वरुणेश्वर महादेव झोर एक चर्चाः



– केशव खड्का “साँखुको”

श्री स्कन्द पुराण केदार खण्ड माघ महात्म्य कुमार अगस्त्य सम्वादे श्री स्वस्थानी व्रत कथा सतिदेवी अंग पतन, पीठ उत्पत्ति वर्णन नाम खण्डमा सतिदेवीको अंग साढे सात कोटी अर्थात् ७५००००० संख्या पीठमा शीवलिङ्ग उत्पत्ति भएको पढ्न पाइन्छ । जस अनुसार ६४ शिवलिङ्गले मायापुरमा फियो पतन भएको स्थानमा मायापुर पीठ माया देवी अञ्चला योगिनी तपेश्वर महादेव उत्पत्ति भएको शिव शक्ति स्वरुपले रहेको त्यस सिद्ध भूमिमा ६४ शिवलिङ्गले जप ध्यान आदि गरेर तपस्या गरेको र त्यहाँ पनि ईश्वरी प्रसन्न भई वरदान माग भन्दा चतुर्षष्ठीले स्वयम्भु लिङ्ग भएर रहन पाउँ भनि मागेको र ईश्वरीले तथास्तु भनि वरदान दिएको कुरा पढ्न पाइन्छ ।

यसरी ६४ शिवलिङ्ग उत्पत्ति भै स्वयम्भु लिङ्गहरुको वर्णन पढेका हौँ । त्यस्तै उपलिङ्गहरुमा बाँकी लिङ्ग विभिन्न नामले प्रसिद्धी भै रहेको छ ।

यहाँनिर साविक झोर महाँकाल गाविसको साङ्ग्ले खोला पानी मुहान नजिक रहेको बरुणेश्वर महादेवको सम्बन्धमा केही कहावत किम्वदन्तीहरु सुनाउँदैछु । महादेव खोला भनिने साङ्ग्ले खोलाको किनारमा बौडेश्वर वा वरुणेश्वर महादेव एक विशाल ढुंगामा अवस्थित छ । यस गुफा पाँच सात फिट भित्र फराकिलोमा फैलिएको छ । यहाँ भित्र जानलाई टर्च लाईट वा उज्यालोको आवश्यकता पर्दछ । हाल गुफाभित्र बिजुलीको व्यवस्था गरिएको छ । महादेव खोलाको तिरमा रहेको विशाल ढुङ्गा नाघेर महादेव खोला वढेको छ । छहरा परेर खोला बग्दा छहराको पानीले गुफाभित्र जाने दर्शनार्थीहरुलाई रुद्राभिषेक गर्ने भएकोले दर्शनार्थीहरु समेत हर हर हर महादेव भन्ने गर्दछन् । गुफाभित्र पाँच मिटर जति पूर्वमा गणेश पाञ्चायनको मूर्ति र पश्चिम तर्फ गुफाभित्र शिव पाञ्चायन मूर्ति देख्न पाईन्छ । गणेशतर्फ आठसय वर्ष पुरानो एक सानो शिलापत्र छ भने शिवतर्फ बाट आकाश देख्न सकिन्छ । यसलाई बरुणेश्वर वा बौडेश्वर महादेव मन्दिरको गजुर भनिन्छ । यो अति रमणीय स्थल झोर महाँकालको पानी मुहान नजिक रहेको वरुणेश्वर महादेव स्थलबाट मालुङ्ग, टोखा र काठमाडौँ उपत्यका पूर्णरुपले देख्न सकिन्छ । गुफाभित्र तीन मिटर भित्र पसेपछि दुईवटा बाटो हुन्छ । पूर्वतर्फ गणेश मन्दिर पर्दछ भने पश्चिम तर्फ शिव मन्दिर पर्दछ । गुफाभित्र अन्य ढुंगाको मूर्ति पुजा भएपनि गणेश र शिवलिङ्ग पौराणिक र राम्रो प्रष्टको मूर्ति चिन्न सकिन्छ । झोरको दाह्रीबा भनिने धु्रर्वसँग कुरा गर्दा शिलापत्र वि.सं. १२ सय तिरको हो भन्नुहुन्छ ।

