– बालगोपाल श्रेष्ठ
नेपालमा एकै वर्षमा धेरै पटक नयाँ वर्षका उत्सव मनाइन्छन् । वैशाखको पहिलो दिन विक्रम संवत्को पात्रो परिवर्तनको बेला नेपाल सरकारले आधिकारिक रूपमा नयाँ वर्षको उत्सव मनाउँछ । नेपालका तिब्बतो–बर्मन र मंगोल मूलका मानिसहरू जस्तै गुरुङ, तामाङ र शेर्पाहरू तोला वा तमु ल्होसार (डिसेम्बर÷जनवरी), सोनम ल्होसार (जनवरी÷फेब्रुअरी) र ग्याल्बोे ल्होसार (फेबु्रअरी÷मार्च), क्रमशः एक वर्षको तीन फरक समयमा ।
त्यस्तै गरी, तराईका मानिसहरूले नयाँ वर्ष अर्कै समयमा मनाउने गर्छन् । यता आएर नेपालका राई र लिम्बू जातिले पनि किराँत वा येले संवत्को नयाँ वर्ष मनाउन थालेका छन् । आजकल केही मानिसहरू ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष जनवरीको पहिलो दिनमा मनाउने पनि गर्छन् । केवल विक्रम संवत् मात्र नेपाल सरकारले आधिकारिक पात्रोको रूपमा प्रयोग गर्छ, जबकि अन्य पात्रोले भने यस्तो सरकारी मान्यता पाएका छैनन् ।
उल्लेखनीय कुरा, नेपाल संवत्को ११३२ नयाँ वर्षको अवरसमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल संवत्लाई नेपालको आधिकारिक पात्रोका रूपमा प्रयोग गर्ने घोषणा गरे र नेपाल संवत् प्रचलनमा ल्याउन नेपाल संवत्का एक अभियन्ता पद्मरत्न तुलाधरको अध्यक्षतामा एक सुझाव समिति पनि गठन गरे ।
त्यसपछिको साल, नोभेम्बर २०१२ मा नयाँ वर्ष ११३३ को उत्सवको क्रममा पनि उनै प्रधानमन्त्री डा. भट्टराईले पद्मरत्न तुलाधरले सरकारलाई पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जाहेर पनि गरे । उनले विक्रम संवत्लाई सरकारी प्रयोगबाट प्रतिस्थापन गर्नुपर्ने कुरा पनि स्पष्ट गरे । यद्यपि यस दिशामा कुनै कदम चाल्नुअगाडि नै उनका विपक्षीहरू उनलाई कुर्सीबाट हटाउन सफल भए ।
त्यसपछिका प्रधानमन्त्री र सरकारहरूले विक्रम संवत्लाई सरकारी प्रयोगबाट हटाउने र नेपाल संवत्लाई आधिकारिक पात्रोका रूपमा प्रयोग गर्ने कुरालाई कार्यान्वयनमा ल्याउन खासै कुनै काम गरेको देखिएन ।
विगत धेरै दशकदेखि नेपाली जनता, विशेष गरी नेवार जनसमुदायले नेपाल संवत्लाई देशको राष्ट्रिय पात्रोका रूपमा मान्यता दिन देशव्यापी अभियान थालेका थिए । विक्रम संवत्को सुरुवात प्राचीन भारतमा भएको थियो भने नेपाल संवत्को उत्पत्ति नेपालमै भएकाले र यो संवत् देशको नामले ’नेपाल संवत’ रहेको हुनाले पनि सन् १९९० मा प्रजातन्त्रको पुनर्स्थापनापछि यो संवत्लाई सरकारी मान्यताका लागि दबाब बढ्न थाल्यो ।
सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा रहेको नेपाली कांग्रेसको सरकारले नेपाल संवत्का प्रवर्तक मानिएका शंखधर साख्वाःलाई राष्ट्रिय विभूतिको रूपमा सन्मान ग¥यो । त्यसैगरी, नेपाल संवत् ११२८ नयाँ वर्षको उत्सवको बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो लेटर प्याडमा नेपाल संवत्को मिति प्रयोग गर्ने र नेपालको प्रशासनलाई पनि त्यसै लगाउने निर्देशन दिने प्रतिवद्धता जाहेर गरे । तर, उनको घोषणाको व्यवहारमा कार्यान्वयन कहिल्यै भएन ।
