माओवादी नेता जनार्दन शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेयता मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ । अर्थतन्त्रका सूचकहरू दिनप्रतिदिन संकट उन्मुख बन्दा पनि अर्थमन्त्री शर्माले विषयप्रतिको गाम्भीर्यता नबुझेर हो अथवा अन्य कुनै कारण हो उहाँ संवेदनशील बन्न सकेका छैनन् । निरन्तर खस्कँदो अर्थतन्त्रलाई कसरी रोक्ने र आर्थिक रूपमा मुलुकलाई कसरी समृद्ध बनाउनेतिर अर्थविज्ञ, उद्योगी व्यवसायी, सरोकारवालासँग एक मिनेट छलफल÷परामर्श गर्ने पहलसमेत अर्थमन्त्रीबाट भएको छैन । जुन, मुलुक र जनताका लागि दुर्भाग्य नै मान्नुपर्दछ ।
अर्थतन्त्रको यो संकटको समयमै सम्बोधन नहुने हो भने आर्थिक रूपमा मुलुक तहसनहस हुने खतरा देखा पर्दैछ । कोभिडका कारण विश्वकै अर्थतन्त्र थलिएको बेला हाम्रो अर्थतन्त्रले हातखुट्टा छोड्ने हो भने सहारा दिनेहरू भेटिन मुस्किल छ । यस्तो अवस्थामा बेलामै अर्थतन्त्रलाई थप खस्किन नदिन र मुलुकमा आर्थिक मन्दी आउन नदिनेतिर सरकार र अर्थ मन्त्रालयको साँचो हातमा लिएका मन्त्रीले पहल गर्नैपर्छ । अर्थमन्त्रीले लिने नीति, निर्णय, उठबस र हेलमेलले राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा प्रभाव पार्छ । त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा पर्छ । कोभिडले जर्जर बनेको अर्थतन्त्रलाई चलायमान बनाउनुको सट्टा नियन्त्रणमुखी बनाउने अर्थमन्त्रीको चाहना र योजना देखिन्छ । उत्पादनमा कमी, बढ्दो मूल्यवृद्धि, बैंकहरूको कर्जामा वृद्धितिर अर्थमन्त्रीको पटक्कै ध्यान पुगेको देखिएन । अर्थतन्त्र ओरालो लाग्नुको अर्को कारण हो, अर्थमन्त्रीको व्यवसायी र स्वार्थ समूहसँगको अपारदर्शी उठबस । अर्थतन्त्र बुझ्ने, सिक्ने, बुझेर निर्णय गर्नेभन्दा हल्का रूपमा प्रस्तुत हुने र त्यसैअनुसारका निर्णय गर्ने अर्थमन्त्रीको व्यवहारले अर्थविज्ञहरू चिन्तित छन् । सार्वजनिक खर्चमा मितव्ययिता, स्रोतको किफायती उपयोगमार्फत गुणस्तरीय पूर्वाधार निर्माण र उत्पादन क्षमता विकासमा अर्थमन्त्री शर्मा कमजोर देखिएका छन् ।
चालू आर्थिक वर्षको पाँच महिना नाघ्दा पनि विकास खर्च बढ्न सकेको छैन । अर्थमन्त्रीेले घोषणा गरेजस्तै राजस्व पनि वृद्धि हुन सकेको छैन । रेमिट्यान्स ७.५ प्रतिशतले घट्दो छ । व्यापार घाटा ५६ प्रतिशतले बढेको छ । विदेशी मुद्रा भित्रिने क्रम घट्दै गएको छ । वैदेशिक ऋण तथा अनुदानसमेत अपेक्षाकृत आउन सकेको छैन । वैदेशिक सहयोग ३४.५ प्रतिशतले कमी आएर ५५ अर्ब ९४ करोड मात्र आएको छ । यता ठूला लगानीका राष्ट्रिय गौरवका आयोजनाको प्रगति पनि निराशाजनक छ । मुल्यवृद्धि ५.३२ प्रतिशतले बढेको छ । भुक्तानी सन्तुलन पनि बिग्रिँदै गएको छ। शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा १.२३ अर्ब बचत रहेकोमा हाल १५०.३८ अर्ब ऋणात्मक छ । यही रफ्तारले ७ प्रतिशतको आर्थिक वृद्धिदर केवल आकाशको फल आँखा तरी मर जस्तै मात्र हुने निश्चित छ । कोभिडले थला परेका उद्योग, व्यवसायहरू तंग्रिन खोज्दैछन् । तर बैंकहरू लगानी गर्न सक्ने अवस्थामा छैनन् । बैंकमा तरलताको अभाव छ । सबै नागरिकलाई कोभिड भ्याक्सिन दिएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने आवश्यकता छ । तर सरकारले एक तिहाइ नागरिकलाई पनि खोप दिन सकेको छैन ।
सबैलाई खोपको व्यवस्था गरेर नागरिकलाई ढुक्क भएर लगानी गर्ने र उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नबनेसम्म अर्थतन्त्र उकास्न सकिन्न । अर्थमन्त्रीले ध्यान दिनैपर्ने अर्को महत्वपूर्ण पक्ष भनेको सुशासन हो । आफैं विवादमा पर्ने, स्वार्थ समूहका स्वार्थसँग जोडिने, विकास आयोजनाको मूल्यांकन, प्रगति र आवश्यकतैबिना बजेट विनियोजन गर्ने र कार्यकर्तामुखी योजनामा केन्द्रित हुने हो भने अर्थतन्त्र थप डामाडोल हुने निश्चित छ । अर्थमन्त्रीको बेलैमा ध्यान पुगोस् ।
0 Comments
Thanks for your concerns