वरुणेश्वर महादेवको प्रवेशद्वार एक मिटर जति अग्लो भएकोले यहाँ निहुरेर भित्र पस्नु पर्ने र भित्र पनि ठाउँ ठाउँमा निहुरेर हिँड्नु पर्ने हुन्छ । गुफाभित्र ७ मिटर जति लम्वाई र ५ मिटर सम्म चौडा भएको ठाउँ उज्यालोमा देखिन्छ । माथि सानो गजुर आकारको ढुङ्गाको ओडारबीच प्वाल देख्न पाइन्छ । यी नै वरुणेश्वर महादेव मन्दिरको गजुर भनिँदो रहेछ । यस प्वालबाट आकाश देखिन्छ । ओडारभित्र भिरालो जमिन भएकाले खुट्टा पानीमा टेकेर हिँड्नुपर्छ । ओडारभित्र अन्य शिलाहरु लाई पनि विभिन्न मूर्ति भनि पूजा गर्ने गरेको देखिन्छ । मन्दिर बाहिर खोलामा दुईवटा फलामको पुल हालेर तीर्थयात्रीहरुलाई जान आउन सजिलो होस् भनि बाटो बनाइएको छ ।

वरुणेश्वर महादेव बाहिर अरु दुईवटा ढुङ्गे ओडार हरु छन् । यहाँ परापूर्व कालमा तीर्थयात्री वा बटुवाहरु बास बस्ने गरेको किम्वदन्ती सुन्न पाइन्छ । हाल वरुणेश्वर मन्दिर परिसरमा दुईवटा धर्मशाला बनिसकेको छ भने पुरानो ओडारलाई जस्ता पाता हालेर ट्रस्ट बनाइएको छ । ओडार ठूलो देखिन्छ । महादेव खोला ठाडो खोला र ठूल ठूला ढुङ्गा भएकोले छहरा भै बगेको खोला तर्न असमर्थ देखिन्छ । यस मन्दिर वरपर १०८ कुण्ड भन्ने मन्दिरको वरपर तलमाथि आठ वटा छहरा देख्न सकिन्छ । मन्दिरको दुई सय मिटर माथि खोलामा पानी थुनेर पानी मुहान बनाइएको छ । यो पानी मुहान राणाशासनकालमा नै निर्माण गरिएको थियो भन्ने कुरा अनुमान गर्न सकिन्छ । पुराना पाईप र पुरानो प्रविधिको चुनासुर्कीको इट्टा जडानले बुझिन्छ । पपहिला यस मन्दिरमा आएर भोज भतेरको लागि भाँडाकुडा माग्दा पाईने किम्वदन्ती छ । कालान्तरमा एक व्यक्तिले खड्कुलो नदिने मनसायले यसै खोलाको दहमा लुकाएर सामान पु¥याएछ । त्यसबेला देखि सामान दिने कार्य भगवानले बन्द गरेको कुरा गाउँलेहरु बताउँछन् । उता खड्कुलो लुकाएको ठाउँमा खड्कुलो देखाएर खड्कुलेकुण्ड भनि नाम रहेको छ ।

साङ्गले खोलाको मुहान महादेव खोला पानी पोखरी वरुणेश्वर महादेव स्थान वरपर १ सय ८ वटा कुण्ड रहेको छ । यी कुण्ड देख्न सकिन्छ तर बहुतै कठिन छ । ठूला ढुङ्गाको बीचमा ककाराबाट पानी बगेको खोलाले घेरेरै छहराको पानी जमेको ठाउँ देखिन्छ । वरुणेश्वर ईच्छा सिद्धी महादेवले मागेको कुरा पूरा गरिदिने जनबिश्वास रहेको छ । ऊँ नमः सिवाय ।।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)


Post a Comment

0 Comments