नेपाल संवत् ११२९ नयाँ वर्षको उत्सव मनाउँदै गर्दा २४ अक्टोबर २००८ का दिन माओवादीले नेतृत्व गरेको गणतन्त्र नेपालको पहिलो सरकारको मन्त्रिपरिषद् बैठकले सर्वसम्मतिले नेपाल संवत्लाई नेपालको राष्ट्रिय संवत् भनेर घोषणा पनि ग¥यो ।
दीर्घराज प्रसाईंजस्ता विक्रम संवत्का कट्टर समर्थक भन्छन्, ’विक्रम संवत् नेपाली राष्ट्रवादको महिमा हो ।’ ‘नेपाल संवत्को इतिहासको एक लेखा–जोखा’ शीर्षकको लेखमा प्रसाईं भन्छन्, ’नेपाल संवत् सबै पार्टीका बाहुन नेताहरूका मागिखाने भाँडोजस्तै भइरहेको छ’ (द हिमालयन बेकन, १ नोभेम्बर २०१०) । अविश्वास र शंकाका बाबजुद प्रधानमन्त्री बाबुराम भट्टराईले २ अक्टोबर २०११ मा नयाँ वर्ष ११३२ नेपाल संवत्को उत्सवमा नेपाल संवत्लाई नेपालको आधिकारिक पात्रोका रूपमा मान्यता दिने घोषणा गरे । उनले नेपालभाषामा आफ्नो भाषण पनि पढे, जुन अभूतपूर्व थियो । किनकि त्यसअघिका कुनै पनि नेपाली प्रधानमन्त्रीले खस–नेपाली भाषामा बाहेक कुनै अन्य नेपाली भाषामा भाषण गरेका थिएनन् ।
नेपालमा राणा प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९०३ मा मात्र विक्रम संवत्लाई नेपालको आधिकारिक पात्रोका रूपमा अपनाएका थिए भने अन्य संवत् र पात्रोलाई खासै महत्त्व दिएका थिएनन् । नेपाल देशकै नाममा रहेको ११४१ वर्षको इतिहास बोकेको नेपाल संवत्लाई आफ्नै देशमा ओझेलमा पारिएको थियो । नेपाली जनतालाई नेपाल संवत्बारे अझै पनि राम्ररी जानकारी दिइएको छैन ।
यी सबै कुरा गत एक शताब्दी वा त्योभन्दा कम समयमा भएको हो । राज्यशक्तिले आफ्नो देशभित्रका संस्कृति र परम्परालाई कसरी ओझेलमा पार्न सक्छ भन्ने कुराको यो एउटा ज्वलन्त दृष्टान्त हो । इतिहासमा राजा, महाराजा वा प्रख्यात व्यक्ति वा धर्मको नाममा संवत्को नाम राख्नु सामान्य प्रचलन हो तर नेपाल संवत् त देशकै नामबाट चलेको संवत् हो । यस मानेमा यो एक अद्वितीय उदाहरण हो । यद्यपि नेपाल सरकारको ’एक भाषा र एक संस्कृति’ को नीतिले गर्दा विशिष्ट इतिहास हुँदाहुँदै पनि नेपाल संवत् हराएको जस्तो स्थिति छ । यसले विगतका सरकारहरूले देशको संस्कृति र परम्परालाई कसरी दबाएर राखेका रहेछन् भन्ने पनि स्पष्ट गरेको छ । तिनीहरूले देशमा पहिलेदेखि नै व्यापक रूपमा प्रयोग भएको संवत् प्रतिस्थापन गर्न एक विदेशी संवत् आयात गर्न पुगेका थिए ।
विक्रम संवत् ः केही तथ्य
नेपालमा इस्वी संवत्को समेत पनि नयाँ वर्ष मनाएर शुभकामना आदानप्रदान गरिन्छ भने विक्रम संवत्को नयाँ वर्ष मनाउनु र शुभकामना आदान प्रदान गर्नु मनासिव हो । तर, विक्रम संवत्लाई नेपाली संवत् भनेर प्रचारप्रसार गर्नुचाहिँ सर्वथा गलत हो ।
नेपालमा विक्रम संवत्का केही अनुयायीले निरन्तर रूपमा विक्रम संवत्लाई नेपाली संवत् नै भनेर दाबा गर्दै आइरहेको देखिन्छ । उनीहरूको दाबी कुनै इतिहास र तथ्यमा आधारित नभएर उन्नाइसौँ शताब्दीमा लिखित भाषावंशावलीमा वर्णित केही किंवदन्ती र कहावतमा आधारित छन् । किंवदन्ती र दन्त्यकथाभन्दा वास्तविक इतिहासलाई हामीले मान्नुपर्ने हुन्छ । तर, विक्रम संवत्वादीहरू भने मनगढन्ते तर्कको बलले भए पनि विक्रम संवत् भारतको संवत् हो भन्ने तथ्य र इतिहासलाई नै मेट्न सकिन्छ भन्ने सोचले लागिपरेको देखिन्छ !
