लावण्य/साँखु । भारतीय पक्षले दार्चुलामा तुइनबाट युवक खसेको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको दाबी गरेको छ ।
भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार जिल्ला प्रशाशन कार्यालय दार्चुलालाई जवाफ दिँदै यस्तो दाबी गरेका हुन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले शुक्रबार भारतीय समकक्षीलाई घटनाबारे बुझी जानकारी दिन पत्र पठाएका थिए ।
‘उहाँलाई हिजो चिठी पठाइएको थियो। त्यसको जवाफमा आफ्नो सुरक्षाकर्मीले त्यस्तो नगरेको भनिएको छ। युवकले तरिसकेपछि तुइन फर्काउने क्रममा तारमा आफू पनि लटपटिएर खसेको पत्रमा भनिएको छ,’ उनले भने ।
नेपाली पक्षका स्थानीय र भारतीय अधिकारीको जवाफ नमिलेपछि प्रत्यक्षदर्शी र घटनास्थलको अनुसन्धानका लागि टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।
खलंगा आउने क्रममा व्याँस गाउँपालिका–२ मालका ३३ वर्षीय धामी तुइनबाट तर्दै गर्दा शुक्रबार महाकाली नदीमा खसेर बेपत्ता छन्। उनको अवस्था अज्ञात छ ।
दार्चुला प्रशासनले भन्यो – जयसिंहको विषय छानविन भइरहेको छ, दुई देशको सम्बन्धमा खलल पुग्ने गरी समाचार नलेखौं
जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको भनी प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
प्रशासनले शनिबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा त्यस्तो सूचना र समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले विज्ञप्ति जारी गरी घटनाको वास्तविकता छानविन भइरहेको जनाएकी छिन् ।
उनले सत्य तथ्य पुष्टि भइनसकेको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पार्ने कुनै पनि किसिमका तथ्यहीन, भ्रामक समाचार र सूचना प्रकाशन नगरी दिन अनुरोध गरेकी छिन् ।
घटनास्थलमा सशस्त्र प्रहरी, जिल्ला प्रहरी दार्चुला र राष्ट्रिय अनुसन्धान कार्यालयको टोली खटेर गएको र हालसम्म कुनै औपचारिक जानकारी आइनसकेको उनले बताएकी छिन् ।
‘अनुसन्धानपश्चात घटनाको सत्य तथ्य जानकारी गराइने छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा घटना सम्बन्धमा वास्तविक सत्य–तथ्य जानकारी गराई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन भारतीय समकक्षीलाई पत्राचार गरिसकिएको र सो घटना अनुसन्धान, छानविनको क्रममा रहेको उल्लेख छ ।
खलंगा आउने क्रममा व्याँस गाउँपालिका–२ मालका ३३ वर्षीय धामी तुइनबाट तर्दै गर्दा शुक्रबार महाकाली नदीमा खसेर बेपत्ता छन् । उनको अवस्था अज्ञात छ ।

0 Comments
Thanks for your concerns