गत बैशाख १२, १३ र २९ गते आएको भूकम्प र त्यसपछिका पराकम्पका कारण मुलुकभर हालसम्म ७ सय ४१ वटा सम्पदामा क्षति पुगेको बताइएको छ । त्यसमध्ये १ सय ३३ वटा पूर्णरुपमा क्षति भएका छन् । पुरातत्व विभागले जनाए अनुसार बाँकी ६ सय ८ वटा सम्पदा आँशिक र सामान्य क्षति भएका छन् ।
साँखुमा पनि पुरातत्व विभागले बज्रयोगिनी मन्दिर, सो सँगैको चैत्य, बज्रयोगिनीको जात्रा गरिने मूर्ति राखिने मन्दिर, साँखु बजारको सिरानमा रहेको ज्योतिर्लिङ्गेश्वर लगायतका मन्दिरहरुमा टेको लगाएर जोगाउने कार्य गरिसकेको छ । त्यसैगरी माई राख्ने चलाखुको न्हायकं सतः अर्थात् गांसी फल्चाको एक पाटो भत्किएको र अन्य भाग चर्किएको कारण केही दिन अगाडिदेखि सो सत्तललाई भत्काउन थालिएको छ ।
गत वर्ष मात्रै जिर्णोद्धार गरिएको विश्वेश्वर मन्दिरका तोरणहरु पनि खुस्किएका छन् । धुँलाटोलमा अवस्थित कलात्मक पार्टी पूर्णरुपमा भत्किएको छ । सुन्टोलको नारायण मन्दिर पनि पूर्ण रुपमा क्षति भएको छ भने साल्खा टोलको भजन मण्डल रामझोपडी भजन मण्डल समेत पूर्णरुपमा भत्काउनुपर्ने अवस्थामा छन् ।
माघ महिनाभर पूजा आजा गरिने माधवनारायण ११ महिना विराजमान गरिने ब्रम्हपुरको घरमा क्षति पुगेको छ भने बज्राचार्यहरुको मूल चोकको आगँछेँ पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । त्यसैगरी साल्खा र धुँलाको सिमानामा रहेको चैत्यमा क्षति भएको छ ।
जसरी साँखुका घरहरु करिब ९०–९५ प्रतिशत ध्वस्त भएका छन् । त्यसैगरी साँखु वरपरका सम्पदाहरुमा पनि नराम्ररी क्षति पुगेको छ । अब सम्पदा जोगाउन पुरातत्व विभाग एक्लैले सक्छ कि सक्दैन । सक्दैन भने उनलाई कस कसले सघाउने सो को निक्र्यौल तत्काल गरिनुपर्दछ ।
हुनतः सरकारले २ वर्ष भित्र सम्पदा पुननिर्माण गर्ने घोषणा गरिसकेकै छ । तर साँखुकै धुँलाटोलको सत्तल समेत तत्काल भत्काउने वा एक तल्ला काट्ने भन्ने अन्यौल भएको छ । किनकी आगामी चैत्रमा यस सत्तलमा बज्रयोगिनी माईको जात्रा गरिँदा माई विराजमान गराउनुपर्ने हुन्छ । यस्तो अन्यौलका बीच पनि पुरातत्व विभागसँग समन्वय गरि नगरपालिका, सरकार, दातृ निकायसँग हार गुहार गरेरै भएपछि सम्पदा बचाउनुका विकल्प छैन । हाम्रो सम्पदा हाम्रो गौरव हो चेतना भया ।
0 Comments
Thanks for your concerns