सबैभन्दा धेरै विश्वास गरिएको मिथक हो– भारतमा उज्जयिनीका विक्रमादित्य नामका राजाले विक्रम संवत्को आरम्भ गरे । धेरै विद्वान्का अनुसार विक्रमादित्य स्वयम् ऐतिहासिक पात्र होइनन्, बरु उनी एक पौराणिक पात्र थिए । कसैले भने उनलाई ऐतिहासिक व्यक्तित्व मानेर विक्रम संवत्को संस्थापकको रूपमा नै मान्ने गरेका छन् (हेर्नुस राज बली पाण्डे – विक्रमादित्य अफ उज्जयिनी द फाउण्डर अफ द विक्रम एरा १९५१) ।
दिनेशचन्द्र सर्कारले आफ्नो पुस्तक ’इन्डियन इपिग्राफी’ (१९९६ः२५१–५८) मा भनेका छन्, ’यो संवत् राजस्थानको मालवासँग सम्बन्धित थियो र आठौँ शताब्दीमा आइपुगेर मात्र यस संवत्सँग राजा विक्रमादित्यको नाम जोडिन आइपुगेको हो । सुरुमा कृत संवत्का रूपमा परिचित यो संवत् राजस्थानको मालवामा पनि प्रचलित हुन पुग्यो, त्यसैले यसलाई मालवा संवत्का रूपमा पनि चिनिन थाल्यो । पछि त्यसै संवत्लाई ’विक्रमको संवत’ र ’विक्रमादित्य संवत्’ भन्न थालियो । मध्यकालमा आइपुगेर मात्र यो संवत् ’विक्रमादित्यले स्थापना गरेको संवत्’ कहलिन थाल्यो ।
उज्जयिनीका राजा विक्रमादित्यले शकहरूलाई हराएर विक्रम संवत्को स्थापना गरे भनिन्छ । ’द वन्डर द्याट इज इण्डिया’ पुस्तकमा एएल बाशम भन्छन्, ‘चन्द्र गुप्त द्वितीय एक मात्र राजा थिए, जसले विक्रमादित्यको पद्वी लिनुका साथै उज्जयिनीबाट शकहरूलाई भगाउने काम पनि गरेका थिए (बाशम सन् १९७५ः४९५) । तर, उनी त विक्रम संवत्को सुरुवातभन्दा पनि ४०० वर्ष पहिलेका थिए । त्यस्तै, पाण्डुरंग वामन काणेले ’हिस्टोरी अफ धर्मशास्त्र’मा आठौँ शताब्दीभन्दा अघि विक्रम संवत्को उल्लेख कतै पनि पाइँदैन भनेर लेखेका छन (काणे सन् १९९४ः६५३) ।
शाहवंशले ’विक्रम’ लाई आफ्नो उपाधिको रूपमा प्रयोग गर्न थालेको इतिहासबाहेक ऐतिहासिक रूपमा विक्रम संवत् र नेपाल देशको बीचमा कुनै सम्बन्ध छैन । त्यस कारण नेपालमा सरकारी कामकाजमा विक्रम संवत्को प्रयोगलाई उचित मान्न सकिन्न ।
स्थापनाको सुरुमा विक्रम संवत्को वर्ष परिवर्तन कात्तिक महिनामा हुने गर्थ्यो । तर, मध्यकालीन (बाह्रौँदेखि अठाह्रौँ शताब्दी) सम्म आइपुग्दा यो चैत्रादी वा चैत महिनामा अन्त्य हुने गर्दथ्यो । भारतका धेरैजसो ठाउँमा अझै मानिसहरू यसलाई चान्द्र पात्रोको रूपमा प्रयोग गर्छन् । मध्यकालसम्म पनि यो संवत्को कार्तिक शुक्ल प्रतिपदाबाट नयाँ वर्ष सुरु भएको गणना गरिन्थ्यो । आजकल उत्तर भारतमा, विक्रम संवत् नयाँ वर्ष शुक्ल प्रतिपदामा सुरू हुन्छ तर दक्षिण भारतमा कार्तिक शुक्ल प्रतिपदाबाट सात महिनाको फरकमा सुरु हुन्छ ।
भारतको उत्तरमा, यो पूर्णमान्तकको रूपमा गनिन्छ, जबकि दक्षिण भारतमा यसलाई अमान्त मासको रूपमा गणना गरिन्छ । केही राजस्थान र गुजरातीभाषी क्षेत्रहरूमा वर्षको सुरुवात अमान्त आषाढबाट गणना गरिन्छ, जबकि राजस्थानको उदयपुर क्षेत्रमा यो पूर्णमान्तकबाट गणना गरिन्छ । त्यस कारण, दिनेशचन्द्र सर्कार (सन् १९९६ः२८८) भन्नुहुन्छ, ’कुन बेला वर्षको सुरु हुने भन्ने आधारमा विक्रम संवत्लाई भारतमा कतै कार्तिकादी, कतै चैत्रादी, कतै आषाढी र कतै श्रावणादी भनेर चिनिन्छ । नेपालमा भने यसलाई सौर्यपात्रोको रूपमा प्रशासनिक काममा प्रयोग गर्न थाले । नेपालमा प्रत्येक वर्ष १३ वा १४ अप्रिलका दिन विक्रम संवत्को नयाँ वर्ष मनाउने गरिन्छ ।’
