फेसबुकका कार्यालय जनवरीसम्म नखुल्ने
फेसबुकले आफ्ना कर्मचारीहरुलाई अर्को वर्ष सन् २०२२ बाट मात्रै कार्यालयमा भौतिक रुपमा उपस्थित गराउने भएको छ ।
कोरोना भाइरसको डेल्टा भेरियन्टको फैलिँदो जोखिमका कारण अमेरिकाभरका आफ्ना कार्यालय भौतिक रुपमै पुनः खोल्ने फेसबुकको योजना आगामी वर्षसम्मका लागि धकेलिएको हो ।
आफूहरुको कार्यालय फिर्तीको विषय तिथिमितिले नभई तथ्यांकमा निर्भर गर्ने भन्दै फेसबुक प्रवक्ता कोल मेर भन्छिन्, ‘डेल्टा भेरियन्टमा आधारित कोभिड संक्रमणको तथ्यांक पछिल्लो समयमा वृद्धि हुँदै गएको अवस्थामा अमेरिकास्थित हाम्रो टिम आगामी जनवरी २०२२ सम्म कार्यालयमा जानुपर्ने छैन ।’
यो मिति अमेरिका बाहिरका अन्य केही देशमा पनि लागू हुने उनको भनाइ छ । गत वर्ष महामारी शुरु भएसँगै सबैभन्दा पहिले आफ्ना कार्यालयहरु बन्द गरेका अधिकांश ठूला प्रविधि कम्पनीहरुले आगामी सेप्टेम्बरदेखि आफ्ना कार्यालयहरु कर्मचारीहरुको भौतिक उपस्थितिमै पुनः सुचारु गर्ने योजना बनाइरहेका छन् ।
तथापि डेल्टा भेरियन्टको संक्रमण बढ्दै गएपछि सेप्टेम्बरदेखि कर्मचारीहरुलाई कार्यालयमै उपस्थित गराउने उनीहरुको योजनामा धक्का लाग्ने देखिएको छ । कतिपय कम्पनीहरुले त कार्यालयमा फर्किने आफ्ना कर्मचारीहरुलाई खोप नै लगाउनुपर्नेछ ।
स्मरण रहोस्, यसअघि अमेजनले पनि आगामी जनवरी ३ सम्ममा आफ्ना कर्पोरेट क्षेत्रका कर्मचारीहरुलाई कार्यालयमा नबोलाउने निर्णय गरिसकेको छ । त्यस्तै राइड हेलिङ कम्पनी लिफ्टले चाहिं फेब्रुअरी २ देखि मात्रै भौतिक रुपमा कार्यालय खोल्ने जनाएको छ ।
उता गुगल, एप्पल, उबल तथा माइक्रोसफ्टले भने पर्ख र हेरको रणनीति अख्तियार गर्दै सेप्टेम्बरको मितिलाई अक्टोबरसम्म धकेलेका छन् ।–सीएनएनबाट
६ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट
देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । उक्त प्याकेज अन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव ४४ प्रतिशत स्थानमा उच्च गतिको इन्टरनेट जडान भइसकेको छ ।
अठार प्याकेजमध्ये १५ प्याकेजअन्तर्गत ६० जिल्लाका तोकिएका स्थानमा १०० प्रतिशत तथा दुई प्याकेज अन्तर्गत १० जिल्लामा ५० प्रतिशतभन्दा बढी स्थानमा इन्टरनेट जडान गरिएको छ । यस्तै चार जिल्लाका तोकिएका स्थानमा सञ्जाल विस्तारका लागि सेवा प्रदायक छनोट भई निर्माण कार्य भइरहेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार १८ वटा प्याकेजका १५ हजार ९८२ स्थानमध्ये हालसम्म १४ हजार २१८ स्थानमा इन्टरनेट जडान भइसकेको छ भने एक हजार ७६४ स्थानमा इन्टरनेट जडान गर्न बाँकी छ । सातसय दुई स्थानीय निकायमध्ये असार मसान्तसम्म ६६३ स्थानमा इन्टरनेट जडान भइसकेको र ३९ स्थानीय तहमा जडान भइरहेको छ ।
यसैगरी पाँच हजार ९३३ वडा कार्यालयमध्ये हालसम्म पाँच हजार २६४ स्थान, पाँच हजार २२५ माध्यमिक विद्यालयमध्ये चार हजार ६४० विद्यालय र चार हजार १२२ स्वास्थ्य संस्थामध्ये तीन हजार ६५१ संस्थामा इन्टरनेट जडान भइसकेको छ । सम्पन्न भइसकेका परियोजनामध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइसकेको, दुई परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको र दुई परियोजनाको दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ ।
कूल रु पाँच अर्ब २६ करोड ९७ लाख ७० हजार रकममध्ये हालसम्म रु तीन अर्ब ३८ करोड ८७ लाख ब्रोडब्यान्ड परियोजनाका लागि सेवा प्रदायकलाई भुक्तानी गरिएको प्राधिकरणका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार उक्त परियोजना अन्तर्गत देशभरका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागिएको हो । उक्त परियोजनामा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेटिएको छैन् ।
0 Comments
Thanks for your concerns