दन्त्यकथा



– जीवन श्रेष्ठ, साँखु ईपाटोल

जिन्दगीको अर्थलाई

समय र ठाउँ अनुसार फरक पार्न सक्छ

एक बिहान उक्लिँदै

एक बिहान ओर्लिँदै

कसैको हातमा प्लाष्टिकका जर्किन

कसैको कम्मरमा सिलावरको गाग्री

कसैको डोकोमा कसौदी राखेर

पानी लिनका लागि पँधेरा जानेहरु भन्ने गर्दछन्

एक अर्कालाई हेर्दै कुरा गर्ने गर्दछन्

राजधानी,

राजधानी मात्र रहेछ

हामीले जति

हामीले जस्तो

पानी खान पाउँदैन रहेछ

धाराबाट पानी आएको हेर्न समेत नपाउँदा रहेछन्

र राजधानीबासीहरुका लागि

विदेशबाट

नेताबाट

र डलरको खेति गर्नेहरुबाट

मेलाम्चीबाट पानी ल्याउने कुरा भनिदिएको छ

एउटा दन्त्यकथा जस्तो

जसले, जत्तिखेर जसरी मनलाग्यो

उसैगरि भनिदिए हुने !

राजधानी छिर्नका लागि

गैरीखेत बेच्नेहरु

आफ्ना प्यावा वस्तुभाउ बेच्नेहरु

राजधानी छिर्नुभन्दा अगाडि बुझ

एक अञ्जुली पानीका लागि

घण्टौँ लाइनमा बस्न सिकेर आउनु

घरबेटीको धारामा साताको कुन दिन

पानी आउने बुझेर मात्र बस्नु

होइन भने पँधेरामा झैँ यहाँ

पानी देख्न पाउने छैनौ

अलिकता पानीका लागि

सिलबन्दी बोतल किन्नु पर्ने हुन्छ

त्यसैले आउँदा

बसभाडा

खाना खर्च

डेराभाडाका साथ

पानी किन्नका लागि खल्तीमा

पैसा भरिभराऊ गरेर आउनु ! !

मेलाम्चीलाई दन्त्यकथामा बुनेर

हर्केले भनेछ

माइलीले भनिछिन्

मेलाम्चीको बैठक तारे होटलमा बस्छ

पानीको महसुल बढाउँदै

हाकिमहरु चिल्ला गाडीहरुमा

रेशम फिरिरीको गीत बजाउँदै हुँइकिन्छन्

सालिन्दा मेलाम्चीको समय बढाउँदै

यत्तिखेर गाउँको पँधेरामा

मेलाम्चीको दन्त्यकथा

हरेक दिन

हरेक व्यक्तिले

आ–आफ्नै तरिकाले भनिरहेका पाउनेछौ ! ! !


Post a Comment

0 Comments