नयनाथ पौड्यालद्वारा सम्पादित भाषावंशावलीमा वर्णित कथाहरूमा उज्जयिनीको विक्रमादित्यलाई नेपालसँग उनले गरेका रहस्यमय कार्यहरूका लागि जोडेको पाइन्छ (सन् १९६३ः५८–७५) । डेनियल राइटले आफूले सम्पादन गरेको नेपालको इतिहास पुस्तकमा अंशु बर्माको शासनकालमा हिन्दुस्तानका एक शक्तिशाली राजा विक्रमजित आफूले स्थापना गरेको नयाँ संवत्को प्रचार गर्न नेपाल आएका थिए । नेपाल आएपछि उनले आफ्नो बाँकी जीवन नेपालमै बिताएका थिए भनेर लेखेका छन् (राइट सन् १९६३ः१३१–३२) ।
प्रयागराज शर्माजस्ता अन्वेषकहरूले साँखुको वज्रयोगिनी मन्दिरमा राखिएको काँसको बुद्धको टाउको भनेर निर्क्योल गरेका छन् (‘ए नोट अन सक ब्रोन्जस एट वज्रयोगिनी’ त्रिभुवन युनिभर्सिटी जर्नल सन् १९७०ः३) । तर, त्यही बुद्धको टाउकोलाई विक्रम संवत्का हिमायतीहरू भने विक्रम संवत्को प्रवर्तक विक्रमादित्यकै शिर हो भनेर दाबी गर्ने गर्छन् । यद्यपि प्राचीन नेपालमा विक्रम संवत्को प्रयोग कतै नपाउने हुनाले यस्ता कुरालाई पुष्टि गर्ने कुनै आधार पाइँदैन ।
नेपालको सबैभन्दा पुरानो लिखित इतिहास गोपालराज वंशावलीमा विक्रम संवत् कतै उल्लेख छैन । तर, नेपाल संवत्को भने उल्लेख भएको हामी पाउँछौँ । मल्लकालीन समयमा उपत्यकामा सबभन्दा पहिले विक्रम संवत् उल्लेख गरिएको अभिलेख भेटिएको भनेको पाटनको सुन्धारामा रहेको १४६१ विक्रम संवत् उल्लेखित अभिलेख हो । यस अभिलेखमा विक्रम संवत् १४६१ उल्लेख छ, त्यससँगै कलिगत संवत् ४५०५, शक संवत १३२६ र नेपाल संवत् ४२४ पनि उल्लेख छ ।
वास्तवमा सन् १९०३ मा मात्र तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले सरकारी तवरमा नेपालमा विक्रम संवत्लाई चलाउन थालेका हुन् । चन्द्रमासमा आधारित शक संवत्को पात्रोका आधारमा सरकारी कर्मचारीलाई तलब दिँदा प्रत्येक तीन वर्षको अन्तरालमा तेह्रौँ महिनाको तलब भुक्तानी दिनुपर्ने आर्थिक भारबाट बच्न धूर्त प्रधानमन्त्री चन्द्र शमशेरले सौर्यमासमा आधारित विक्रम संवत्को पात्रोलाई अंगीकार गरे भन्ने कुरा इतिहासकार भुवनलाल प्रधानले लेखेका छन् (‘नेपाल संवतको ऐतिहासिक प्रमाण’ नेवाः विज्ञान २०००ः६) ।
सन् १९१३ मा प्रकाशित जगन्नाथ सेढाईं र वैजनाथ सेढाईंहरूले चन्द्र शमशेरलाई खुसी पार्न लेखेको चन्द्र मयुख शीर्षकको छन्दवद्ध स्तुति काव्य पुस्तकमा (पेज ८४) विक्रम संवत् अंगीकार गर्दा राज्यलाई कसरी फाइदा पुग्छ र कसरी चन्द्रमासको ’तिथिलाई मितिमा’ ल्याउनाले देशलाई चान्द्रमासको तिथिमा निहित आधाआधा महिनाको शुक्लपक्ष र कृष्णपक्षले पार्ने अन्योलबाट मुक्त गर्छ भन्ने बयान गरेका छन् । यद्यपि नेपाली जनताले आफ्ना धार्मिक चाडपर्व, जात्रा, व्रत, तीर्थ, स्नानलगायत जन्मदिन, शुभमुहूर्त निर्धारणदेखि मृत्यु संस्कारसम्मका सबैखाले महत्त्वपूर्ण धार्मिक गतिविधि चन्द्र पात्रोका आधारमा गर्ने भएकाले सौर्यमासमा आधारित विक्रम संवत्को खासै सांस्कृतिक महत्त्व नेपालमा छैन ।
