लावण्य/साँखु । मुलुककै ऐतिहासिक एवं सांस्कृतिक नगरी साँखुमा आठ दिनसम्म मनाइने बज्रयोगिनी जात्रा भोलिदेखि शुरु हुने भएको छ ।
वैशाख १४ गतेदेखि शुरु हुने जात्राको लागि चैतेदशैँ (अष्टमी)मा पाँच थकाली गुर्जुसहित स्थानीय नगरवासीका तर्फबाट मूल बज्रयोगगिनी देवीलाई दाम, सुपारी चढाएर निमन्त्रणा गर्ने परम्परा छ । चैत्र शुल्क पूर्णिमादेखि वैशाख कृष्ण अष्टमीसम्म चल्ने यो जात्रा तीन हजार ३०० वर्ष अघिदेखि शुरु भएको दावी स्थानीय ईतिहासविद् प्रकाशमान सक्वको रहेको छ । ऐतिहासिक पौराणिक बज्रयोगिनी जात्राको अवसरमा चैतेदशैँको दिन जात्रा शुरु भएको सङ्केतस्वरुप नायखीं बाजा बजाएर नगर परिक्रममा गरेर झ्याली पिट्ने गरिन्छ ।
यसवर्ष कोरोना महामारीलाई ध्यानमा राखेर चलाखु टोल सुधार समितिले मास्क, स्यानिटाईजर वितरण गर्नुका साथै साबुन पानीले हात धुने व्यवस्था गर्नेछ भने सामाजिक दूरी कायम गरेर पूजा आजा सञ्चालन गर्नेछ । तर खट बोक्नेहरुलाई भने स्यानिटाईज गर्ने र एउटा खट र अर्को खट कम्तीमा ५० मीटरको दूरी फरक पारेर जात्रा गरिने जानकारी समेत अध्यक्ष प्रज्वलमान सिंहले बताउनुभएको छ ।
साथै उहाँले जात्रा सञ्चालनका क्रममा खटको अगाडि बस्ने समूह र पछाडि बस्ने समूह समेत एक आपसमा नमिसिन र खाजा खाने समयमा समेत दुई समूहमा विभाजित भई खाजा लिईदिन समेत अनुरोध गर्नुभएको छ । उहाँले सञ्चारकर्मीहरुलाई र साँखु बासी दाजुभाईहरुलाई भरिसक्य सरकारले जारी गरेको मापदण्ड पालना गरिदिन अनुरोध गर्नुका साथै कहिँ कतै कमजोरी रहे सो विषयमा प्रचारप्रसार गर्नुको साटो कमी कमजोरी औँल्याई दिनु हुन अनुरोध गर्दै त्यसरी औँल्याईएका कमजोरीलाई अर्को दिनको जात्रामा तत्कालै सच्याईने समेत बताउनुभएको छ ।
साथै आवश्यकता अनुसार स्वयमसेवक परिचालन गरि खट बोक्ने जात्रालु र दर्शकका रुपमा आउने भक्तजनहरुबीच समेत दूरी कायम गर्ने प्रयास समेत गरिने भएको छ । यसको लागि माइकिङ गरेरै सर्वसाधारण दर्शनार्थीहरुलाई खट देखि टाढै राख्ने प्रयास गरिनेछ ।
परापूर्वकालमा साँखु महानगरका राजा शङ्खरदेवले आफ्नो राज्यअन्तर्गतका सात वटा गाउँको कल्याण होस्, खेतीपाती राम्रो होस् तथा महानगरवासीमा सुखशान्ति मिलोस् भन्दै सो जात्रा चलाएको जानकारहरु बताउँछन् । अष्टमीको दिन जात्रा शुरु भएको सङ्केतस्वरुप नायखीं बजाएपछि साँखु नगरभित्रका बासिन्दाले छालाको जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, साहुले ऋण असुल्न, हात्ती घोडा चढ्न र डोलीमा बस्न नपाउने मान्यता रहिआएको छ ।
इतिहासविद् प्रकाशमान सक्वका अनुसार, “मल्लकालमा जात्रा अवलोकन गर्न हात्ती घोडा चढेर आउने राजारानीसमेत नगर प्रवेश गर्न पदैल हिँडेर आउने इतिहासमा उल्लेख छ ।” जात्रामा बज्रयोगिनी माइको मन्दिरबाट बज्रयोगिनीको सुनको जलप लगाएको प्रतिमूर्ति, सिंहिनी, व्याध्रिनी र स्वयम्भू(चैत्य भराड)को गरी चार वटा मूर्ति तल साँखु बजारमा झार्ने प्रचलन छ ।
नेपालको शिरोमणि देवी बज्रयोगिनी माताबाट राजा र प्रजालाई दर्शन दिने उद्देश्यले यी चार मूर्ति तल साँखु बजारमा ल्याउने चलन चलाइएको हो । जात्रामा शङ्खरापुर नगरको उत्तरतिर बज्रयोगिनी मन्दिरबाट मूर्तिसँगै सिंहमुखी, बाघमुखि मूर्तिलाई खटमा बोकेर बाजागाजासहित साँखु बस्तीमा ल्याउने गरिन्छ । बज्रयोगिनी माई बस्तीमा सवारी गराउँदा बालाजुको बाइसधारामा पनि मेला लाग्ने परम्परा छ ।
चार मूर्ति बजारमा झारेपछि ऐतिहासिक साँखु नगरका लप्सेफेदी, पालुबारी, गागल, इन्द्रायणी र चाँगुलगायत सात गाउँमा चार दिनसम्म खेतीपातीका काम नगर्ने चलन रहेको छ । जात्रा प्रत्येक वर्ष मनाउने भएतापनि साँखु बजारभित्रका चार वटा टोलमा मात्रै माई राख्ने सत्तल रहेको छ । सो सत्तलहरुमा प्रत्येक वर्ष पालैपालो बज्रयोगिनी माईको विराजमान हुन्छ । यस वर्ष साँखुको चलाखुटोलमा देवी देवताहरु राख्ने पालो परेको र यस वर्ष जात्रा पनि चलाखु टोल सुधार समितिको पहलमा हुने भएको हो । चलाखु टोलको अगुवाईमा बज्रयोगिनी जात्रा मूल व्यवस्थापन समितिमार्फत् जात्रा सञ्चालन गरिने भएको हो ।
काठमाडौँ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङलगायतका छिमेकी जिल्लाबाट जात्रा हेर्न आउनेको बाक्लो उपस्थिति हुने आयोजकले जानकारी दिएको छ । जात्रा वैशाख १४ गतेदेखि शुरु भएर वैशाख २२ गते सकिने छ ।
0 Comments
Thanks for your concerns