अन्य क्षेत्रमा प्रयोग गर्दै आए । जिप्सन पछि प्राकृतिकरुपमै पाईने चुन ढुंगालाई पोलेर बालुवा र पानीसँग मिसाई निर्माण कार्यको लागि प्रयोग गर्न थाले एक नयाँ सिमेन्टको रुपमा ।
चुनमा बालुवा र पानी मिसाएर इँट्टा, ढुंगा जोड्ने काम धेरै वर्ष प्रयोग गरियो । तर यो पनि माटो, जिप्सम जस्तै सुखा ठाउँको लागि मात्र उपयोग सिद्ध भयो । पानी भित्रको संरचना बनाउन एक नयाँ सिमेन्टको आवश्यकता खट्कि नै रह्यो निर्माण जगतमा ।
सबभन्दा ठूलो आवश्यकता समुन्द्र किनारमा जहाजहरुको सुरक्षित आवागमनको लागि बन्दरगाहहरु निर्माण गर्नको लागि पानीभित्र जम्न सक्ने सिमेन्ट पदार्थको आवश्यकता प¥यो ।
पानीभित्र जम्न सक्ने सिमेन्ट पदार्थ कहिले देखि प्रयोगमा आयो भन्ने तथ्य एकीन थाहा नभएपनि अठारौँ शताव्दीमा आएर रोमनहरुले चुनमा खरानीजन्य पदार्थ तथा पोलिएको माटोको धुलो मिसाएर पानीभित्र पनि जम्न सक्ने सिमेन्ट पदार्थको आविश्कार गरेको कुरा ईतिहासिमा पढ्न पाईन्छ ।
चुनमा मिसाउने खरानीजन्य पदार्थलाई प्रोज्वलाना भनिन्छ र यसरी प्रोज्वलाना र चुन मिसाएर बनाएको सिमेन्टजन्य वस्तुलाई प्रोज्वलाना सिमेन्ट भनिन्छ ।
सय डेढसय वर्ष अघि निस्केको पोर्टलैण्ड सिमेन्टमा यस्ता खरानीजन्य पदार्थ मिसाएर बनाएको सिमेन्टलाई पोर्टलैण्ड प्रोज्वलाना सिमेन्ट अथवा छोटकरीमा पिपिसी भनिन्छ ।
विगत केही समयदेखि नेपालको निर्माण सामग्री बजारमा यस प्रकारको पोर्टलैण्ड प्रोज्वलाना सिमेन्ट उपलब्ध हुन थालेको छ ।
३०–३५ वर्ष अघि म स्वयं त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा अनुसन्धान अधिकृत भै काम गर्दा यस प्रकारको प्रोज्वलाना सिमेन्ट र पोर्टलैण्ड प्रोज्वलाना सिमेन्टको उत्पादन गर्ने प्रविधि विकास भएको थियो र केही मात्रामा म स्वयंले औद्योगिक उत्पादन गरी विक्री वितरण पनि गरेको थिएँ काठमाडौँको बजारमा । अहिले साधारण (नर्मल) पोर्टलैण्ड सिमेन्ट (ओपीसी) को साथ साथै पोर्टलैण्ड प्रोज्वलाना सिमेन्ट (पिपिसी) प्रशस्त मात्रामा पाउन थालेको छ ।
दुई तीन सय वर्ष अगाडि रोमनहरुले सर्वप्रथम प्रोज्वलाना सिमेन्ट बनाउनो लागि युरोपियन देश ईटालीमा माउन्ट भिसुभियस (भिसुभियस ज्वालामुखी पहाड) बाट निस्केको खरानीजन्य पदार्थ लाभा प्रयोग गरेका थिए । सो पदार्थ ईटालीको पोज्जोउली भन्ने सहरबाट लिने गर्थे र सोही पोज्जोउली सहरको नामबाट पोज्जोलाना भन्ने शव्द निस्केको हो ।
पोज्जोउली सहरमा पाईने ज्वालामुखीबाट निस्केको खरानीजन्य पदार्थ लाभा चुनसँग मिसाएर बनाएको सिमेन्ट पदार्थलाई पोज्जोलाना सिमेन्ट भन्ने गरेको हो । यसैलाई पछि प्रोज्वलाना भन्न थालिएको होला ।