धेरै मानिस भक्तपुरको विश्वजात्रा अर्थात् बिस्का जात्रालाई विक्रम संवत्को नयाँ वर्षसँग जोडेर हेर्न मन पराउँछन्, किनभने यो चाड़ वैशाख महिनाको पहिलो दिन (संक्रान्ति वा सँल्हु)को वरिपरि मनाइन्छ । विक्रम संवत् प्रचलनमा आउनुभन्दा शताब्दीयौँअगाडिदेखि नै सँल्हु अर्थात् संक्रान्ति पर्वहरू मनाउने प्रचलन नेपालको नेवाः जनसमुदायमा थियो । ती पर्वहरू विक्रम संवत्अनुसार मनाउने नभई नेपाल संवत्अनुसार नै मनाउँदै आएको कुरा उपत्यकामा पाइने थुप्रै शिलालेखबाट सजिलै बुझ्न सकिन्छ । शिलालेखअनुसार उपत्यकामा नेपाल संवत्का साथै अनेक संक्रान्ति पर्व मनाउने कुरा मात्र उल्लेख गरिएको पाइन्छ ।
इतिहासविद् श्यामसुन्दर राजवंशीका अनुसार नेपाल संवत् चन्द्रमास र सौर्यमास दुवै हिसाबले चल्ने संवत् हो तर पछि आएर चन्द्रमासअनुसारका तिथिका लागि मात्र प्रयोग गर्ने गरेकाले संक्रान्ति पर्वहरू विक्रम संवत्अनुसार मनाउने पर्वहरू हुन् भन्ने भ्रम मानिसहरूमा पर्न गएको हो (’नेपाल संवत्यात धात्थें छ्यलेगु खःसा’ झीगु स्वनिगः २०१२ः३९) ।
वास्तवमा, बिस्का जात्राका बेग्लै इतिहास र मिथक छन्, जसको विक्रम संवत्को नयाँ वर्षको उत्सवसँग कुनै सरोकार छैन । विक्रम संवत् २०४० को दशकसम्म पनि सामान्य मानिसहरूलाई र विशेषतः नेपाल खाल्डोका मूलवासी नेवारहरूका लागि वैशाख महिनाको पहिलो दिनको नयाँ वर्ष खासै महत्त्वको दिन थिएन । मेष संक्रान्ति पनि भनिने यस दिनलाई उनीहरू ’खाइ सँल्हु’ भनेर भने जरुर जान्दथे । यद्यपि विक्रम संवत्को नयाँ वर्ष सरकारी तवरमै मनाइने भएको र रेडियो, टेलिभिजनजस्ता राष्ट्रिय सञ्चारमाध्यमबाट समेत जोडतोडले प्रचारप्रसार गरिनाले हाल आएर देशविदेशमा रहने नेपालीले विक्रम संवत्को नयाँ वर्ष मनाउन थालेका छन् ।
नेपाली जनताले आफ्नो पुरातन राजा र राजतन्त्रलाई समेत फ्याँकिसकेको अवस्थामा पनि ऐतिहासिक तथ्यको अभाव रहेको एक काल्पनिक सम्राटको नाममा रहेको पात्रो प्रयोग गरिरहनु कुनै अर्थमा सुहाउने कुरा होइन ।
भारतमा केन्द्र सरकारले १९५७ सन्देखि ग्रिगोरियन पात्रोसँगसँगै शक संवत्लाई पनि राष्ट्रिय संवत्को रूपमा अपनाएको छ । भारतको पात्रो सुधार समितिले राष्ट्रिय पात्रोलाई एकरूपता दिन यो सिफारिस पेस गर्नुभन्दा पहिले भारतमा विविध धर्म, संस्कृति र राष्ट्रियताका मानिस ३० भन्दा बढी संवत्का पात्रोको अभ्यास गर्थे । सन् १९५७ देखि भारतले शक संवत्अनुसार १ चैतलाई (२२ मार्च) नयाँ सालको दिनका रूपमा मनाउँदै आइरहेको छ र यस दिनलाई राष्ट्रिय बिदाको रूपमा मनाउँछ । तर, विभिन्न प्रान्तमा क्षेत्रीय नयाँ वर्ष उत्सव आ–आफ्नै परम्पराअनुसार मनाइन्छन् ।
