ओझेलमा परेका नेपालभाषाका महाकवि


रमेश भट्टराई पुजारी







(महाकवि गिरिजाप्रसाद जोशीको यही चैत २६ गते हुने  ८३ औ जन्म जयन्तीको अवसरमा यो लेख तयार गरिएको हो ।)

पानीको दहबाट खेतीयोग्य मलिलो जमिन आवादी भूमि हुदै घना शहरको रुपमा विकशित काठमाडौं उपत्यकाको काखमा हुर्केको एउटा जातिको रुपमा चिनिन्छ नेवार समुदाय । सदियौँदेखि आफ्नै रीतिरिवाज भाषा, लिपि, भेषभुषा र बन्द व्यापार सहितको मौलिक जीवन शैली नेवारीपनको पर्याय हो जस्ले आफ्नै माटोबाट उठेर सम्बृध्द बनेको संस्कृति मार्फत संसार सामु नेपाल राष्ट्रको पहिचान गाढा बनाएको छ । नेवार समुदायको चिनारी यो देशका लागि गौरवपूर्ण र गर्विलो छ । कुनै ठाउँबाट सर्दै आएको  आयातित नभई यही माटोमा उम्रेको, हुर्केको र झांगिएको नेवार जातिको आफ्नो भाषा नेपाल भाषा, आफ्नै लिपि रन्जना लिपि र आफ्नै संवत् नेपाल संवत छ जस्का कारणले मात्र नेपाल संयुक्त राष्ट्र संघमा ऐक्यबद्धताको लागि ठाउँ पायो याने स्वतन्त्र राष्ट्रका रुपमा मान्यता पायो ।

सन १९५५ मा संयुक्त राष्ट्र संघले स्वतन्त्र राष्ट्र भइ आफ्नो स्वतन्त्रताको परिचय बनाएका प्रत्येक देशलाई आफ्नो भाषा, लिपि माग्यो । नेपालले नेपाली भाषा ,देवनागरी लिपि र विक्रम सम्वत लिएर गएको थियो तर पहिल्यै यी तीनवटै कुरा भारतले दावी गरिसकेको हुनाले नेपालको शीर निहुरिसकेको थियो । यदि नेवार जातिसंग नेपाल भाषा, नेपाल संवत र रन्जना लिपि थिएन भने नेपाल अहिले भारतको एउटा प्रान्त जस्तै पहिचान विहिन भएर रहने कुरामा दुईमत छैन त्यसैले नेपाल देश संसारमा गोलवध्द गर्नका लागि संयुक्त राष्ट्रमा नेपाल भाषा, नेपाल संवत् र रन्जना लिपि नेपाल राष्ट्रको पहिचानको रुपमा दर्ता गराइएको छ ,यसमा हामी सबै नेपालीले गर्व गर्नैपर्छ ।

नेपालका जातजाति मध्ये नेवारहरुको संस्कृति सबैभन्दा संवृध्द मानिन्छ । यस संस्कृतिमा चाडवाड र रितिस्थितिको भण्डार छ । इतिहास देखि नै सम्पन्न रहेको नेवार जाति हो । काठमाडौंका नेवार जाति सम्पन्न हुनाको कारण यस क्षेत्रको मलिलो माटो नै हो । वर्ष भरिमा ३ महिना दुःख गरेर वर्षभरिलाई खान पुग्ने अन्न, तरकारी साथै फलफूल उत्पादन हुने पुर्ण सिंचित हुने उर्वर भुमि हो काठमाडौ उपत्यका । यस्को भरपूर उपयोग गरेर रमाएका नेवारहरुले बाँकी रहेको समय भोजभतेर, नाचगान वजानमा उमंग भएर एक आपसमा माया साटासाट गरेर झनै रमाउने वातावरण सृजना भयो । रमाउनका लागि रक्सीको सगुन शुरु भयो । यसरी विकसित भएको संस्कृति पछि गुठीको रुपमा परिणत भयो । गुठी संस्थानको रेकर्ड अनुसार हाल नेपालका ६९ जिल्लामा २२०० गुठी छन् भने काठमाडौंमा ७४४, भक्तपुरमा ३४७ र ललितपुरमा १५८ गुठी रहेका छन् ।

मानव विकासको क्रम संगै काठमाडौ उपत्यका अतिक्रमण हुन थाल्यो । सुविधा सम्पन्न शहरको रुपमा रहेकोले बाहिरबाट बसाइ सरेर आउने बिभिन्न समुदायका भाषा संस्कृति आदिले यहाँको भाषा, संस्कृति, बाजा पहिरन धरापमा पर्न लागेका छन् । नयाँ पुस्ताले आफ्नो मातृभाषा नबोलेर नेपाली अनि अंग्रेजी भाषालाई प्राथमिकता दिन थालेका छन । भाषा र संस्कृति एक अर्काका परिपुरक हुन, भाषा रहेन भने संस्कृति पनि रहँदैन । संस्कृत पछिको प्राकृतिक भाषा लोप हुन नदिने र नेपाल भाषाको संरक्षण र संवर्दन गर्ने एक महान दार्शनिक हुनुहुन्छ साहित्यकार गिरिजाप्रसाद जोशी ।