नेपाल भारत तथा अन्य धेरै देशमा ज्वालामुखी नभएको र ज्वालामुखीबाट निस्कने खरानीजन्य पदार्थ पनि उपलब्ध नहुन हुनाले लाभाको विकल्पमा विभिन्न उद्योगहरुमा खासगरी फलाम जस्ता धातुजन्य उद्योगहरुमा धातु पगाल्दा निस्कने खरानीजन्य पदार्थ “स्लाग” प्रयोग गरेर प्रोज्वलाना सिमेन्ट उत्पादन गर्न थाले र नेपाल तथा भारतमा भुसको खरानी तथा इँट्टाभट्टाबाट निस्कने खरानी तथा इँट्टाका धुलो कणहरु प्रयोग गरी प्रोज्वलाना सिमेन्ट उत्पादन गरेका हुन् ।
ज्वालामुखीबाट निस्कने खरानी धातु पगाल्ने उद्योगहरुबाट निस्कने स्लाग, इँट्टा भट्टाबाट निस्कने खरानी तथा इँट्टाका धुलोकण तथा कागज कारखाना तथा राईसमीलहरुमा बालिने भुस र परालका खरानीबाट पनि प्रोज्वलाना सिमेन्ट बनाउन सकिन्छ ।
प्रोज्वलाना प्रयोग गरेर बनाईएका सिमेन्टजन्य पदार्थ पानी भित्र पनि मज्जाले जम्न सक्नुको साथै साधारण पोर्टलैण्ड सिमेन्ट भन्दा यस प्रकारको प्रोज्वलाना सिमेन्ट अलि ढीलो गरी जम्ने भएपनि समय बित्दै जाँदा सयौँ वर्ष पछि पोर्टलैण्ड सिमेन्ट भन्दा कडा र बलियो हुन सक्छ यदि प्रयोग गरिएका प्रोज्वलाना भन्ने खरानीजन्य पदार्थको गुणस्तर राम्रो भएमा र चुन र उक्त प्रोज्वलाना पदार्थको मिश्रण राम्रो र सही तरिकाले प्रयोग गरेमा ।
४–५ सय वर्ष अगाडि काठमाडौँ उपत्यकाका विभिन्न गाउँ सहरहरुमा मल्लकालीन समयमा बनाईएका अधिकांश मठ मन्दिर र दरवारहरु सबै यसै प्रकारको चुन प्रोज्वलाना सिमेन्टबाट बनाईएका थिए । त्यसबेला आजकलको पोर्टलैण्ड सिमेन्ट आविश्कार भैसकेको थिएन । त्यसकारण सबै ठूल ठूला संरचनाहरु त्यसबेला चुन र प्रोज्वलानाबाट बनाईन्थ्यो । चुनमा बालुवा होईन सुर्खी भन्ने पोलिएको माटो अथवा इँट्टाको धुलो प्रोज्वलानाको रुपमा प्रयोग गरिन्थ्यो ।
साधारण घरहरु र पर्खाल टहरा आदि बनाउन पर्दा चुनमा इँट्टाको धुलो मात्र प्रयोग गरिन्थ्यो । तर विशेष प्रकारको संरचना जस्तै ठूल ठूला महत्वपूर्ण देव देवीका मन्दिरहरु बनाउँदा विशेष प्रकारको प्रोज्वलाना बनाईन्थ्यो । चुन र सुर्खीको मिश्रणमा जोडाई बलियो पार्न र लस्सादार मसला (चुन सुर्खी र पानीको मिश्रणलाई मसला भनिन्छ) बनाउन हामीले खाने गरेको चाकु पनि प्रयोग हुन्थ्यो भने अझ त्यो भन्दा पनि राम्रो गुणस्तरको मसला बनाउन नेपाल भाषामा “सिल्हाय” भनिने वस्तुको प्रयोग गरिन्थ्यो ।
युरोपमा पनि पुराना दरवारहरु बनाउन र चर्च बनाउन यस्तै प्रकारको प्रोज्वलाना सिमेन्ट प्रयोग हुन्थ्यो । रोमनकालमा आविस्कार भएको प्रोज्वलाना सिमेन्ट युरोप भारत हुँदै नेपाल आएको हुन सक्ने कुरामा धेरै शंका गर्नुपर्ने कुनै करा छैन ।