भारत सरकारको गजेटको प्रकाशन र सरकारको दैनिक लिखोट र पत्राचार तथा अखबारहरूमा पनि भारतमा ग्रेगोरियन तारिखका अलावा राष्ट्रिय पात्रो शक संवत्को तिथिमिति समावेश गर्ने गरेका छन् । त्यस्तैगरी, विभिन्न भारतीय भाषामा प्रसारण हुने अल इन्डिया रेडियोका बिहान सबेरैको कार्यक्रममा राष्ट्रिय पात्रो तिथि र मितिहरू घोषणा गरिन्छ (अमलेन्दु बन्ध्योपाध्याय ‘राष्ट्रिय पात्रोलाई कसरी लोकप्रिय बनाउने’, द स्टेसमायन १९८१ मार्च २९) ।
विक्रम संवत्को सीमा
इतिहासकार बाबुराम आचार्यले विक्रम शब्दको सार्थकता नभएको कुरा यसरी व्यक्त गरेका छन्
हाम्रा राष्ट्रिय संवत्मा विशेषण गराएर जोडिएको ‘विक्रम’ शब्द सार्थक देखिन्न । यो संवत् उज्जयिनीका राजा विक्रमादित्यले चलाएका हुन् भन्ने दन्त्यकथा १२०० वर्षपहिलेदेखि भारतमा चल्दै आएको छ र यस देशमा पनि त्यो दन्त्यकथा आइपुगेको छ । तर, जुन समय (इसापूर्व ५८ वर्ष) मा यो संवत् उठान भएको थियो, उस समयमा अवन्ति देशको राजधानी उज्जयिनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन ।
वास्तवमा यस संवत्को उठान राजपुतानामा आवाद भएका मालवगणले गरेका हुन् भन्ने कुरा त्यहाँ पाइएका शिलालेखहरूबाट प्रमाणित भइसकेको छ ।‘ इसापूर्व पहिलो शताब्दीका विक्रमादित्य ऐतिहासिक राजा देखिन्नन् । (श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पहिलो भाग, २०२४ः३–४)
वास्तवमा नेपालमा सौरमासमा आधारित विक्रम पात्रोको प्रयोगको आफ्नै सीमा छ । यद्यपि यहाँ विक्रम संवत्को सुरुवात भए पनि चन्द्रमासमा आधारित नेपाल संवत् पात्रोको प्रचलन भने कायमै छ । किनभने यो नेपाली संस्कृतिको अभिन्न हिस्साको रूपमा रहँदै आएको छ, विशेष गरी काठमाडौं उपत्यकामा ।
ज्योतिषीहरू जन्मकुण्डली लेख्नदेखि नेपालका सबै धार्मिक उत्सव र सांस्कृतिक रीतिथिति चलाउने काम चन्द्रमासमा आधारित तिथिअनुसार नै निर्धारण गर्ने गर्छन् । सौर्यमासमा आधारित विक्रम संवत् पात्रो प्रकाशित गर्ने नेपालका ज्योतिषहरूको आधिकारिक निकाय पहिले नेपाल राजकीय पञ्चाङ्ग निर्णायक समिति थियो । तर, हाल नेपाल पञ्चाङ्ग निर्णायक समितिले आफ्नो प्रकाशनको सुरुदेखि नै नेपाल संवत्लाई– नेपाल संवत्, नेपालदेशीय संवत् वा शंखधरकृत नेपालीय संवत् आदि भनेर लेख्दै आएको छ ।
नेपाल सरकारले कूटनीतिक क्षेत्र, विदेशी नियोगसँगको कारोबार भनौँ वा सन्धि सम्झौता आदि सबैमा इस्वी संवत्लाई नै आधिकारिक रूपमा प्रयोग गर्दै आइरहेको छ । वास्तवमा राणाकालदेखि नै नेपाल सरकारले इस्वी संवत्रु चलाउँदै आएको देखिन्छ । विशेष गरी सन् १९५० को राजनीतिक परिवर्तनपछि यसको प्रचलन बढदै गयो । सरकारीसँगै गैर–सरकारी संगठन र निजीक्षेत्रले पनि इस्वी सन्को सामान्य रूपमा प्रयोग गर्दछन्, विशेषगरी आफ्ना अन्तर्राष्ट्रिय समकक्षीसँगको कारोबारमा ।
सौर्यमासमा आधारित इस्वी संवत्रु आजको विश्वमा सर्वत्र प्रचलनमा रहेका कारण यसको स्वीकार्यता विश्वव्यापी भइसकेको छ । अमेरिकी र युरोपियन देशमा मात्र होइन, अधिकांश एसियाली देश जस्तै; भारत, चीन, जापान, कोरिया, श्रीलंकामा सरकारी कामकाजमा तथा सर्वसाधारण मानिसहरूले पनि लामो समयदेखि इस्वी सन् नै प्रयोग गर्दै आएको देखिन्छ । यसै कारण नेपालका धेरै मानिसहरू सरकारको दैनिक प्रशासनका काममा विक्रम संवत्लाई हटाएर ग्रेगोरी पात्रोलाई प्रयोगमा ल्याउनुपर्छ भन्ने मान्यता राख्ने गर्छन् ।