उहाँको जन्म वि.सं १९९५ मा पिता देवप्रसाद जोशी र माता खड्गकुमारी जोशीको कान्छो सुपुत्रको रुपमा काठमाडौंको ऐतिहासिक नगरी साँखुको धुँला टोलमा  भएको थियो । उहाँले एम ए÷बि एड सम्मको शिक्षा हासिल गर्नुभएको थियो । उहाँले साँखु स्थित भाग्योदय मा.वि .र सानागाउँ स्थित राष्ट्रिय मा.वि.मा धेरै वर्ष अध्यापन कार्य गर्नुभयो । उहाँले नेपाल भाषामा धेरै काव्य महाकाव्य सिर्जना गर्नुभएको छ । उहाँका  महाकाव्य, खण्डकाव्य, थुप्रै कविता संग्रह, उपन्यास, गजल, समालोचना, व्यंग्य, गीति रेकर्ड लगायत  दर्जनौं कृति प्रकाशित छन् । उहाँ नेपाल भाषाका महाकवि हुनुहुन्छ र पनि यस अघि नै नेपाल भाषाका महाकवि भनेर सिध्दिदास महाजुलाई घोषणा गरिसकेको हँुदा  आधुनिक कालका नेपाल भाषाका साहित्यकारहरु बैकुण्ठ प्रसाद लाकौल, सिध्दिचरण श्रेष्ठ, दुर्गालाल, नारायण देवी, पुर्णबहादुर वैद्य, श्यामसुन्दर सैजु, बुध्द सायमी, योगेन्द्र प्रधान, आनन्द जोशी, त्रिरत्न शाक्य, भगतदास श्रेष्ठ, सुदन खुस, नर्मदेश्वर प्रधान, प्रतिसरा सायमी, केसवमान शाक्य, नविन चित्रकार, नारद वज्राचार्य, राजभाई जकमी, सुरेश किरण, ईश्वरी मैया, चित्तधर हृदय कै हाराहारीमा गिरिजाप्रसाद जोशीलाई राखेर हेरेको पाइएको छ । यसरी अरु कविकै हाराहारीमा महाकवि गिरिजाप्रसाद जोशीलाई राख्दा अन्याय हुन जान्छ किनभने  उहाँको उचाइ धेरै माथि छ भन्ने भनाइ धेरैको रहेको छ । नेपाल भाषालाई संरक्षण र सम्वद्र्धनको लागि उहाँको योगदान अतुलनीय रहेको छ । हुनतः उहाँले जस्तै धेरैले महाकाव्य लेखेपनि अरु नेपालभाषा क्षेत्रका साहित्यकारहरुले भने महाकविको उपाधी पाउन सकेको छैन ।

“उहाँ साहित्यकार मात्र होइन उहाँ सामाजिक ,राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो, उहाँको दर्शन सम्हालेर अगाडि बढ्ने हो भने यो देश कति माथि पुगिसकेको हुन्थ्यो “भनेर बरिष्ठ ईन्जिनियर तथा समाजसेवी राजदास श्रेष्ठ भन्नुहुन्छ ।

“उहाँका प्रत्येक कृतिमा वैज्ञानिक, मायाप्रेम, राजनीतिक सबै चिन्तन समेटिएको छ “संस्कृतिविद् प्रकाशमान सक्व बताउनु हुन्छ ।

“उहाँमा विलक्षण प्रतिभा थियो” भनेर उहाँबाट प्रशिक्षित छात्र छात्राहरू अहिले पनि नतमस्तक हुन्छन् ।

यस्ता महान चिन्तक गिरिजाप्रसाद जोशी बि.सं.२०४४ साल भाद्र २२ गते किर्तिशेष हुनुभएको थियो । उहाँको साहित्यिक कृतिहरुको चर्चा त बेला मौकामा हुने गरेकै छ । तर उहाँको राजनैतिक विचार र उहाँले जीवनमा भोग्नुभएको राजनैतिक दुःख कष्टको अझ सशक्त रुपमा  प्रचारप्रसार हुन नसकेको हुँदा यस्ता महान व्यक्तिको व्यक्तित्व ओझेलमा परेको हो कि जस्तो महसुस भएको छ । उहाँका कृतिहरुलाई नेपाली तथा अंग्रेजी भाषामा भाषानुवाद गरेर बढी भन्दा बढी प्रचारप्रसार गर्नुपर्ने टठ्कारो आवश्यकता छ । आउन लागेको यही चैत २६ गते उहाँको ८३ औँ जन्म जयन्तीको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु ।

(प्रतिक्रियाको लागि lwsandesh@gmail.com)

Post a Comment

0 Comments