देश र परिस्थिति अनुसार प्रोज्वलाना पदार्थको उपलब्धीको हिसाबले मात्र यस प्रकारको सिमेन्ट मिश्रण विभिन्न देशमा विभिन्न प्रकारको हुने गर्छ ।
युरोपियन देशमा प्रोज्वलाना सिमेन्टको जोडाई मजबुत पार्न जनावरहरुको रगत र दुग्धजन्य पदार्थहरु पनि मिसाईन्थ्यो जसरी नेपालमा चाकु मिसाइन्थ्यो ।
दुधमा केसाईन भन्ने पदार्थ पाइन्छ जुन लस्सेदार हुन्छ हाम्रो चाकु जस्तै र जनावरको रगतमा आल्बुनिन भन्ने तत्व पाईन्छ (सबै रगतमा यो तत्व पाईन्छ) जुन केसाईन र चाकुजस्तै लस्सेदार हुन्छ ।
नेपालमा अति विशेष प्रकारको प्रोज्वलाना मिश्रण बनाउनलाई भिजाएर पिसिएको मास पनि मिसाईन्थ्यो । यसरी पिसिएको मासमा ठूलो लस्सा हुन्छ र यसले गर्दा प्रोज्वलाना सिमेन्टबाट काम गर्न धेरै सजिलो हुन्छ र पछि सुकेपछि यो जोडाई ढुंगा जस्तै कडा हुन्छ ।
तर अठारौँ शताव्दीको आधा आधीमा रोमनहरुले सबभन्दा पहिले प्रोज्वलाना सिमेन्ट बनाउँदा चुन र ज्वालामुखी पहाडबाट निस्केको लाभा भन्ने विभिन्न खनीजयुक्त खरानी मात्र प्रयोग गर्थे ।
उक्त लाभा भन्ने खरानी जन्य पदार्थमा सबभन्दा महत्वपूर्ण तत्व एक्टीभ सिलिका (ज्युँदो बालुवा) हुन्छ भने सिमेन्टको लागि आवश्यक फलामको तत्व र अन्य उपयोगी खनीजपदार्थहरु जस्तै आलुमिनियम पनि हुन सक्छ ।
नेपालमा प्रयोग हुने भुसको खरानीमा मुख्यतया एकटीभ बालुवा (सिलिका) हुन्छ भने पोलिएको माटो र इँट्टाको धुलोमा बालुवाको साथ साथै फलामको तत्व र आलुमिनियमको भाग प्रचुरमात्रामा हुन्छ जुन चुनमा पाईने क्याल्सियम तत्वसँग मिलेर कालान्तरमा एक बलियो जोडाई (सिमेन्ट) बन्छ ।
परम्परागतको रुपमा नेपालमा बनाईने चुन–सुर्खीको मिश्रणमा चाकु, सिल्हाय, मास आदि मिसाउनुको कारण उक्त मिश्रणलाई बढी लस्सा दिनु र छिटो जम्नमा सहयोग पु¥याउनको लागि हो ।
२०७२ सालको भुकम्पछि भत्किएका अनेकौँ मठ मन्दिरहरुको पुनर्निर्माण कार्यमा पनि परम्परागत चुन सुर्खीको प्रोज्वलाना सिमेन्ट नै प्रयोग गर्ने गरिएको छ, जुन अत्यन्त स¥हाहनीय छ, तर पहिले जस्तै मास, चाकु, सिल्हाय जस्ता सहायक पदार्थहरु भने प्रयोग गरिएको देखिँदैन र प्रयोग गर्न ठीक पनि लाग्दैन किनकी यी हाम्रा महत्वपूर्ण खाद्य वस्तु हुन् र यस्ता खाद्यवस्तु निर्माण कार्यमा प्रयोग गर्नु एक सामाजिक अपराध हुन जान्छ ।
क्रमशः ......
(लेखक सिमेन्ट सम्बन्धी विशेषज्ञ हुनुहुन्छ । उहाँले नेपालमा चुनढुंगाबाट बन्ने च्बलमभह सिमेन्ट पेण्ट उत्पादन गर्नुभएको थियो ।)
(प्रतिक्रियाको लागि धिकबलमभकज२नmबष्।िअयm)
0 Comments
Thanks for your concerns