एकताका नेपाल सरकारले यस दिशामा केही कदम चालेको भन्ने समाचार आएको थियो । नेपाल संवत्को आन्दोलनमा संलग्न मानिसहरूले भने त्यस्तो कदमको घोर विरोध गरेका थिए । सरकारलाई विक्रम संवत्को पात्रोलाई विस्थापन गरेर नेपाल संवत्को पात्रो चलाउनुपर्छ भन्ने उनीहरूको माग छ ।
विक्रम संवत् भारतमा जहाँ यो सुरु भएको थियो, आधिकारिक उद्देश्यका लागि त्यहाँ पनि कहिल्यै प्रयोगमा ल्याएको देखिँदैन । त्यस कारण हाम्रो आफ्नै देशको नाममा पात्रो रहेको देशमा विदेशबाट आयातित र कुनै आधिकारिक इतिहास नभएको पात्रोलाई सरकारीस्तरमा चलाइराख्नु भनेको सार्वभौम देश नेपालकै अपमान हो ।
अन्तर्राष्ट्रिय रूपमा चलेको इस्वी संवत्लाई कसैले चलाऊ वा नचलाऊ भन्नै पर्दैन, सबैले चलाइनै रहेको हालको अवस्था छ । त्यस कारण प्रा. त्रिरत्न मानन्धरजस्ता इतिहासकारहरू विक्रम संवत्लाई प्रतिस्थापन गरेर सरकारले ग्रेगोरी पात्रोलाई आधिकारिक नेपालको संवत्को रूपमा मान्यता दिनु महाभुल हुने हुनाले बरु नेपाल संवत्लाई नै आधिकारिक मान्यता दिनुपर्ने धारणा राख्छन् ।
राष्ट्रिय संवत्को रूपमा घोषणा भइसकेको नेपाल संवत्लाई चाहिएमा आवश्यक सुधार गरेर भए पनि नेपाल सरकारले आधिकारिक संवत्को रूपमा प्रयोगमा ल्याउनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ’यो सबै अभ्यासको विषय हो, एक पटक सरकारले यसको प्रयोग गर्न थाल्यो भने मान्छेहरूमा आदत लाग्नेछ र प्रयोग गर्न सजिलो मान्दै जानेछन् (‘नेपालमा क्रिश्चियन संवत्’; कान्तिपुर २००८ डिसेम्बर २)।’
निष्कर्ष
विक्रम संवत्को कुरा गर्दा किंवदन्ती र दन्त्यकथाभन्दा वास्तविक इतिहासलाई हामीले मान्नुपर्ने हुन्छ । विक्रम संवत्को वास्तविक इतिहास १२०० वर्षभन्दा पुरानो छैन भन्ने कुरा सबै इतिहासकारले मानेका छन् । प्रमाण र आधारबिना मनगढन्ते इतिहास लेख्ने नेपालका केही इतिहासकारको कुरा भने बेग्लै भयो । उनीहरू विक्रम संवत्को महिमा गानमा जे–जस्ता उत्पट्याङ कुरा लेख्न र बोल्न पछि पर्दैनन् । मूल कुरो विक्रमादित्य राजाको नै कुनै प्रामाणिक इतिहास छैन । संवत् ८९८ (सन् ८४२) मा आएर मात्र विक्रमादित्यको नाम शिलालेखमा फेला परेको देखिन्छ । विक्रमादित्य नामका राजाहरू हिन्दुस्तानको इतिहासमा तीन÷चार जना नै छन् । विक्रम संवत् कुनचाहिँ विक्रमादित्य राजाको नामसँग जोडिएको हो, कसैलाई अत्तोपत्तो छैन ।
विक्रम संवत्लाई नेपालको आधिकारिक पात्रोका रूपमा प्रयोग गर्नुको पछाडि कुनै तर्क छैन । किनभने हामीसँग नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापसँग सम्बन्धित नेपाल देशकै नाम रहेको र ११४१ वर्ष लामो इतिहास बोकेको आफ्नै मौलिक नेपाल संवत्को पात्रो छ । शाहवंशले ’विक्रम’ लाई आफ्नो उपाधिको रूपमा प्रयोग गर्न थालेको इतिहासबाहेक ऐतिहासिक रूपमा विक्रम संवत् र नेपाल देशको बीचमा कुनै सम्बन्ध छैन । त्यस कारण नेपालमा सरकारी कामकाजमा विक्रम संवत्को प्रयोगलाई उचित मान्न सकिन्न ।
चान्द्र पात्रो दैनिक प्रशासनिक काममा प्रयोग गर्दा व्यावहारिक समस्या आउन्न त भन्ने तर्क पनि छन् । तर, देशको रीतिरिवाज, चाडपर्व, जात्रा आदिका निम्ति यस प्रकारको पात्रो भारत, चीन र सबै इस्लामिक देश र युरोपसहित विश्वभरि नै प्रचलनमा छन् । इतिहासकार श्यामसुन्दर राजवंशीको खोजले के कुरा स्पष्ट पारेको छ भने नेपाल सरकारले नेपाल संवत्लाई यदि सौर्यपात्रोकै रूपमा प्रयोग गर्न चाह्यो भने पनि त्यहाँ कुनै समस्या छैन । नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गर्नुको सार्थकता तब मात्र मात्र हुनेछ, जब सरकारले यसलाई व्यवहारमा प्रयोग गर्नेछ ।
परम्परागत पञ्चाङ्ग पात्रोहरूबाहेक दुई सरकारी दैनिकहरूः गोरखापत्र र द राइजिङ नेपालले नेपाल संवत्को महिना र दिनांकसमेत छाप्न थालेको थुप्रै वर्ष भइसकेको छ । त्यस्तै, नागरिक, द रिपब्लिका, कान्तिपुर र अन्नपूर्ण पोस्ट, नयाँ पत्रिका दैनिकजस्ता धेरै निजी अखबारले विक्रम र इस्वी सन्सँगै नेपाल संवत् पनि उल्लेख गर्दै आएका छन् । अन्य समाचारपत्र र इलेक्ट्रोनिक मिडियाले पनि उनीहरूको अनुसरण गर्न सक्छन् ।
विक्रम संवत् भारतमा जहाँ यो सुरु भएको थियो, आधिकारिक उद्देश्यका लागि त्यहाँ पनि कहिल्यै प्रयोगमा ल्याएको देखिँदैन । त्यस कारण हाम्रो आफ्नै देशको नाममा पात्रो रहेको देशमा विदेशबाट आयातित र कुनै आधिकारिक इतिहास नभएको पात्रोलाई सरकारीस्तरमा चलाइराख्नु भनेको सार्वभौम देश नेपालकै अपमान हो । नेपाली जनताले आफ्नो पुरातन राजा र राजतन्त्रलाई समेत फ्याँकिसकेको अवस्थामा पनि ऐतिहासिक तथ्यको अभाव रहेको एक काल्पनिक सम्राटको नाममा रहेको पात्रो प्रयोग गरिरहनु कुनै अर्थमा सुहाउने कुरा होइन ।
नेपालमा विक्रम संवत्को प्रयोगलाई वास्तवमा नेपाली जनताको आफ्नै देशको संस्कृति र परम्पराको दमनको प्रतीकको रूपमा पनि लिइन्छ । नेपालको छुट्टै राष्ट्रिय पहिचानको दृष्टिकोणबाट पनि नेपाल सरकारले आफ्ना सबै राष्ट्रिय गतिविधिमा नेपाल संवत्को प्रयोग गर्ने र विदेशसँग औपचारिक कारोबारमा इस्वी संवत्का साथसाथै यसलाई अनिवार्य नेपाल संवत्को प्रयोग गर्नु महत्त्वपूर्ण हुनेछ । नेपाल संवत्का साथसाथै इस्वी संवत् पनि प्रयोग गर्दा तिथिमितिको टुटफुटको कुनै गुञ्जायस रहने देखिँदैन । यसका साथै नेपाल संवत्को प्रयोगले अन्तर्राष्ट्रिय समुदायमा सार्वभौम नेपाल र नेपाली जनताको गौरव बढाउन पनि मद्दत पु¥याउनेछ ।
(नेदरल्याण्ड्सको लाइदन विश्वविद्यालयबाट मावनशास्त्रमा विद्यावारिधि गरेका लेखक बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग आवद्ध अनुसन्धानकर्ता हुन् । उनी हाल लाइदन विश्वविद्यालयमा “दक्षिण तथा दक्षिण–पूर्व एसियाका सरकार र राजनीति”बारे अध्यापनरत छन् ।)

0 Comments
Thanks for your concerns